नरेश यादव, ८ माघ/
पर्सा जिल्लामा अवैध मदिरा उत्पादन कार्य तीव्र गतिमा बढेको छ । भारतको बिहारमा मदिरा बन्द भएपछि पर्सा जिल्लामा घरेलु मदिरा उत्पादन बढेको हो । पर्सा जिल्लामा उत्पादित घरेलु मदिरा बिहार निर्यात नहुँदा आन्तरिक खपत हुने गरेको थियो तर अहिले ८० प्रतिशत घरेलु मदिरा बिहार निर्यात हुँदै आएको छ ।
जिल्लाको सबैभन्दा बढी घरेलु मदिरा उत्पादन पर्सागढी नगरपालिका–३ झब्राहामा हुने गरेको छ । करीब चार सय घरधुरी रहेको यो ठाउँमा तीन सय बढी घरमा घरेलु मदिरा उत्पादन हुने गर्छ । बिहारमा निर्यात हुनु अघि यहाँ उत्पादित मदिराहरू जीतपुर, वीरगंज र जिल्लाको अन्य स्थानमा बिक्री हुने गरेको थियो । अहिले सबैभन्दा सुरक्षित गन्तव्य बिहार भएको छ ।
जीतपुर, वीरगंजभन्दा बिहारमा मूल्य पनि बढी पाइने गरेकोले झब्राहाबाट स्कूटी, साइकल, मोटरसाइकल आदिमा घरेलु मदिरा सीमावर्ती क्षेत्रमा पु¥याउने गरिन्छ । झब्राहासहित वीरगंज–३० रामवन, सखुवापरसौनीको महुवन, पटेर्वासुगौलीको रङ्गपुर, ठोरी गाउँपालिका, जीराभवानी गापा–५ शङ्करसरैया, हरैया, धोबिनी गापाको असवरिया, पकहामैनपुर र जगरनाथपुर गापामा बढी मात्रामा घरेलु मदिरा उत्पादन हुने गरेको छ । प्रहरीले कोरोना कहरमा विगत दुई वर्षदेखि घरेलु मदिरा विरुद्ध अभियान तीव्र पार्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले थुप्रै मानिसको जीविकोपार्जन भइरहेकोले प्रहरी कार्यवाहीको बावजुद घरेलु मदिराको उत्पादन नरोकिएको बताएका छन् । उनले मानिसको जीविकोपार्जनको माध्यम बनेकोले प्रहरीले भट्टीे, मदिरा मात्र नष्ट गर्ने गरेकोले मौका पाउनुबित्तिकै पुनः सञ्चालन हुने गरेको बताए । उनले पुनः यसविरुद्ध अभियान चालिने आश्वासन दिए ।