प्रस, वीरगंज, ६ माघ/
नेपाल विद्यार्थी सङ्घ ठाराब क्याम्पस एकाइ समितिले बिहीवार पत्रकार सम्मेलन गरेर हरि खेतान बहुमुखी क्याम्पसको विषयलाई लिएर ६ दिने आन्दोलन घोषणा गरेको छ ।
नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा एकाइ समिति सभापति मनोजकुमार साहले माघ २ गते क्याम्पस प्रमुखलाई सात सूत्रीय मागसहितको ज्ञापनपत्र बुझाएको तर सो अवधिसम्म माग सम्बोधन नगरिएको हुँदा आन्दोलन घोषणा गर्नुपरेको बताए । उनले माघ ७ गतेदेखि १२ गतेसम्म आन्दोलन घोषणा गर्दै १३ गते शिक्ष्Fामन्त्रीलाई ज्ञापनपत्र दिने बताए ।
माघ ७ गते हरि खेतानको गेटमा एक घण्टा धर्ना, ९ गते क्याम्पस सञ्चालक समितिलाई ज्ञापन दिई छलफल गर्ने, १० गते राजनीतिक दलका अध्यक्षहरूलाई ज्ञापनपत्र दिने, ११ गते घण्टाघरमा हस्ताक्षर अभियान, १२ गते प्रधानमन्त्री, शिक्ष्Fामन्त्री र प्रमुख जिल्ला अधिकारीलाई एसएमएस पठाउने र १३ गते शिक्षामन्त्रीलाई प्रत्यक्ष भेटेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताएका छन् ।
क्याम्पस प्रमुख डा भगवानप्रसाद यादवले हरि खेतान क्याम्पसविरुद्ध सुनियोजित षड्यन्त्र रचिएको आरोप लगाए । उनले ठाकुर राम बहुमुखी क्याम्पस नेविसङ्घ एकाइले हरि खेतानको समस्या दर्शाएर रँडाको मच्चाउनुको कुनै कारण नभएको बताए । उनले सो संस्थाले आफ्नो क्याम्पसको जिम्मेवारी वहन गर्नुपर्ने बताउँदै हरि खेतानमाथि ठाडो हस्तक्षेप भइरहेको बताए । हरि खेतानको समस्याबारे यहाँका विद्यार्थी, अभिभावक, कर्मचारीहरूले कुरा उठान गर्नुपर्ने र त्यस्तो नभएको भन्दै प्रायोजित तरीकाबाट क्याम्पसलाई बदनाम गराउने षड्यन्त्रको तानाबुना बुनिएको उनले बताए ।