लन्डन ३० पुस/सिन्हवा

बेलायतमा कुनै नागरिक कोभिड सङ्क्रमित भएपछि बस्नुपर्ने सेल्फ आइसोलेशनको समय पाँच दिनमा छोट्याइएको छ। यस अघि सात दिन रहेकोमा कटौती गरेर कोभिड पोजेटिभ देखिएको व्यक्तिले अब सेल्फ आइसोलेशनमा पाँच दिन मात्र बसे पुग्ने भएको छ।

यहाँका स्वास्थ्य अधिकारीहरूको परामर्शमा सरकारले सो समयमा कटौती गरेको बेलायतका स्वास्थ्यमन्त्री सजिद जाभिदले बताएका छन्। उनका अनुसार यहाँका नागरिकमा आगामी सोमवारदेखि सो आइसोलेशन समय लागू हुने भएको हो। पाँच दिन बसेर छैटौं दिनको बिहान कोभिड पोजेटिभ देखिएका व्यक्ति आइसोलेशनबाट बाहिर निस्कन पाउने भएका हुन्।

भारतमा थप दुर्ई लाख ६४ हजारभन्दा बढी कोरोना सङ्क्रमित

नयाँ दिल्ली/एएनआई

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुर्ई लाख ६४ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रवार जानकारी दिएको छ। योसँगै भारतमा कुल सङ्क्रमित सङ्ख्या तीन करोड ६५ लाख ८२ हजार १२९ पुगेको छ।

सोही अवधिमा थप ३१५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८५ हजार ३५० पुगेको मन्त्रालयले जानकारी दिएको छ।

हाल यहाँ पाँच हजार ७५३ ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्त्रालयले शुक्रवार जानकारी दिएको छ। भारतमा अहिले सङ्क्रमित अवस्थामैं बाह्र लाख ७२ हजार ७३ रहेका छन्। गएको २४ घण्टामा मात्र एक लाख ५४ हजार ५४२ जना सक्रिय सङ्क्रमित थपिएका छन्।

भारतमा एक लाख ९ हजार ३४५ कोरोनाबाट मुक्त भएका छन्। योसँगै कोरोना शुरू भएयता हालसम्म तीन करोड ४८ लाख २४ हजार ७०६ जनालाई कोरोना सङ्क्रमण निको भएको छ। यहाँ कोरोना भाइरस निको हुने दर ९५.२० प्रतिशत रहेको जनाइएको छ।

कोरोना शुरू भएदेखि हालसम्म ६९ करोड ९० लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ। यहाँ सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुुरू भएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ५५ करोड ३९ लाखभन्दा बढी डोज खोप लगाइएको छ।

चीनको मुख्य भूमिमा २.९२ अर्ब भन्दा बढी कोभिड–१९ कोरोनाविरूद्ध खोपको डोज दिइयो

बेइजिङ/सिन्ह्वा

चिनियाँ मुख्य भूमिमा बिहीवारसम्म २.९२ अर्बभन्दा बढी कोभिड–१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले शुक्रवार जनाएको छ।

सन् २०१९ को डिसेम्बर महीनादेखि चीनको हुबे प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी शुरू भएको थियो। सो समयदेखि हालसम्म चीनमा सङ्क्रमितको सङ्ख्या कम नै भए तापनि विश्वको तुलनामा कोरोना भाइरसविरुद्ध खोप डोज उच्च मात्रामा लगाइएको छ।   

चीनभित्रै सङ्क्रमण भएकाहरूको सङ्ख्या बढ्न थाल्यो

चीनमा देशभित्रै सङक्रमित हुनेहरूको सङ्ख्या बढ्न थालेको यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। चीनमा पनि पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणको प्रकोप बढ्न थालेको बताइएको थियो। त्यसपछि उत्तरी चीनको सियान शहरमा अघिल्लो महीना लकडाउन गरिएको थियो। यहाँका अधिकारीहरूले सियानका एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमैं बस्न निर्देशन दिएका थिए।

डिसेम्बरको मध्यतिर दैनिक १५० जनाभन्दा बढीमा कोभिड पुष्टि भएपछि सरकारले लकडाउन गरेको थियो। चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति बनाएको छ। महामारी रोक्न त्यस अन्तर्गत सामूहिक परीक्षण र कडा लकडाउनजस्ता उपाय अवलम्बन गरिएको छ।

उता बिहीवार पनि यहाँका हेनान र तियाजिन प्रान्तमा १४३ जना सङ्क्रमित भेटिएका अधिकारीहरूले जनाएका छन्। तीमध्ये सबैभन्दा बढी हेनानमा ९८ जना भेटिएका अधिकारीहरूले जनाएका छन्। यहाँ देशभित्रै र बाहिरबाट आएकाहरूमा पनि सङ्क्रमण पाइएको छ।

चीनले फेबु्रअरीमा ग्रीष्मकालीन ओलिम्पिक आयोजना गर्न लागेको छ। त्यसैले चीनले अहिले कोभिडबारे उच्च सतर्कता कायम गरेको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here