- राजेश मिश्र
विसं २०४० अर्थात् झन्डै ३८ वर्षअघिको कुरा हो । पर्सा जिल्लाको तत्कालीन पोखरिया पञ्चायतको लागि त्यो अत्यन्तै हर्षमय वर्ष थियो । त्यसअघि पोखरिया खासै चर्चामा थिएन । उहिले सडक, बत्ती र यातायातको साधन वीरगंजबाहेक ग्रामीण क्षेत्रमा नभएकाले पर्साको ग्रामीण क्षेत्र ओझेलमा थियो । खासगरी तरकारी तथा सामान्य आवश्यकता पूर्ति गर्ने बजारको रूपमा पोखरियाको पहिचान थियो ।
सानो आकारको बजार स्थापित हुनुको पनि कारण थियो– कृषि विकास बैंक, सहकारी संस्था, सिंचाइ कार्यालय, अस्पताल, विद्यालय र जाडोयाममा वीरगंज चिनी कारखानाको उखु सङ्कलन केन्द्रले गर्दा मानवीय गतिविधि पोखरियासँग आबद्ध थियो । शिक्षार्जनको लागि तत्कालीन जिल्ला उचाङ्गल मावि नै ग्रामीण क्षेत्रका विद्यार्थीहरूको लागि मुख्य गन्तव्य थियो । ग्रामीण क्षेत्रको सङ्गमको रूपमा रहेकोले सामान्य आवश्यकता पूर्तिका ससाना पसलहरू थपिने क्रममा थिए ।
किराना, कपडा, पान, होटल र साइकल मरम्मत जस्ता खुद्रा पसलहरूमा जीविकोपार्जनभन्दा बढी कारोबार थिएन । पोखरियाको उचाइ तब बढ्यो, जब तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवको अवसरमा विसं २०४० पुस १४ देखि ‘पोखरिया कृषि रमाइलो मेला’को शुभारम्भ भयो । त्यो पुस मेलाको जननीको रूपमा स्व मुक्तिनारायण चौहानलाई आज पनि स्मरण गरिन्छ ।
तत्कालीन राजा वीरेन्द्रको जन्म साल र गते सबैलाई थाहा थिएन । यद्यपि जन्मदिन पुस १४ गते हो भनेर भुइँतहसम्म ज्ञात हुने अवस्थाको श्रेय नितान्तरूपमा पुस मेलालाई जान्छ । पोखरियाको इतिहासमा एउटा अमेट्य क्षणको रूपमा पुस १४ अङ्कित भइसकेको छ । मनोरञ्जनको भरमग्दुर स्रोत नै मेलाको मुख्य आकर्षण थियो ।
कृषि प्रदर्शनी, पशु खरीद–बिक्री, बम्बइया मिठाइ, खाजा, खाना, सिनेमा, सर्कस, थिएटर, मौतका कुवा र जादुगर आदिले उत्सवमय पोखरियाको त्यो क्षण कालान्तरसम्म अविस्मरणीय रहनेछ । यसको अलावा कुस्ती, फूटबल, भलिबल र दौड प्रतियोगिता आदि विभिन्न खेलहरूको आकर्षण वर्णन गरेर साध्य छैन । किनभने नितान्तरूपमा प्रजाद्वारा राजाको जन्मोत्सवको उपलक्ष्यमा लाग्ने उक्त मेला सबैको साझा आस्थामा आधरित थियो । मेलाका प्रारम्भकर्ताहरूमध्ये एकाधबाहेक प्रFयः पञ्चतŒवमा विलीन भइसकेका छन् ।
