प्रस, परवानीपुर, ५ माघ/

मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सारले चालू आर्थिक वर्ष २०७८–७९ को पछिल्लो छ महीनामा एक खर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । भन्सारले चालू आवको साउनदेखि पुससम्मको अवधिमा कुल एक खर्ब पाँच अर्ब ९० करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

वीरगंज भन्सार कार्यालयका भन्सार प्रशासक अरुण पोखरेलका अनुसार यो रकम गत आव २०७७–७८ को पहिलो छ महीनाभन्दा रु ३२ अर्ब बढी हो । वीरगंज भन्सारले गत आवको पुससम्म रु ७३ अर्ब ५५ करोड रुपियाँँ राजस्व सङ्कलन गरेको थियो । गत वर्ष कोरोना महामारीका कारण अवरुद्ध भएको वैदेशिक व्यापार यो वर्ष ह्वात्तै बढेकोले चालू आवमा आयातसँगै राजस्व पनि बढेको उनको भनाइ छ ।

चालू आवको छ महीनाका लागि वीरगंज भन्सारले एक खर्ब रुपियाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । यो अवधिमा भन्सारले उठाएको राजस्व लक्ष्यभन्दा छ प्रतिशत बढी हो । विदेशी मुद्राको सञ्चिति घटेपछि सरकारले आयात निरुत्साहित गर्ने नीति लिएको छ । सरकारको यो नीतिको असर देखिन कम्तीमा दुई महीना लाग्ने र त्यसपछि भने राजस्वमा कमी आउने अनुमान भन्सार अधिकारीहरूको छ ।

भन्सार कार्यालयले सबैभन्दा बढी मूल्य अभिवृद्धि कर उठाएको छ । ३१ अर्ब रुपियाँ मूअक उठाउने लक्ष्य लिएको भन्सारले लक्ष्यभन्दा ३२ प्रतिशत बढी ४१ अर्ब रुपियाँ सङ्कलन गरेको छ । वीरगंज भन्सारबाट भित्रिएका मालसामानबाट छ महीनामा ३८ अर्ब रुपियाँ भन्सार महसूल उठेको छ भने अन्तःशुल्कतर्फ १२ अर्ब र पेट्रोलियम पदार्थको आयातमा लगाइएको पूर्वाधार कर मात्रै करीब आठ अर्ब रुपियाँ सङ्कलन भएको भन्सारले जनाएको छ ।

अग्रिम आयकर १४ करोड रुपियाँ, स्वास्थ्य जोखिम कर ८३ लाख, कृषि सुधार शुल्क ७३ करोड, सडक मरम्मत तथा सुधार दस्तुर दुई अर्ब असुल गरेको छ । वस्तु निकासीबाट एक करोड रुपियाँ राजस्व आम्दानी गरेको भन्सारले भन्सारसम्बन्धी अन्य आय शीर्षकमा पाँच करोड रुपियाँ सङ्कलन गरेको तथ्याङ्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here