अहिले देशमा प्रायःजसो दिन जाली नोट समातिएको खबर आउन थालेको छ । यद्यपि यो जाली नोट त्यस गुणस्तरको छैन कि सजिलै पत्ता लगाउन नसकियोस् । र थोरै परिमाणमा मात्र समातिने गरेको खबरले यसले हाम्रो अर्थतन्त्रमा नराम्रो प्रभाव पार्ने त्यतिसारो आशङ्का छैन । केही अति उत्साही अपराधकर्मीहरूले प्रयोगको रूपमा मात्र यस्ता नोट चलाउन खोजेको
बुझिन्छ । यसपछाडि अहिलेसम्म कुनै सङ्गठित गिरोहको हात देखिएको छैन । फेरि नेपाली नोटको विनिमय दर र प्रसारको मात्रा पनि थोरै भएकोले नक्कली नोट बनाउनेलाई ठूलो नाफा हुन्छ भन्ने पनि छैन । तर पनि सतर्कता आवश्यक छ । एकजनाले गरेको कामले पछि व्यापकता पाउँछ । काम राम्रो होस् वा नराम्रो, मानिस अनुकरण गर्न सिपालु हुन्छ । भूमिगत गिरोहको चकचकी चलेको बेला, राजनीतिक उद्देश्यबाहेकका अपराधी गिरोहले पनि सिको गरेको भर्खरकै कुरा हो । भूमिगत राजनीति गर्नेहरूले, देश सङ्क्रमणको अवस्थामा रहेको बेला, जब कानून निष्क्रियप्रायः थियो, आफ्नो गतिविधि सञ्चालन गर्न जनसाधारणसम्मबाट बल प्रयोग गरी चन्दा उठाउन थाले र भयभीत नागरिकले माग अनुसार पैसा दिन थाल्यो । सजिलो कमाइको यो शैली देखेर धेरै आपराधिक समूह राजनीतिक खोल ओढेर चन्दाको धन्दा चलाउन पल्केका थिए ।
कानून कमजोर भयो वा कार्यान्वयनको पक्ष फितलो भयो भने यस्ता समूह स्वतः जुर्मुराउन थाल्छन् । जसको पैसा मात्र कमाउने नियत हुन्छ, उनीहरूलाई काम गर्न सजिलो हुनुपर्छ, हत्या गरेर पनि पैसा कमाउन पछि पर्दैनन् । त्यसताक एउटा महŒवाकाङ्क्षी विद्यार्थीलाई मोटरसाइकल दिने लोभ देखाएर, कसैको हत्या गराइन्थ्यो । हत्या गर्नेलाई थाहा थियो, उसलाई आदेश दिने व्यक्ति वा समूह कानूनभन्दा बलियो छ । यसर्थ देशमा हुने कुनै पनि प्रकारको अपराध वा अनियमितताको प्राथमिक कारण कानून क्रियान्वयनमा शिथिलता मात्र
हो। अहिले देशको अर्थतन्त्रमा प्रभाव नपर्ने भनी केही थान भए पनि देखापरेका जाली नोटबारे सतर्क नहुने हो भने भोलि त्यसले संस्थागत रूप लिन बेर लाउने छैन । कुनै दुष्कर्मले संस्थागत रूप लियो भने त्यसलाई तह लाउन गा¥हो मात्र होइन, कहिलेकाहीं त असम्भव नै हुन्छ । यसै पनि देशमा तस्करी, भ्रष्टाचारको बाढी नै आएको छ । कानून पालना गराउने निकाय भ्रष्टाचारमा लहसिने भयो भने कस्तै पनि दुराचारले देशमा जरा गाड्न विलम्ब गर्दैन । यसैको प्रतिफल हो देशमा कुनै काम समयमा नहुनु र भए पनि गुणस्तरहीन हुुनु ।
मज्जको कुरा त यो छ कि प्रायः नक्कली नेपाली नोटहरू भारतीय नागरिकबाट बरामद हुने गरेको छ । थोरै मात्र नेपालीले यस्तो नोट चलनचल्तीमा ल्याउन खोजेको देखिन्छ, त्यो पनि बितेको दिनमा मात्र । भारतमा राम्रो–नराम्रो सबै किसिमको काम गर्न खप्पिस मानिस
हुन्छन् । सानो परिमाणले सफलता पाउनेबित्तिकै उनीहरू ठूलो परिमाणमा उत्पादन गर्न पछि हट्दैनन् । यद्यपि माथि भनिएझैं हाम्रो अर्थतन्त्र यति विशाल छैन कि भरमार जाली नोटहरूले प्रवेश पाउन सकोस् । तर यति बलियो पनि छैन कि धेरै परिमाणलाई पचाउन सकोस् । त्यसैले यसतर्फ सतर्क भएर पहिलो चोटमैं यस्तो नियत चकनाचुर बनाउन तत्पर हुनुपर्छ । निरन्तर अभ्यासले नराम्रो कामले पनि मान्यता पाउन थाल्छ । हामीले भोगेको कुरा हो, देशको कानून निरीह बन्दा भारतीय माफियाहरूले पनि नेपालमा रङ्गदारी असुल्ने गर्दथे ।