विसं २०४० मा तीनवटा नयाँको कामको सुरुआत भएको थियो । पहिलो थियो– विद्युत्, जो विस्तार हुँदै आज गाउँगाउँसम्म पुगिसकेको छ । दोस्रो थियो, पुस मेला जो पछि अस्त भयो । र तेस्रो थियो, पोखरिया नगरयोजना, जो पोखरियावासीका लागि आजसम्म अभिशापतुल्य छ। किनभने पञ्चायतकालमा अधिग्रहण गरिएको किसानको ६२ बिघा जग्गा शासन व्यवस्था जनताको हातमा आइसक्दा पनि जनताकै जग्गा सरकारको कब्जामा छ । यसबारेमा विस्तृत आलेख पछि प्रस्तुत गरिनेछ ।
उदाहरणीय मेला
पुस महीनाको कठ्याङ्ग्रिदो जाडोयाममा कहींकतै मेला लाग्दैन थियो । सम्भवतः जाडोयामको मेलाको रूपमा प्रख्यात पोखरियाको मेला बाराको गढीमाईपछि दोस्रो ठूलो मेलाको रूपमा प्रसिद्ध थियो । पोखरिया मेलाको चर्चा एक/दुई वर्षमैं शिखरमा पुग्यो । शुरूमा प्रचारप्रसारको लागि पम्पलेट बाँड्ने कार्य पोखरियालगायत पर्सा र बारासहित भारतका विभिन्न स्थानमा गर्नुपथ्र्यो। पछि व्यवसायीहरू स्वस्फूर्तरूपमा आउन थाले । जस कारण व्यवसायीहरूलाई ठाउँ उपलब्ध गराउनको लागि मेलाको क्षेत्रफल बढाउनुको विकल्प थिएन ।
उक्त मेला सबै उमेर समूहका मानिसहरूका लागि उत्साहप्रद थियो । किसानहरूको उत्साह कृषि प्रदर्शनी तथा पशु खरीद–बिक्रीमा थियो । केटाकेटीहरू खानेकुरा, झुलुवा तथा विभिन्न मनोरञ्जनात्मक खेलहरूतर्फ आकर्षित हुन्थे । वृद्धवृद्धाहरूको आकर्षण धार्मिक तथा भोजपुरी सिनेमातर्फ बढी थियो । महिलाहरूका लागि सिनेमा त छँदै थियो, शृङ्गार आदि विभिन्न सामग्री खरीद गर्नेतर्फ रुचि थियो । युवा तथा वयस्कजन दिउँसो फूटबल तथा भलिबलको खेल हेरेर रमाउँथे र राति थिएटरको आनन्दमा रनभुल्ल हुन्थे । पर्सा र बाराका साथै भारतीय राज्य बिहारका दूरदराजका मानिसहरू मेला भर्न आउँथे । मानिसहरूमा यति उत्साह थियो कि पुस महीनाको बाक्लो हुस्सुले मेलाको सौन्दर्यलाई ढाक्न सक्थेन ।
मनोरञ्जन
‘टिकट कट रहा है, बँट रहा है, छँट रहा है’का साथै टिकट दर र शोको समयतालिका लाउडस्पीकरमा गुञ्जित भइरहेको थियो । ‘टिकट कट रहा है’ भन्ने वाक्यको “टिकट कटिरहेको छ’ भन्ने कुरा बुझ्न कठिन थिएन । यद्यपि ‘बँट रहा है, छँट रहा है’ वाक्यलाई आकर्षित पार्नको लागि जोडिएको होला भन्ने प्रतीत हुन्छ । वास्तवमा उपरोक्त पङ्क्तिको गुञ्जले मानिसहरूको ध्यान लाउडस्पीकरको ध्वनितर्फ आकर्षित हुन्थ्यो । सबैभन्दा रोमाञ्चक अवस्था त के थियो भने लालाबालाहरूले उपरोक्त वाक्यांश दिनभरि सुगाजस्तै रटिरहन्थे ।
