प्रस, वीरगंज, २८ पुस/

प्रदेश २ को नामाङ्कन र स्थायी नामका लागि प्रदेशसभामा मतदान हुने कुरामा सहमति भएको छ । तर यसको मिति भने तय भइ नसकेको सभासद् ओमप्रकाश शर्माले प्रतीकलाई बताए ।

प्रदेशसभामा पेश भएका नामाङ्कन सम्बन्धी प्रस्तावमा सहमति नभएपछि मतदानबाट टुङ्ग्याइने प्रदेशसभा सचिवालयले जानकारी गराएको छ । प्रदेश सभामुख सरोजकुमार यादवले बुधवार बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको सभासद् शर्माले बताए ।

सभामुख यादवको संयोजकत्वमा प्रदेशको नाम र स्थायी राजधानीका लागि आएका प्रस्तावमा छलफल गर्न संसदीय समिति गठन गरिएको थियो र सो समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुरधाम र वीरगंज सन्दर्भमा संसदीय दलका नेताहरूसँग छलफल गरेको थियो । सभासद् शर्माले संसदीय दलका नेताहरूसँग भएको छलफलमा मतदानबाट निक्र्योल निकाल्ने सहमति भएको बताए । प्रदेशको नाम र स्थायी राजधानीका लागि दुईतिहाई बहुमत आवश्यक हुन्छ । प्रदेश २ मा १०७ जना सभासद् छन् ।

जसपा नेपाल, नेकपा माओवादी केन्द्र र लोसपा नेपाल प्रदेशको नाम मधेस प्रदेश राख्ने पक्षमा छन् तर यो समूहसँग ६३ जना मात्र सभासद् छन् र दुईतिहाईको लागि अझ सातजना सभासद् आवश्यक हुन जान्छ । प्रदेशको नाम जानकी प्रदेशको पक्षमा नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा एमालेका २१ जना सभासद् छन् भने मिथिला–भोजपुराको पक्षमा नेपाली काङ्ग्रेसका १९ जना सभासद् मात्र छन् ।

सभासद् शर्माले आफूसमेत पर्सेली केही सभासद्हरू पर्सा, बारा, रौतहट र सर्लाहीका सभासद्हरूसँग प्रदेशको राजधानी वीरगंज बनाउने कुरामा लबिङ गर्दै आएको बताए । उनले यसै सन्दर्भमा पुस २९ गते रौतहट जिल्लाको चन्द्रपुरमा चार जिल्लाका सभासद्हरूको बैठक डाकिएको जानकारी गराएका छन् । चार जिल्लामा ५० जना सभासद् छन् ।

पछिल्लो चरणमा वीरगंज राजधानीको पक्षमा पर्सा जिल्लाका लोसपा र नेपाली काङ्ग्रेस पार्टीले सडक तताउने काम गर्दै आएको छ । वीरगंज राजधानीका लागि यस अघि नेकपा एमाले पर्साले पनि सडक तताएको थियो । तर अहिले एमाले वीरगंज राजधानीको सवालमा खुलेर सडकमा भने आइसकेको छैन । यसका कार्यकर्ताहरू भने वीरगंज राजधानीको पक्षमा रहेका विभिन्न समाजिक सञ्जालमार्फत अभिव्यक्ति दिदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here