राधेश्याम पटेल, वीरगंज, २८ पुस/

प्रदेश २ को आठै जिल्लामा समुदाय स्तरमा कोरोना फैलिने खतरा बढेको छ । पुस दोस्रो सातादेखि ह्वात्तै बढेको कोरोना सङ्क्रमण अहिले प्रदेश २ को पर्सादेखि सप्तरी जिल्लासम्म फैलिसकेको देखिएको छ ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले जारी गरेको बुधवारको तथ्याङ्क अनुसार आठ जिल्लामध्ये ६ जिल्लाबाट पुनः कोरोना सङ्क्रमित भेटिन थालेका छन् । उक्त विज्ञप्ति अनुसार बुधवार भएको परीक्षणमा सप्तरीमा एक महिलासहित पाँचजना, सिरहामा दुई महिलासहित छजना, धनुषामा ११ महिलासहित १४ जना, महोत्तरीमा एक महिलासहित १० जना, सर्लाहीमा दुई महिलासहित १२ जना, बारामा एक महिलासहित चारजना र प्रदेश १ का दुईजना गरी १८ महिला र ५१ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

नारायणी अस्पताल, वीरगंवको पिसिआर प्रयोगशालामा बुधवार ९५ वटा नमुना परीक्षण भएकोमा १६ महिला र ३५ पुरुष गरी कुल ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको माइक्रोब्यालोजिस्ट डा. प्रभाकरराज पाण्डेले बताए । यस अघि गत सोमवार भएको ५४ वटा नमूना परीक्षणबाट ९ महिलासहित २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनका अनुसार अहिले दैनिक भइरहेको परीक्षणमा ४० प्रतिशतभन्दा बढी अनुपातमा कोरोना सङ्क्रमण पुष्टि भइरहनु चिन्ताको विषय हो ।

नाकामा ४ सय एन्टिजेन परीक्षण गर्दा १८ जनामा कोरोना

नेपालको प्रमुख प्रवेशद्वार वीरगंज नाका भएर आउने नेपाली र भारतीय पर्यटकमा सङ्क्रमित भेटिने दर बढ्दै गएको पाइएको छ । वीरगंज महानगरको हेल्थ डेस्कद्वारा अहिले दैनिक सयभन्दा बढीको एन्टिजेन परीक्षण गर्दा २० भन्दा माथि पोजेटिभ भेटिइरहेको हेल्थ डेस्ककी डा. अनिशा महतोले बताइन् । उनले गत पुस ८ गते परीक्षण गर्दा दुईजना पोजेटिभ देखिएपछि चेकजाँच र परीक्षणको दायरा बढाइएको बताइन् ।

यस अघि जेठदेखि पुस ७ सम्म दैनिक सयदेखि डेढ सयको हाराहारीमा एन्टिजेन परीक्षण गर्दा सबै नतीजा नेगेटिभ देखिएको थियो । पुस ८ गतेपश्चात् भित्रिने भारतीय र नेपालीहरूमा कारोना पोजेटिभ भेटिएको हो । बुधवार साँझ ५ बजेसम्म गरिएको ४१५ परीक्षणमा तीन महिलासहित १८ जना पोजेटिभ भेटिएका छन् भने मङ्गलवार भएको ४१३ परीक्षणमा २४ जना पोजेटिभ भेटिएका थिए । पुस ८ गतेदेखि हालसम्म वीरगंज नाकाबाट भित्रिनेहरूमा झन्डै डेढ सयभन्दा बढीमा कारोना सङ्क्रमण पुष्टि भएको डा. महतोले बताइन् । नेपालीको हकमा प्रशासनको सहयोगमा होम आइसोलेशनमा पठाइने गरिएको छ भने भारतीयको हकमा भारतमैं फर्काउने गरिएको उनले जनाइन् ।

ओमिक्रन परीक्षणको लागि नमूना भण्डारण गर्न सकिएन

मुलुकको प्रमुख प्रवेशद्वार वीरगंज नाकामा भेटिइरहेको कारोनाको जिन– सिक्वेसिङ अर्थात् ओमिक्रन वा डेल्टा भेरिएन्ट छुट्याउन भण्डरणको उपकरण नभएकोले समस्या भइरहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । नारायणी अस्पतालको प्रयोगशालाले मासिक भेटिएको पोजेटिभ केसको नमूना जिन सिक्वेसिड्ढो लागि काठमाडौ, टेकुस्थित एनपिएचएलको प्रयोगशालामा पठाउने गरेको छ ।

यसरी दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै ज्यादा समस्या उत्पन्न हुने उनको विश्लेषण छ । यस अघि नारायणी अस्पतालमैं भण्डारण गर्न पठाइँदै आएको वीरगंज नाकाको हेल्थ डेस्कले दैनिक २० भन्दा बढी पोजेटिभ भेट्न थालेपछि बुधवारदेखि नमूना सङ्कलन बन्द गरेको छ ।

डा. अनिशा महतोका अनुसार हेल्थ डेस्कसँग नमूना भण्डारण गर्ने फ्रिज नभएको र नारायणी अस्पतालले पनि नमूना भण्डारण गर्न नमानेपछि नमुना सङ्कलन बन्द गरेको बताइन् । “हामीले वीरगंज महानगरसँग लामो समयसम्म नमूना भण्डारण गरेर राख्न सकिने फ्रिज माग गरेका छौं”–उनले भनिन्–“फ्रिज प्राप्त नहुन्जेल सङ्कलन रोकेका छौं, एउटा कोल्ड बक्समा ३६ वटा नमूना मात्र भण्डारण गरिराखेका छौं ।”

अशक्त र रोगप्रतिरोधात्मक क्षमता कम भएका लागि समस्या

कोरोना महामारीको तेस्रो लहर अर्थात् भारत र विश्वका थुप्रै मुलुकमा ओमिक्रोन भेरिएन्ट भेटिएको पुष्टि भएसँगै नेपालमा पनि महामारी बढिरहेको छ । तर यो भेरिएन्टको एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर अत्यधिक भएकोले अवस्था भयावह बन्न धेरै समय नलाग्ने स्वास्थ्यविज्ञहरूको आकलन छ ।

नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहका अनुसार बितेको क्रिसमस डे, नयाँ वर्ष महोत्सव, एमाले, काङ्ग्रेस तथा माओवादीको महाधिवेशन जस्ता कार्यक्रम तथा गतिविधिले गर्दा काठमाडौं, पोखरा, चितवनलगायत प्रदेश २ का आठ जिल्लामा कोरोना महामारी अस्वाभाविकरूपमा बढिरहेको छ ।

तर कोरोनाविरुद्ध दोस्रो मात्रा खोप लगाउनेलाई धेरै असर नगरेको उनको विश्लेषण छ । “ओमिक्रनले सतहीरूपमा मात्र असर गरिरहेको छ, छातीमा निमोनियाको दायरा त्यति तीव्र बढाएको छैन, खोप लगाउनेहरू एकै हप्तामा निको भइरहेका छन्”–उनले भने–“तर त्यही रोग प्रतिरोधात्मक क्षमता न्यून वा शारीरिकरूपमा अशक्तलाई बढी समस्या हुन सक्ने भएकोले सावधान हुन जरूरी छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here