• अनन्तकुमार लाल दास

शिक्षकहरू राष्ट्रिय संस्कृतिका चलाख माली हुन् । उनीहरूले संस्कारको जरोमा मल हाल्छन् र आफ्नो श्रमद्वारा सिञ्चित गरेर त्यसलाई शक्तिमा रूपान्तरण गर्छन् । कुनै पनि देशको वास्तविक विकासकर्ता वा निर्माता त्यस देशका शिक्षकहरू नै हुन्छन् । शिक्षाको प्रमुख आधार पनि शिक्षकहरू हुन्छन् । शिक्षकहरूले विद्यार्थीहरूको व्यक्तित्व विकास गर्नुका साथै देश विकासमा पनि प्रमुख योगदान दिन्छन् ।

कुनै पनि देशको मूत्र्तरूप त्यहाँ बसोवास गर्ने नागरिकमा निहित हुन्छ । कुनै पनि देशको विकासका लागि त्यहाँ बस्ने नागरिकहरूलाई तयार गर्ने काममा शिक्षकहरूको भूमिका अति महŒवपूर्ण हुन्छ । अनादिकालदेखि शिक्षकहरूको महŒवको गुणगान उनीप्रदत्त ज्ञानकै कारण हुँदै आएको छ । अहिले पनि शिक्षकले विद्यार्थीहरूको भविष्य निर्माण गरेर देशको भविष्य उजागर गर्न सक्छन् ।

शिक्षकको भूमिका विद्यार्थीहरूलाई पढाउनसम्म मात्र सीमित हुँदैन । विद्यार्थीहरूलाई पढाइबाहेक उनीहरूको सामाजिक जीवनसँग सम्बन्धित उत्तरदायित्व बोध गराउने र समाज निर्माण गर्ने योग्य बनाउने कार्य पनि शिक्षकहरूको दायित्व हो । भविष्यमा यस्तै विद्यार्थीहरू समाज विकासको आधार बन्छन् । शिक्षकको भूमिकाको विषयमा के भनिएको छ भने शिक्षा व्यवस्थामा सबैभन्दा महŒवपूर्ण घटक शिक्षक हो ।

शिक्षाबाट समाजमा जुन इच्छा, आकाङ्क्षा र उद्देश्य पूर्तिको कल्पना गरिन्छ त्यो शिक्षकमाथि नै निर्भर हुन्छ । जस्तोसुकै शिक्षा प्रणाली भए तापनि त्यसको प्रभावकारिता र सफलता त्यस प्रणालीमा संलग्न शिक्षकहरूको कार्यमाथि निर्भर गर्दछ । किनभने भावी पुस्तालाई शिक्षित गर्नु समाजको अपेक्षा पूरा गर्नु हो । यस कारण शिक्षकको दायित्व के हो भने उनीहरू समाज र राष्ट्रको चाहना साकार गर्न हरसम्भव प्रयास गरून् ।

विद्यार्थीहरूको मानसिक विकासमा शिक्षकहरूको भूमिका महŒवपूर्ण हुन्छ । एउटा सीपयुक्त शिक्षकले आफ्नो शिक्षण शैलीबाट विद्यार्थीहरूमा राष्ट्रियताको भावना जगाउन सक्नुपर्छ । राष्ट्रियताको भावनाले जहाँ एकातिर विद्यार्थीहरूलाई राष्ट्रभक्त र आदर्श नागरिक बनाउँछ, त्यहीं विद्यार्थीहरूमा राष्ट्रिय एकताको विकास पनि गर्दछ । यसर्थ के भन्न सकिन्छ भने नेपालको भविष्य निर्माण विद्यालयको कक्षाहरूमा भइरहेको छ । यस तथ्यले अप्रत्यक्षरूपले शिक्षकहरूको भूमिकालाई पनि निश्चित गरिरहेको छ । राष्ट्रको विकास र निर्माणमा शिक्षकहरूको भूमिकालाई तपसील बमोजिम पनि बुझ्न सकिन्छ ।

