प्रस, परवानीपुर, ९ माघ/
वीरगंज महानगरले कोभिड महामारीले थलिएका वीरगंजका होटलहरूलाई चालू आव २०७८–७९ मा सम्पत्ति करमा ५० प्रतिशत छुट दिने आश्वासन दिएको छ ।
महानगरका मेयर विजय सरावगीले होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगंजका पदाधिकारीहरूलाई सम्पत्ति करमा ५० प्रतिशत छुट दिने घोषणा गरेका हुन् । छुटको लागि ज्ञापनपत्र बुझाउन गएका सङ्घका पदाधिकारीहरूसङ्ग कुरा गर्दै उनले कोरोना महामारीको कारण तीन वर्षदेखि धराशायी बनेको होटल व्यवसायीलाई सरकारबाट सुविधा दिने नीति नआए स्थानीय सरकारले वीरगंजको होटल व्यवसायलाई मदत पुग्ने गरी चालू आवमा ५० प्रतिशत छुट दिलाउने पहल गर्ने दाबी गरे ।
वीरगंज महानगरपालिकाको पछिल्लो नगर परिषद्बाट होटल तथा पर्यटन क्षेत्रका लागि कुनै पनि योजना नल्याउँदा व्यवसायीहरू निराश बनेका थिए । तर अब बोर्डबाट पास गराई उक्त सुविधा दिलाउने उनको लक्ष्य छ । सङ्घका अध्यक्ष हरि पन्तको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीलाई उनले निराश नबन्न आश्वासन दिदै चालू आवमैं सम्पत्ति करमा ५० प्रतिशत छुट दिने उद्घोष गरे ।
वीरगंजमा चार तारे स्तरको होलट लडर््स दियालो, तीन तारे होटल भिस्वासहितको होटल मकालु, पूजन, कन्ट्रीइन, क्लासिक, सम्झना, कुमु प्यालेस,हीरा प्लाजा, एभेरेस्ट, सगुनलगायत साना–ठूला गरी ७० वटा होटल सञ्चालनमा छन् । तर कोरोना महामारीको कारण भारतीय पर्यटक नआउँदा यस क्षेत्रको होटल व्यवसाय तीन वर्षदेखि नराम्ररी प्रभावित भएको छ ।
व्यवसायीलाई होटलको घरभाडा, कर्मचारीको पारिश्रमिक तथा बैंकको ब्याजसमेत तिर्न धौधौ परेको छ । अहिले फेरि कोरोनाको तेस्रो लहर प्रारम्भ भएपछि वीरगंजका होलटमा पर्यटक तथा आगन्तुकहरूको आगमन घटेर होटल व्यवसाय घाटामा जान थालेको छ ।