रियो डि जेनेरियो ६ माघ/सिन्हवा
ब्रजीलमा गएको २४ घण्टामा कम्तीमा पनि ३३८ जना कोरोना सङ्क्रमितको निधन भएको
छ । ब्रजीलका स्वास्थ्य अधिकारीहरूले सो जानकारी दिएका हुन् । उनीहरूका अनुसार यहाँ पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणसँगै मृतकको सङ्ख्या पनि अघिल्लो महीनाको तुलनामा बढेको छ ।
यस देशमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि ६ लाख २१ हजार ८८५ जनाको ज्यान गएको छ । ब्रजील कोरोना भाइरसका कारण ज्यान जाने विश्वकै दोस्रो ठूलो देश हो । विश्वमा कोरोनाका कारण सबैभन्दा बढी अमेरिकामा मृत्यु भएको छ ।
यसैगरी यहाँ गएको २४ घण्टामा २ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । यहाँ अहिलेसम्म २ करोड ३४ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका ब्रजीलको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा देखाइएको छ ।
भारतमा एकै दिन थप तीन लाख १७ हजार सङ्क्रमित
नयाँ दिल्ली/एएनआई
भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख १७ हजार ५३२ जना सङ्क्रमित थपिएका छन् । भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा दिन प्रतिदिन वृद्धि हुँदै आइरहेको अधिकारीहरूले जनाएका छन् । गत २४ घण्टामा परीक्षण गरिएकामध्ये १६.४१ प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको जनाइएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामैं रहेकाहरूको सङ्ख्या १९ लाख २४ हजार ५१ रहेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट दुर्ई लाख २३ हजार ९९० जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या तीन करोड ५८ लाख ७ हजार २९ पुगेको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९३.६९ प्रतिशत रहेको जनाइएको छ ।
पछिल्लो एक दिनमा ४९१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेहरूको सङ्ख्या चार लाख ८७ हजार ६९३ रहेको छ । कोरोना शुरू भएदेखि हालसम्म भारतमा ७० करोड ९३ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुुरू भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५९ करोड ६७ लाखभन्दा बढी कोरोनाविरुद्ध खोप लगाइएको छ । रासस