प्रसिद्ध शिक्षाशास्त्री फ्राबेलका अनुसार–“शिक्षा एउटा यस्तो प्रक्रिया हो जसले केटाकेटीहरूको आन्तरिक गुण र शक्तिलाई प्रकाशित गर्दछ ।” एउटा दक्ष शिक्षकले नै केटाकेटीहरूको आन्तरिक गुणको पहिचान गरेर त्यसलाई विकसित गर्न सक्छ र शिक्षकबेगर यो कार्य सम्भव छैन । त्यहीं वुडवर्थका अनुसार “व्यक्तित्व मानिसको सम्पूर्ण व्यवहारको व्यापक विशेषताको नाम हो।” आधुनिक युगमा केटाकेटीहरूको आन्तरिक शक्तिको विकास हुनु नै पर्याप्त होइन, उनीहरूको बाह्य व्यक्तित्वको विकास हुनु पनि त्यतिकै आवश्यक छ । शिक्षकले विद्यार्थीहरूको आन्तरिक र बाह्य व्यक्तित्वको विकासमा परिणाममुखी भूमिका निर्वाह गर्छ ।

मानिस सामाजिक प्राणी हो र उसलाई समाज अनुकूल बनाउने दायित्व शिक्षकको हुन्छ । शिक्षकले नै मानिसलाई समाजको आदर्श, मूल्य र मान्यताहरूसँग परिचित गराउँछ । समाजप्रति मानिसको के–के कर्तव्य र अधिकार हुन्छ तथा त्यसको सदुपयोग कसरी गर्नुपर्छ भन्ने सबैखाले कुराको जानकारी शिक्षकद्वारा नै प्राप्त हुन्छ । यसैगरी केटाकेटीहरूमा जन्मगत केही मूल प्रवृत्ति हुन्छ । एउटा शिक्षकले त्यस मूल प्रवृत्तिलाई तिखार्ने र शुद्ध गर्ने काम गर्दछ । उनीहरूलाई सुमार्ग निर्देशन दिनुका साथै नियन्त्रण गर्ने काम पनि गर्दछ । यसबाट केटाकेटीहरूको व्यक्तित्व विकास हुन्छ । शिक्षकको दायित्व के हो भने केटाकेटीहरूको मूल प्रवृत्तिमा सुधार गरेर उनीहरूलाई समाज र राष्ट्र सेवाको लागि काम आउन प्रेरित गर्ने ।

शिक्षकले विद्यार्थीहरूलाई भिन्न–भिन्न विषय र व्यावसायिक शिक्षा प्रदान गर्छ । उसले आफ्ना विद्यार्थीहरूलाई शिक्षा हासिल गरेपछि परिवार, समाज र देशप्रति आफ्नो कर्तव्य सही तवरले निर्वाह गर्ने योग्य बनाउँछ । यदि देशको युवा आत्मनिर्भर हुन्छन् भने राष्ट्र उन्नति र प्रगतिको बाटोमा अग्रसर हुन्छ । यस सँगसँगै विद्यार्थीहरूको चरित्र निर्माण र नैतिक विकास गर्नु पनि शिक्षकको महŒवपूर्ण दायित्व अन्तर्गत पर्दछ । गुणस्तरीय शिक्षाद्वारा नै केटाकेटीहरूले सत्यम्, शिवम्, सुन्दरम्सँग साक्षात्कार गर्छ र त्यसलाई आफ्नो आचरणमा व्यवहृत गर्छ । महात्मा गाँधीले भनेका छन्–“यदि शिक्षकले आफ्नो नाउँ सार्थक बनाउनुछ भने उसको प्रमुख कार्य नैतिक शिक्षा प्रदान गर्नु हुनुपर्छ ।”

शिक्षकको सबैभन्दा ठूलो कार्यभार आफ्नो शिक्षाद्वारा विद्यार्थीहरूमा आदर्श नागरिकका गुण विकसित गर्नु हो जसबाट विद्यार्थीहरूले आफ्नो अधिकार र कर्तव्य राम्ररी बुझ््न सकूस् र जीवनमा त्यसको सदुपयोग गर्न सकून् । यहाँ बुझ्नुपर्ने कुरा के हो भने आदर्श नागरिकले नै सुखी र समृद्ध नेपालको निर्माणमा इमानदारीका साथ आफ्नो भूमिका निर्वाह गर्न सक्छ । एउटा आदर्श शिक्षकले नै आफ्नो शिक्षाद्वारा विद्यार्थीहरूमा राष्ट्रिय एकता र देशभक्ति सञ्चार गर्दछ जुन हिजोआज लुप्तप्रायः छ । कुनै पनि देशको स्वतन्त्र अस्तित्व त्यसको नागरिकमाथि निर्भर हुन्छ किनभने उनीहरूको सहयोगले नै देश उन्नत र सशक्त बन्दछ । प्रत्येक जागरूक नागरिक राष्ट्र निर्माणमा एउटा सहयोगीको रूपमा प्रस्तुत हुन्छ र एउटा शिक्षकले आफ्नो पुरुषार्थको बलमा केटाकेटीहरूलाई राम्रो नागरिक बनाएर राष्ट्र निर्माणको आफ्नो दायित्व निर्वाह गर्दछ ।

