अल्माटी, कजाकिस्तान, २२ पुस/एएफपी
कजाकिस्तानमा प्रहरीले देशको सबैभन्दा ठूलो शहर अल्माटीमा प्रशासनिक भवनहरूमा आक्रमण गर्न खोज्दा रातभरि दर्जनौं प्रदर्शनकारीलाई मारेको प्रहरीले बिहीवार स्थानीय सञ्चारमाध्यमलाई जनाएको छ ।
हिजो राति चरमपन्थी सेनाले प्रशासनिक भवन, अल्माटी शहर प्रहरी विभाग, साथै स्थानीय प्रहरी चौकीमा आक्रमण गर्ने प्रयास गरेपछि दर्जनौं आक्रमणकारीहरू मारिएका प्रहरी प्रवक्ता साल्टनाटले बताएका छन् ।
कजाकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले हिजो मन्त्रिपरिषद् विघटन भएको घोषणा गरेका थिए । मध्य एशियाली मुलुक कजाकिस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उनले बुधवार मन्त्रिपरिषद् नै विघटन गरेका थिए ।
विद्युत्मा मूल्यवृद्धि भएपछि त्यसको विरोधमा केही समयदेखि देशव्यापी आन्दोलनको कार्यक्रम भइरहेको थियो । उनले देशको सबैभन्दा ठूलो शहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी प्रान्त माङ्गिस्टाउमा सङ्कटकाल लागू गरिएको घोषणा पनि गरेका छन् ।
सङ्कटकाल लागू गरिएका दुवै शहर आन्दोलनकारीको बढी प्रभाव रहेको शहर मानिन्छ । हजारौं आन्दोलनकारी सडकमा उत्रेर प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए । प्रधानमन्त्री अस्कर मामिनले दिएको राजीनामा राष्ट्रपति तोकायेभले स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । नयाँ प्रधानमन्त्री नियुक्त नहुँदासम्म उपप्रधानमन्त्री अलिखान स्माइलोभले जिम्मेवारी सम्हाल्ने भएका छन् । रासस