प्रस, वीरगंज, ६ माघ/
वीरगंजको आदर्शनगर खेल मैदानमा जारी चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको क्वाटरफाइनल चरणको खेलमा बिहीवार आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै नेपाली सेना र गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आज भएको पहिलो खेलमा नेपाली सेनाले प्रदेश १ लाई शून्यका विरुद्ध सात गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ । नेपाली सेनाकी कमला चन्दले चार, नीलिमा पाण्डेले दुई र सीतामगर बमले एक गोल गरेका थिए । पहिलो खेलको ‘वुमन अफ दी म्याच’ अञ्जना चन्द ठकुरी घोषित भइन् ।
त्यसैगरी, आज सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा गण्डकी प्रदेशले लुम्बिनीलाई शून्यका विरुद्ध दुई गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।
गण्डकी प्रदेशकी कमलादेवी घर्ती पुनले खेलको सातौं मिनेटमा पहिलो गोल गरेकी थिइन् भने त्यसको दुई मिनेटको फरकमा गण्डकीकै नानु गुरुङले अर्काे गोल गरेकी थिइन् । यो खेलको ‘वुमन अफ दी म्याच’ सोविन पुन राना घोषित भइन् । शुक्रवारदेखि सेमिफाइनल खेल शुरू हुने आयोजक सानो पाइलाले जनाएको छ ।
शुक्रवार पहिलो सेमिफाइनल नेपाली सेना र गण्डकी प्रदेशबीच तथा भोलि नै दोस्रो सेमिफाइनल खेल सुदूरपश्चिम र मधेस प्रदेशबीच हुने आयोजक सानो पाइलाले बताएको छ ।