नयाँ दिल्ली, १३ माघ/एएनआई
भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि भएको छ । बिहीवार बिहान सार्वजनिक गरिएको विवरण अनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसै समयमा भारतमा कोरोना सङ्क्रमणबाट ५७३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना शुरू भएदेखि हालसम्म ४ लाख ९१ हजार ७०० व्यक्तिको मृत्यु भएको छ । भारतमा अहिले सक्रिय सङ््क्रमितको सङ्ख्या २२ लाख २ हजार ४७२ रहेको छ ।
कुल सङ्क्रमितमध्ये ९३.२३ प्रतिशत अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेका छन् । तीमध्ये तीन लाख ६ हजार ३५७ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् । कोरोना शुरू भएदेखि हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन करोड ७६ लाख ७७ हजार ३२८ पुगेको छ ।
दक्षिण कोरियामा सङ्क्रमित बढ्यो
सोल/सिन्हवा
दक्षिण कोरियामा कोरोना भाइरसको महामारी शुरू भए यताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस सङ्क्रमित देखिएका बताइएको छ । द. कोरियाका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार अहिले एकै दिनमा १४ हजारभन्दा बढी सङ्क्रमित देखिएका छन् । यो सङ्क्रमण सङ्ख्या यहाँ कोरोना भाइरसको महामारी शुरू भए यताकै सबैभन्दा धेरै हो ।
यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार गएको २४ घण्टामा १४ हजार ५७१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै देखिएको बताइएको छ ।
उनीहरूका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा यी सङ्क्रमितसहित कुल सङ्ख्या ७ लाख ७७ हजारभन्दा बढी पुगेको छ । कोरियाली रोग नियन्त्रण केन्द्रले बिहीवार सार्वजनिक गरेको विवरण अनुसार दक्षिण कोरियामा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट धेरै मात्रामा फैलिएको छ ।
यहाँ पछिल्ला दिनहरूमा ओमिक्रोन भेरिएन्ट फैलिनुका साथै अस्पताल भर्ना हुनेहरूको सङ्ख्या पनि बढेको कोरियाली रोग नियन्त्रण केन्द्रले जानकारी दिएको छ । यहाँ सबैभन्दा बढी सङ्क्रमित राजधानी सोलमा देखिएका छन् । बाहिरबाट आएका नागरिकमा पनि सङ्क्रमण देखिने गरेको बताइएको छ ।
यहाँ गएको २४ घण्टामा ३४ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ज्यान जाने व्यक्तिको सङ्ख्या ६ हजार ६५४ पुगेको पनि बताइएको छ । रासस