प्रस, सेढवा, १४ माघ/
पर्सा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारीरूपमा लागू हुन सकेको छैन । नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम पर्सा जिल्लाका चौधवटै पालिकामा प्रभावकारी देखिएको छैन ।
प्रत्येक पालिकामा एकजना बीमा अभिकर्ता परिचालन गरेर विगत पाँच वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएपनि अहिलेसम्म बीमा गराउनेहरूको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि हुन सकेको छैन । जीराभवानी गाउँपालिका–४ मा स्वास्थ्य बीमा अभिकर्ता तपसीराम चमारले कात्तिकदेखि पुससम्म तीन महीनामा दशजनाले मात्र स्वास्थ्य बीमा गराएको बताए । सरकारले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई स्वास्थ्य बीमा निश्शुल्क गरेको छ । तर जीराभवानीमा पचासजना ज्येष्ठ नागरिकले मात्र निश्शुल्क स्वास्थ्य बीमा गराएका छन् ।
बीमा गराउनेहरूले पनि स्वास्थ्य संस्थाबाट आशाप्रदरूपमा औषधिमूलो नपाएको गुनासो गरेका छन् । गाउँबाट नारायणी अस्पताल, वीरगंज आएर उपचार गराउनेहरूले चिकित्सकले लेखे अनुसारको औषधि नपाउने गरेको गुनासो गरे । उनीहरूले स्वास्थ्य बीमा गराएकाहरूलाई अस्पतालले दिने सेवा, सुविधा पनि सहज नभएको बताए । अस्पतालका फार्मेसीमा चिकित्सकले लेखेको औषधि नहुने गरेको र निजी पसलबाट औषधि खरीद गर्नुपरेको उनीहरूको भनाइ छ ।
ठोरी गापा–५ का वडाध्यक्ष तथा ज्येष्ठ नागरिक रामबहादुर पाख्रिनले जिल्लाकै अस्पतालमा उपचार गराउन सिफारिश भएकोले बीमा नगराएको बताए । उनले जिल्लाका अस्पतालमा उपचार सम्भव नहुने ज्येष्ठ नागरिकहरूले अन्यत्र उपचार गराउँदा बीमा निष्क्रिय हुने हुँदा स्वास्थ्य बीमा नगराएको बताए । उनले ज्येष्ठ नागरिकको हकमा जिल्लाबाहिरका अस्पतालमा पनि उपचार गर्न सक्ने वातावरण बनाउनुपर्ने बताए । सबैखाले उपचार वीरगंजमा सम्भव नभएको र ज्येष्ठ नागरिकहरूलाई चितवन, काठमाडौंमा उपचार गराउनुपर्दा बीमा काम नलाग्ने हुनाले स्वास्थ्य बीमा नगराएको बताए । उनले अस्पतालमा पुग्ने बिरामीहरूको हकमा पनि सेवा प्रभावकारी नभएको र निजी क्लिनिक, निजी औषधालयमा उपचार गराउन बाध्य पार्ने गरिएको आरोप लगाए ।
जगरनाथपुर गापा–३ गढैयाका शिक्षक मोहनलाल साहले पनि स्वास्थ्य बीमाबाट आशाप्रद फाइदा नभएकोले यो बीमा गराउन मानिसहरूमा अभिरुचि नबढेको बताए ।
उनले परिवारका पाँचजनालाई स्वास्थ्य बीमाले समेटेको र सोअनुरूप आफूले वार्षिक रु तीन हजार६०० दिएर स्वास्थ्य बीमा गराएको तर त्यसबाट खासै लाभ नभएको बताए । उनले एकपटक मात्र अस्पतालमा पूर्ण स्वास्थ्य परीक्षण गराएको र सोबाहेक सेवा लिन नसकेको बताए । स्वास्थ्य परीक्षण गर्दा पनि चिकित्सकले लेखेको औषधि अस्पतालको फार्मेसीमा नहुने गरेको उनको गुनासो थियो ।
स्वास्थ्य बीमा बोर्ड, पर्साका प्रमुख हरिश पन्तले पर्सामा स्वास्थ्य बीमा लागू भएयता ज्येष्ठ नागरिकसहित ४८ हजार व्यक्तिको स्वास्थ्य बीमा भएको बताए । उनले बीमितहरूले नारायणी अस्पताल, वीरगंज शिक्षण अस्पताल, भिखमपुर हेल्थ सेन्टर, बागेश्वरी तित्रौना हेल्थ सेन्टर, बगही हेल्थ सेन्टरबाट स्वास्थ्य सेवा लिन सक्ने बताए ।
यसका साथै आँखारोगीहरूले दृष्टि र रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालमा उपचार गराउन सक्ने जानकारी गराए ।
प्रमुख पन्तले बीमितहरूले अस्पतालबाट औषधि नपाइरहेको स्वीकार गरे । अस्पतालमा औषधि नहुँदा बीमितहरूले निजी औषधिपसलबाट खरीद गर्दै आएको उनले बताए । उनले यसका लागि सरकारले केन्द्रस्तरबाट पहल गर्नुपर्ने बताए ।