सर्कस, थिएटर, सिनेमा, झुलुवा र जादुगर आदि विभिन्न मनोरञ्जनात्मक खेलतमाशाको प्रचारप्रसार छँदै थियो । अर्कोतर्फ मिठाइ, शृङ्गार र कपडालगायतका विभिन्न खाले प्रचारहरूको आवाज लाउडस्पीकरमार्फत भीडमा ठोक्किइरहन्थ्यो । व्यवसायीहरूमध्ये कोही मूल्यसहित त कोही सामग्रीको फाइदाबारे अवगत गराइरहेका हुन्थे । यसरी मिश्रित ध्वनिको गुञ्ज नै पोखरिया मेलाको रोमाञ्चक क्षण थियो । एकअर्काबीच हुने संवादमा अवरोध पुग्नु नै सम्भवतः हल्लाजनित मेलाको वास्तविकता हो ।
यसैबीच बदाम, पान, बाँसुरी, बेलुन र हावा मिठाइलगायतका लाउडस्पीकर नभएका पसलहरूमा क्रेता र विक्रेताबीच दाम र मोलमोलाइका दृश्यहरू सा¥है रमाइलो किसिमका हुन्थे । लाउडस्पीकरको ध्वनि यतिविघ्न ठूलो हुन्थ्यो कि मेलामा ‘फेंफडा फाड देता’ (फोक्सो च्यातिरहेको छ) भनी ठूलो आवाजमा एकले अर्कालाई भन्नुपथ्र्यो । वास्तवमा मेलाजन्य भीडभाडमा सङ्केत गर्नु र बुझ्नु सबैभन्दा सजिलो उपाय हो । आम मानिस फुर्सत मिलाएर मेलापात आउने हुनाले सामग्री खरीद गर्ने मौकामा मेलाको कुनाकान्द्रा चहार्ने, थरीथरीका सामग्री हेर्ने र दाम थाहा पाउने मौका नै मेलाको सुखानुभूति थियो ।
आर्थिक कारोबार
सामान्यतया पुस महीनामा व्यापारिक कारोबार ठप्प रहन्छ । स्थानीय व्यवसायीहरूका लागि छठपछि बढी कारोबार हुने महीनाको रूपमा उहिले पुस मेलाको स्थान थियो । मेलाले स्थानीय व्यवसायीहरूको केवल १५ दिनको कारोबार सामान्य अवस्थाका तीन/चार महीनाको कारोबारको तुलनामा बढी थियो । नेपाल तथा भारतबाट सयौंको सङ्ख्यामा व्यवसायीहरू आउँथे । अपवादबाहेक उनीहरू खुशी भएर फर्किन्थे । अर्को वर्ष कहिले आउँछ भन्दै पर्खिरहन्थे ।
जाडोयामलाई लक्षित गरेर व्यवसायीहरू विभिन्न डिजाइनका सुइटर, मफलर, चादर, जैकेट आदि ल्याउँथे । सधैं वीरगंज र सीमापारिको सिकटा तथा रक्सौलको निर्भरता थोरै भएपनि पुस मेलामा विलीन भइसकेको थियो । पैसा भए पैसाले वा अन्नपात बेचेर भएपनि तुरुन्तै किन्न पाइने अवसरको रूपमा थियो, पोखरिया मेला । स्थानीय भिडियो हलहरू थिए । सामान्य समयमा तीन शो चल्ने भिडियो पुस मेलाको समय पाँच शोसम्म चल्थ्यो । यसरी आर्थिक कारोबारको दृष्टिकोणले पोखरिया मेला उपलब्धिमूलक थियो ।
खाद्यान्नको अग्रिम प्रबन्ध
पोखरिया आसपासका बासिन्दाहरूले मेला प्रारम्भ हुनुभन्दा पहिलेदेखि खाद्यान्नको अग्रिम प्रबन्ध गर्नुपथ्र्यो । किनभने मेला शुरू भएपछि पाहुनाहरूको आगमन निश्चित थियो । पुस मेलाको अवसरमा छोरीचेलीहरूलाई नबोलाइ रमाइलो नै लाग्थेन । पोखरिया तथा आसपासका सतवरीया, वनकटवा, बर्वा, सेमरवारी, रानीगंज, श्रीसिया, वसन्तपुर, लमरिया, डमरापुरलगायतका गाउँहरू मेला अवधिभर पाहुनाहरूले भरिभराउ हुन्थे ।
