यसपालि मात्र होइन, तीन वर्षदेखि कोरोनाले विभिन्न चाडपर्वहरूको उत्साह मलीन पारिदिएको छ । कुनै वर्ष दशैं, कुनै वर्ष होलि त कुनै वर्ष माघी र योग दिवसजस्ता दिनहरू कोरोनाका कारण खल्लो बन्न पुगेका छन् । चाडपर्व र दिवसहरू मानिसहरूको भेला हो, स्पर्श–आत्मीयताको क्षण हो । हात मिलाउनु, आलिङ्गन गर्नु, टाँसिनुले आत्मीयता प्रदर्शन हुन्छ । भेला भनेको उच्छृङ्खल भीड होइन, तर पनि कोरोनाले हुलको वर्जनाजस्तै सम्पूर्ण स्मरणीय मानवीय गतिविधिमा छेकबार लगाइदिएको छ । मैलो भएको मन पखाल्ने, तन उत्फुल्ल बनाउने, भेटघाट, भलाकुसारी, विचार– विमर्शहरूका लागि हामीकहाँ अवसर भनेको चाडपर्व र दिवसहरू नै हुन् । झन् यसपालि त योग दिवसलाई कोरोनाले खायो । योग दिवस, जहाँ भेट हुनैपर्ने, आपसमा बातचित र सहयोग हुनैपर्ने अवसर हो । यस्तो दिवसलाई पनि भर्चुअल माध्यमबाट मनाउनुपर्ने बाध्यता कोरोनोको दुस्सह आक्रान्तिले गर्दा नै हो । कोरोनाले मानिसलाई आक्रान्त पारेको छ, उसका सबै स्वाभाविक गतिविधिहरू प्रभावित पारेको छ ।
चाडपर्वहरू त प्रत्येक वर्ष आइरहन्छन्, दिवसहरू पनि मनाइ नै रहिन्छ भनेर सन्तोष गर्नुपर्ने अवस्था पनि छैन । किनकि नेपालमा भर्खरै, सरकारीस्तरमा नभए पनि, समूहगत वा जातिगतरूपमा धेरै लुप्तावस्थामा रहेका चाडपर्वहरूको उत्थानको दिन आइरहेको छ । माघे सङ्क्रान्ति सबै सनातनीको रमाइलो मात्र होइन, स्वास्थ्य विज्ञानको दृष्टिले पनि उपलब्धिमूलक चाड हो । थारू समुदायको त यो नयाँ वर्षको शुरूआत र मुख्य चाड नै हो । देशमा लोकतन्त्रको आगमनसँगै हीन मनोविज्ञानले आफ्ना चाडपर्वहरूलाई, उच्च जातिका सामुन्ने बिर्संदै गएका अल्पसङ्ख्यकहरूले, उत्तिष्ठ पार्ने जमर्को हुन थालेको बेला यसमा विच्छिन्नता आउनु राम्रो
होइन। तर निरुपाय जनताले अघोर त्रासदायी कोरोनाले गर्दा पाइला पछि सार्नुको विकल्प पनि छैन। र प्रशासनले पनि त्यसो गर्न दिने अवस्था छैन । व्यक्ति त आफ्नो रुझानलाई माथि राखेर, जोखिम मोलेर पनि यस्ता कार्यक्रम गर्न अघि सर्ला तर प्रत्येक भावना, मनोविज्ञानबाट अछूतो रहेको प्रशासनको हकमा भने मानिसको ज्यान जोगाउनुबाहेक अरू विकल्प हुँदैन । त्यसैले हेर्दा कठोर, भावनाहीन देखिए पनि कोरोना सङ्क्रमणबाट उन्मुक्ति पहिलो दायित्व बन्न आउँछ । सोही अनुसार भयोस तर खल्लो भयो त्यो आजको विवशता हो ।
इतिहासमा मानिसले धेरै परीक्षा दिनुपर्छ । कोरोना महामारी पनि त्यसैमध्येको एक हो । यो मानवीय क्षमता, सुझबुझ, धैर्य र सहनशीलताको परीक्षा हो । हामी लामो समय लकडाउनमा बस्यौं, धेरै चाडपर्वको सान्निध्यबाट वञ्चित भयौं, इष्टमित्रहरूको उपस्थितिको अभाव झेल्यौं, किनभने यी सबभन्दा मानिसको अस्तित्व मूल्यवान् छ । मानिस रहे मात्र सबै चाडपर्व र दिवसहरूको औचित्य हुन्छ । त्यसैले सबै नियमन–निग्रहहरूको पालना गर्दा थोरै मात्र ज्यानको नोक्सानीमा हामी कोरोनामाथि विजय हासिल गर्ने दिशामा अग्रसर हुन सक्यौं । नोक्सानी पनि, लागू मापदण्ड पालना नगर्दा मात्र भएको हो । त्यसमा सरकार र प्रशासनको अहम् भूमिका देखिन आउँछ । नागरिक भनेको बच्चाजस्तै हो । आगो पनि छुन चाहन्छ । त्यस्तो चकचके बच्चालाई हप्काउनु, रोक लगाउनु अभिभावकको दायित्व भएजस्तै प्रशासनले पनि चाहेर वा नचाहेर यस्ता प्रतिबन्धात्मक काम गर्नुपर्छ । र यस्तोमा नागरिकले पनि अन्यथा नलिई मानव अस्तित्वलाई प्राथमिकता दिनुपर्छ । यही प्राणीमात्रको धर्म हो ।