राधेश्याम पटेल, वीरगंज, २५ पुस/

पर्सामा पछिल्लो तीन दिनमा तीनवटा शव बरामद भएको छ । एकजना भारतीय र दुईजना नेपाली बालबालिका गरी तीन दिनमा तीनजनाको शव बरामद भएको पर्सा प्रहरीले जनाएको छ। गत बिहीवार साँझ ४ बजे भारत, कोलकाता घर भई वीरगंजमा इ–रिक्सा चलाउँदै आएका ४८ वर्षीय मुख्तार मियाँको शव वयोधा अस्पताल गण्डक पछाडि नहरी (पैनी)मा घोप्टो पारी फालिएको अवस्थामा बरामद भएको थियो । उनी बुधवार साँझ ६ बजेदेखि बेपत्ता थिए । उनको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

शुक्रवार दिउँसो पर्साको पश्चिमी भेग जगरनाथपुर गापा–६ सन्ठी गाउँमा १२ वर्षीय बालकको शव फेला परेको थियो । घाटीमा गम्छा बेरिएको अवस्थामा सन्ठी गाउँको उखुबारी नजीकै स्थानीय नागेश्वर पटेलका छोरा मन्टु पटेलको शवको परिवारजनले सनाखत गरेका थिए । उनी पनि बिहीवार रातिदेखि बेपत्ता थिए । उनको पनि हत्या भएको पर्सा प्रहरीको आशङ्का छ । त्यसैगरी शनिवार दिउँसो पनि एकजना बालिकाको वीरगंजबाट शव बरामद भएको छ ।

वीरगंज–१५ भिस्वामा बुवाआमासँगै डेरामा बस्दै आएकी ९ वर्षीया रिजवाना खातनुको शव वीरगंज–१६ नगवास्थित रेल्वेरोड (कचनजङ्घा स्कूल) छेउको निर्माणाधीन घर नजीक घोप्टो पारेर फालिएको अवस्थामा बरामद भएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए ।

“तीनवटै घटना शङ्कास्पद देखिएको छ”–उनले भने–“प्रहरीको प्रारम्भिक अनुसन्धानमा योजना बनाएर हत्या भएको हुन सक्ने देखिएको छ, अनुसन्धान सकिएपछि थप कुरा खुल्नेछ।” उनले सबै शव नारायणी अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको बताउँदै तीनै घटनामा संलग्नको आरोपमा आफन्तजन तथा अन्य गरी १२ जनालाई निगरानीमा राखी सोधपूछ भइरहेको बताए ।

पर्सामा चालू आवको पछिल्लो ५ महीना हत्या घटना शून्य रहेकोमा एकै साता तीनवटा हत्या घटनाले पर्सा प्रहरीको लागि जिल्लामा शान्ति सुरक्षा कायम गर्न चुनौती थपिएको छ । पर्सामा दिनदिनै शव बरामद हुन थालेपछि अपराधी गतिविधि बढेको आशङ्काले जिल्लावासी त्रसित र सशङ्कित बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here