एक पाहुना जान्थे त अर्को पाहुनाको आगमन हुन्थ्यो । नातागोतामा पर्ने आफन्तजन त आउँथे नै, नातासम्बन्ध भएका गाउँका अन्य मानिसहरूको आगमन पनि हुन्थ्यो । कतिपय पाहुना साँझपख आइपुग्थे, साइकल राख्थे र मेलामा फुर्र हुन्थे, उतै खान्थे र थिएटरको शो समाप्त भइसकेपछि रातिको तीन बजे फर्किन्थे ।
यही सेरोफोरोमा पोखरिया मेलाको प्रारम्भकालका नेतृत्वकर्ता तथा सम्बद्ध व्यक्तित्वहरूसँग भएको कुराकानीको संक्षिप्त अंशः
नरेन्द्र तिवारी (समाजसेवी)
पर्साको दोस्रो सदरमुकामको रूपमा पोखरियाको नाम आउँथ्योे । यद्यपि बाहिरी दुनियाँसँग पोखरिया खासै परिचित थिएन । मेलाको शुभारम्भपश्चात् पर्सा र बाराका साथै सीमापारिसम्म पोखरियाको पहिचान स्थापित भयो ।
मुक्तिनारायण चौहान तत्कालीन पोखरिया पञ्चायतका प्रधानपञ्च थिए । उनीसँग मेरो उठबस थियो । पोखरियालाई कसरी पहिचान दिलाउन सकिन्छ भन्ने चर्चा शुरू भयो । सरोकारवाला सबै पक्षसँग कुराकानी भयो । चौतर्फी सहमतिका बावजूद असहमति जनाउने व्यक्तित्वहरू थिएनन् भन्ने होइन । तर राम्रो कामका लागि प्रधानपञ्च चौहान अडान लिने प्रवृत्तिका व्यक्तित्व थिए । पोखरिया आसपासका प्रधानपञ्चलगायत समग्र विशिष्ट व्यक्तिहरूसँग विमर्श भयो ।
पर्साको मुडली निवासी तत्कालीन क्रमशः विद्युत्मन्त्री समसुलहक मियाँ, धोरे निवासी भूमिसुधारमन्त्री जयप्रकाश मलाहा तथा धोबिनी निवासी जिल्ला विकास समिति, पर्साका सभापति फजिल अहमदसँग समेत छलफल भयो । ती सबैको प्रोत्साहन, आमजनताको सहयोग र आयोजकको निष्ठापूर्ण परिश्रमले मेलाको कल्पना फलीभूत भयोे ।
उहिले वीरगंजबाहेक पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा बिजुली थिएन । समकुलहक मियाँ तत्कालीन विद्युत्मन्त्री थिए । उनकै पहलमा वीरगंजदेखि पोखरियासम्म विद्युत् प्रसारण लाइनको सबै काम सम्पन्न भइसकेको थियो । मिटर जडान नभएकोले विद्युत् सप्लाई भएको थिएन । मेलामा विद्युत्को आवश्यकतालाई अघि सारेर विसं २०४० मा मेलाको केही दिनअघि पोखरियामा विद्युत् सुचारु भयो । त्यसपछि मेलाप्रति जनभावना झन् एकबद्ध भयो । सबैमा उत्साह वृद्धि भयो । त्यो खुशी र उत्साह वर्णन गरेर साध्य छैन ।
मेलाका लागि आवश्यक संसाधनको सूची तयार भयो । कामको जिम्मेवारी बाँडफाँड भयो । मनोरञ्जनका संसाधन कहाँबाट र कसरी ल्याउने भन्ने जिम्मेवारी मलाई सुम्पियो । भारतको पश्चिम चम्पारणको लौरिया भन्ने स्थानमा मेला लागेको थियो । म त्यहीं गएँ । थिएटरबाहेक झुलुवा र जादुगर आदिको कुरा टुङ्गियो । थिएटरका लागि त्यहाँका मुखियाले मलाई मुजफ्फरपुरदेखि चालीस किमी पूर्व सुस्ता मेला जान सुझाए ।
