नितेश कर्ण, वीरगंज, १६ पुस/

ओमिक्रोनको पाँचौं भेरिएन्ट देखिएपछि वीरगंज–रक्सौल सीमानाकाको शङ्कराचार्यद्वारमा राखिएको स्वास्थ्य चौकी देखावटी मात्र भएको छ । मङ्सिर १७ गतेदेखि त्यहाँ स्वास्थ्य चौकी राखिएको हो ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भारतबाट आउने शङ्कास्पद व्यक्तिहरूको चेकजाँच गर्ने लक्ष्यले स्वास्थ्य चौकी राखिए पनि त्यहाँ काम गर्ने कर्मचारी नहुने गरेको कारण तोकिएको समयमा पनि स्वास्थ्य परीक्ष्Fण हुन नसकेको पाइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले डा अनिशा महतोको नेतृत्वमा दुईजना नर्स, दुईजना सहायक र एकजना सहयोगी खटाएको थियो । अहिले बिहान १० बजेदेखि ५ बजेसम्म त्यहाँ एकदुईबाहेक स्टाफ देखिंदैनन् ।

शुक्रवार स्वास्थ्य चौकीमा कृष्ण ठाकुर नाम गरेका एकजना मात्र खटेका थिए । उनै एकजनाले एन्टिजेन परीक्षण गर्ने र यात्रा विवरण लेख्ने कार्य गरिरहेका थिए । भारतको विभिन्न स्थानको रेल तथा बसबाट नेपाल आउनेहरूको चेकजाँच गर्दा आज निकै भीड थियो । अङ्ग्रेजी नयाँ वर्षको कारण दुई सातादेखि यो नाकाबाट भारतीयहरूको आवागमन निकै बढेको छ तर स्वास्थ्य परीक्षण भने कहालिलाग्दो छ ।

डा सैनुल्लाहले १० देखि ५ बजे तीन शिफ्टमा चौधजना स्वास्थ्यकर्मी खट्ने गरेको बताए । उनले दुई शिफ्टमा ५/५ जना र तेस्रो शिफ्टमा चारजना खट्ने गरेको तथा दुईजना एमबिबिएस डाक्टर, ५ जना एन्टिजेन जाँच गर्ने स्वास्थ्यकर्मी, ५ जना रजिस्टर मेन्टेन गर्ने कर्मचारी र दुईजना सहयोगी रहेको बताए ।

स्वास्थ्य चौकीमा खटेका सहयोगी ठाकुरले दैनिक छ सयजनाको स्वास्थ्य परीक्षण भइरहेको र तीन/चारजना पोजिटिभ निस्किने गरेको बताए । उनले आज एकजना नमाज पढ्न गएको र दुईजना बिदामा बसेको कारण आफू एक्लै खट्नुपरेको बताए ।

डा अनिशा महतो भने स्वास्थ्यचौकी नआउने गरेको थाहा भएको छ । उनीसँग यसबारे मोबाइलमा सम्पर्क गर्न खोज्दा सम्पर्कमा आइनन् । त्यतिमात्र होइन, महानगरले दिने गरेको स्वास्थ्य सामग्री पनि अहिले नदिने गरेको कर्मचारीहरूले बताउने गरेका छन् ।

यस विषयमा जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत जयमोद ठाकुरसँग बुझ्दा सीमामा भेटिएका पोजेटिभ केसको पहिचान गरी समबन्धित पालिकाहरूलाई जिम्मा लगाउने गरेको बताए ।

भारतीय नागरिकको हकमा भारतीय प्रहरीको जिम्मा लगाउने तथा नेपाली नागरिकको हकमा गापामा रहेका स्वास्थय प्रमुखलाई बोलाई जिम्मा लगाउने र यहाँबाट एम्बुलेन्सबाट पठाउने गरेको अधिकृत ठाकुरले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here