आज नेपाली युवाहरूलाई आफ्नो संस्कृति र राष्ट्रको गौरवबाट परिचित गराउने खाँचो छ र यो कार्य शिक्षकले नै गर्न सक्छ । यस कारण शिक्षकले मन, वचन र कर्मले एउटा आदर्श प्रस्तुत गरेर सम्पूर्ण विद्यार्थीहरूमा राष्ट्र सर्वोपरि हो भन्ने भावना उत्पन्न गर्नुपर्छ । यस्ता शिक्षकहरूबाट विद्यार्थीहरूलाई एउटा नौलो दिशाबोध हुन्छ र उनीहरू पथभ्रमित हुनबाट जोगिन्छन् । जीवनमा प्रगतिमार्गमा अघि बढ्नको लागि सही दिशा निर्देशको आवश्यकता पर्दछ । यो निर्देशन कैयौं प्रकारको हुन सक्छ ।

जस्तै व्यक्तिगत निर्देशन, शैक्षिक निर्देशन, व्यावसायिक निर्देशन आदि । व्यक्तिगत निर्देशनद्वारा मानिसको व्यक्तिगत समस्या समाधान गर्ने प्रयत्न गरिन्छ । व्यावसायिक निर्देशनद्वारा मानिसको रुचि, योग्यता र क्षमता अनुसार उसलाई व्यवसाय रोज्न सल्लाह तथा सहयोग गरिन्छ । शैक्षिक निर्देशनद्वारा विद्यार्थीहरूको शैक्षिक समस्या समाधान गरी उनीहरूलाई विभिन्न खाले सीप र दक्षता प्रदान गरिन्छ । यसरी एउटा शिक्षकले विद्यार्थीहरूलाई यी सबै विषयमा उचित निर्देश दिएर देशको सफल नागरिक बनाउन सहयोग गर्दछ ।

यसरी एउटा दक्ष शिक्षकले प्रत्येक विद्यार्थीलाई सबै विषयको उत्कृष्ट शिक्षा दिएर उनीहरूलाई एउटा राम्रो डाक्टर, इन्जिनीयर, न्यायिक एवं प्रशासनिक अधिकारी बनाउनुका साथै एउटा राम्रो मानिस पनि बनाउँछ । सामाजिक ज्ञानको अभावमा जहाँ एकातिर विद्यार्थीहरू समाजलाई सही दिशा दिन असमर्थ हुन्छन्, त्यहीं अर्कोतिर आध्यात्मिक ज्ञानको अभावमा गलत निर्णय लिन्छन् र आफूसँगै परिवार, समाज, देश र विश्वलाई समेत विनाशतर्फ डो¥याउने कारण बन्न सक्छन् । यसर्थ शिक्षकको कर्तव्य आरम्भदेखि नै विद्यार्थीहरूको जरो बलियो बनाएर सुन्दर र सभ्य समाजको निर्माणमा कुशल भूमिका निर्वाह गर्नु हो ।

यसरी शिक्षक एउटा सुसभ्य र शान्तिपूर्ण देश र विश्वकोे निर्माता हो । शिक्षकले आफ्ना सबै विद्यार्थीलाई एउटा राम्रो भविष्य, एउटा सुरक्षित भविष्य दिनको लागि र विश्वभरि शान्ति, समझदारी र एकता स्थापनाका लागि उनीहरूको कलिलो मनमस्तिष्कमा नेपाली संस्कृति, वीरता र सभ्यताको रूपमा ‘वसुधैव कुटुम्बकम्’ जस्ता विचाररूपी बीउ छर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here