ओमप्रकाश चौधरी, सेढवा, १ माघ/
आदिवासी जनजाति थारू समुदायको माघी पर्व तथा थारू संवत् २६४६ पर्सा जिल्लाको केही ठाउँमा धुमधामका साथ मनाइयो भने केही ठाउँमा प्रशासनिक हस्तक्षेपको कारण हुन सकेन ।
वीरगंजमा डेढ दशकदेखि हुँदै आएको माघी महोत्सव प्रशासनले कोरोना सङ्क्रमण बढिरहेको र भीडभाड बढी हुने भएकोले रोक लगायो । स्वीमिङ पुलमा हुँदै आएको महोत्सव यस वर्ष अन्तिम चरणमा रोकिएको हो ।
स्वीमिङ पुलमा महोत्सव रोकिएपनि पर्सा जिल्लाको केही स्थानमा भने महोत्सव सम्पन्न भएको छ । जीराभवानी गाउँपालिका–४ सुपौलीको खेल मैदानमा चौथो जीराभवानी माघी खिचडी महोत्सव सम्पन्न भयो । वडा अध्यक्ष सुभाषराउत थारूको अध्यक्षतामा भएको महोत्सवको संविधानसभा सदस्य जयप्रकाश थारूले उद्घाटन गरेका थिए ।
कार्यक्रममा विभिन्न विद्यालयका छात्राहरूले थारू नृत्य प्रस्तुत गरेका थिए । महोत्सव उद्घाटन समारोहमा गापा अध्यक्ष रामप्रीत महतो, उपाध्यक्ष उषादेवी थरूनी, वडाध्यक्ष महादेवमहतो थारू, प्रअ रामाशङ्कर चौधरी, जितेन्द्रप्रसाद गौरो, दिनानाथ प्रसादलगायतले शुभकामना व्यक्त गरेका थिए ।
यसैगरी पटेर्वासुगौली गापा–४ सुगौली, सखुवापरसौनीको खेल मैदान, पर्सागढी नगरपालिकाको बढनियार खेल मैदानमा दोस्रो माघी खिचडी महोत्सव सम्पन्न भएको छ । महोत्सवमा थारू समुदायको खानाको परिकारहरूको स्टल राखिएको थियो ।
दुई ठाउँको महोत्सव स्थगित
वीरगंजसँगै जीराभवानी गाउँपालिका–१ मा हुने महोत्सव स्थगित भएको थियो । शुक्रवार दिउँसो माघी महोत्सवका अध्यक्ष मनोज चौधरीले पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी भएको बताएपनि प्रशासनले अनुमति नदिंदा महोत्सव स्थगित गर्नुपरेको अध्यक्ष चौधरीले बताए । जीराभवानी गाउँपालिकामा पनि आन्तरिक विवादको कारण महोत्सव स्थगित भयो । महोत्सवमा प्रमुख अतिथि बनाउने विषयमा आयोजक संस्थाबीच मतमतान्तर भएपछि महोत्सव नै स्थगित भएको थियो ।
नेपाली काङ्ग्रेस र नेकपा एमालेको नेतालाई प्रमुख अतिथि बनाउने विषयमा मत नमिलेपछि महोत्सव स्थगित गरिएको हो ।
महोत्सवमा भीड
कोभिड सङ्क्रमण बढिरहेको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले २५ जनाभन्दा बढी मानिस भेला भएर सभा–समारोह नगर्न निर्देशन जारी गरेपनि महोत्सवमा खचाखच भीड थिय।
स्वास्थ्य तथा सुरक्षा मापदण्ड पनि महोत्सवमा पालना गरिएको थिएन । संस्थाले सङ्क्रमण नफैलियोस् भनेर मास्क र सेनेटाइजरको व्यवस्था गरे पनि भीडभाडको कारण सबैले त्यसको प्रयोग गर्न सकेका थिएनन् । प्रहरीले पनि भीडभाडलाई नियन्त्रण गर्न सकेको थिएन ।
प्रस, बिरूवागुठी/
पर्सागढी नगरपालिकामा थारू समुदायले माघी महोत्सव धुमधामका साथ मनाए । नगर उपप्रमुख अर्चना चौधरीले महोत्सवको उद्घाटन गरेकी थिइन् । उनले थारू समुदायले आफ्नो पहिचान गुमाउन नहुने भन्दै वेशभूषा, भाषा र संस्कृतिको जगेर्ना गर्न सबैलाई आह्वान गरिन् ।
उपप्रमुख चौधरीले महोत्सवबाट छोरीलाई पनि शिक्षा दिन थारू समुदायलाई आग्रह गरिन् । छोरीले शिक्षा पाएको खण्डमा समाज अगाडि बढ्न सक्ने उनले बताइन् । थारू कल्याणकारी सभा नगर मूल समारोह समितिका अध्यक्ष जङ्गबहादुरदास थारूको अध्यक्षतामा भएको कार्यक्रममा थारू कल्याणसभाका केन्द्रीय सदस्य बृजमोहन चौधरी, मनोज चौधरी, रामबहादुर चौधरी, शेख खुर्शिद, बिन्दा चौधरी, देवपूजन गौरो, वेदमानदास थारूलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत कमल चौधरीले र सहजीकरण जोगिन्द्र चौधरीले गरेका थिए ।