राधेश्याम पटेल, वीरगंज, १७ पुस/

दुई वर्षदेखि कोरोना महामारीको कारण नेपाल आउन नपाएका भारतीय पर्यटकहरू यस वर्षको अङ्ग्रेजी नयाँ वर्ष मनाउन नेपाल आइरहेका छन् । वीरगंज नाकाबाट पछिल्लो छ दिनमा हजारौं सवारीसाधनसहित नेपाल छिरेका छन् ।

वीरगंज भन्सारको यात्रु शाखा दिएको जानकारी अनुसार गत पुस ११ देखि १६ गतेसम्म तीन हजार ७७३ भारतीय गाडी प्रवेश गरेका छन् । वीरगंज आसपासका बजारमा पुगेर सोही दिन फर्किने पर्यटकहरूको गाडी एक हजार २१२ रहेका छन् भने वीरगंजबाहिर हेटौंडा, पोखरा, सौराहा, काठमाडौं, जनकपुरलगायत गन्तव्य तिर जाने गाडीहरू दुई हजार ५६१ रहेको वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।

उनका अनुसार वीरगंज आसपास आएर सोही दिन फर्किनेमा ६२८ कार र ५८४ जीप गरी एक हजार २१२ रहेका छन् । तर वीरगंजबाहिर जाने गाडीहरूमा १५ वटा बस, मिनीबस, दुई १८४ वटा कार, जीप, ५६२ वटा मोटरसाइकल गरी कुल दुई हजार ५६१ रहेका छन् ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ, पर्साका अध्यक्ष हरि पन्तका अनुसार भारतीयहरूको आगमन क्रिसमसको बेलादेखि बढेको बताए । उनले अहिले वीरगंजमा साना–ठूला गरी ५० वटाभन्दा बढी होटल सञ्चालनमा रहेकामा अधिकांश होटलको बूकिङ शतप्रतिशत रहेको छ । उनले आजको लागि प्रि–बूकिङ गरेर भारतीय पर्यटकहरूको भीडभाड लागेको बताए । नयाँ वर्ष मनाउन भारतीय पर्यटकहरू नेपाल प्रवेश गर्दा नेपालका अन्य क्षेत्रमा सकारात्मक असर परिरहेको छ ।

प्रस, सिम्रौनगढ/

नयाँ वर्ष ईसं २०२२ मनाउन सिम्रौनगढमा ठूलो सङ्ख्यामा मानिसहरूको भीड रह्यो । सिम्रौनगढको प्रसिद्ध देवताल झरोखर पोखरी, इसरा पोखरी, फूलबारी खेलमैदान, डढेको चामल क्षेत्र, उचिडिह, अमवा पोखरी डिल, पजनिया पोखरी, नरकटही, रानी मन्दिर क्षेत्र, तलुजा भवानी क्षेत्र, कोतवाललगायतका ठाउँमा मानिसहरूले खानपिन, नाचगान गरेर नयाँ वर्षको स्वागत गरेका थिए ।

छिमेकी भारतको बिहारमा मदिरा निषेधित भएकोले ठूलो सङ्ख्यामा त्यहाँका मानिसहरू सिम्रौनगढ क्षेत्रमा नयाँ वर्ष मनाउन आएका थिए । क्रिसमसदेखि सिम्रौनगढमा भारतीय नागरिकहरूको चहलपहल बढेको हो ।

चिरञ्जीवी सापकोठा, ठोरी/

नयाँ वर्ष मनाउन ठूलो सङ्ख्यामा मानिसहरू ठोरीमा आएका छन् । पर्सा, बारा जिल्लासहित छिमेकी भारतका विभिन्न स्थानबाट मानिसहरू जीप, कार, बस, मोटरसाइकलमा पिकनिक मनाउन ठोरी आइपुगेका थिए ।

स्थानीय होटल व्यवसायी दिनेश नेपालले नयाँ वर्ष मनाउन विभिन्न स्थानबाट परिवारसहित मानिसहरू आएको बताए । ठोरीमा रहेको सेतो पहाड, सीता गुफा, झोलुङ्गे पुल, रातो पहाड, स्टोन पार्कलगायतका स्थानमा पर्यटकहरूको भीड थियो ।

हुस्सु लागेर चीसो बढेको अवस्थामा पनि पर्यटकहरूको बाक्लो उपस्थिति देखियो । कोरोनाको कारण यसअघिका वर्षभन्दा आन्तरिक तथा बाह्य पर्यटक घटेका थिए तर पनि २० हजारभन्दा बढी मानिसको चहलपहल रहेको नेपाली काङ्ग्रेसका नेता प्रकाश खनालले बताए ।

सवारी शुल्कबाट मात्रै निर्मलबस्ती, ठोरी, मध्यवर्ती उपभोक्ता समितिले २० हजार रुपैयाँ आम्दानी गरेको अध्यक्ष बालकुमार बस्नेतले बताए । उनले राईधारा परिसरमा रहेका सवारीसाधनबाट मात्र सो रकम सङ्कलन गरिएको र अन्यत्र शुल्क उठाउन नसकिएको बताए ।
इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक ब्रह्मदेव साहले मोटरसाइकल दुर्घटनाबाट एकजना युवकको ज्यान गुमेको बताए ।

योबाहेक अन्य कुनै पनि अप्रिय घटना नभएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here