म त्यहींबाट सुस्ताको लागि हानिएँ । सुस्ता पुगें । थिएटरको कुरा फत्ते गरेर पोखरिया फर्किएँ । पुस १४ आयो । मेला लाग्यो । मेलाको समयावधि १० दिनको थियो । यद्यपि मेला प्रत्येक वर्ष पुस १४ गतेदेखि शुरू भएर माघे सङ्क्रान्तिसम्म लाग्थ्यो । दोस्रो वर्षदेखि मेलामा सर्कस पनि थप भयो । मेला लाग्न थालेको एक/दुई वर्षपछि व्यापारीहरूलाई ठाउँ उपलब्ध गराउन हम्मेहम्मे पर्न थाल्यो । मलाई याद भएसम्म सम्भवतः मेला विसं २०५३/५४ सालसम्म अस्तित्वमा थियो । त्यो पुस मेलाको रमझम कहिल्यै बिर्सन सकिंदैन ।
हजारी साह (पूर्वमुखिया)
म पर्साको तत्कालीन लखनपुर–बलुवा पञ्चायतको मुखिया थिएँ । राजा वीरेन्द्रको जन्मोत्सवको अवसरमा २०४० पुस १४ गतेदेखि पोखरियामा मेला लाग्ने क्रम शुरू भयो । यस कार्यका लागि तत्कालीन पोखरिया पञ्चायतका मुखिया मुक्तिनारायण चौहानको अतुलनीय भूमिका थियो ।
पोखरियावरिपरिका पञ्चायत प्रमुखहरूसँगको छलफलमा म पनि सहभागी थिएँ । मेलाप्रति मेरो पूर्ण समर्थन थियो । मुक्तिनारायण चौहानमा सबैभन्दा अक्षुण्ण गुण के थियो भने उनी साहसी र निडर प्रवृत्तिका व्यक्तित्व थिए । सधैं राम्रो सोच्थे र सोचेको काम गरेर छाड्थे । मेलाको परिकल्पना उनकै थियो ।
चौतर्फी साथ र समर्थन पाउन थालेपछि मेलाको काम अघि बढ्यो । जिम्मेवारी बाँडफाँड भयो । मुक्तिनारायण चौहानका साथै तत्कालीन उपप्रधानपञ्च अयोध्या साह रौनियार, नरेन्द्र तिवारी, प्रधानाध्यापक रामनारायण चौरसियालगायत विभिन्न मुखिया तथा जिल्ला नेतृत्वकर्ताहरूको अहम् भूमिका थियो ।
राजनीतिबाहेक सिनेमा मेरो अतिरिक्त व्यवसाय थियो । पुस महीनामा सम्भवतः एकमात्र पोखरिया थियो, जहाँ भव्य मेला लाग्थ्यो । शुरूको वर्षमैं कल्पनाभन्दा बढी उत्साह देखियो । मनोरञ्जनका विभिन्न संसाधनहरू थिए, तर सिनेमाको सवालमा शुरूको तीन वर्ष एकमात्र मेरो सिनेमाघर थियो । त्यसपछि तीनवटा सिनेमाहल थप भयो । खेतमा चारैतिरबाट तारकाँटीले घेर्नुपथ्र्यो । बाँस गाडेर कपडाले तयार सिनेमाहलमा कपडाको पर्दामा सिनेमा चल्थ्यो । दर्शकहरूलाई बस्नका लागि पराल बिछ्याइन्थ्यो । शुरूमा दुई रुपैयाँ टिकट दर थियो ।
मानिसहरूले भन्थे– “हजारी के सिनेमा खूब चलता, पैसा बोरा में ठुस के ले जातारन ।” तर अवस्था के थियो भने म मुखिया भएकोले प्रायः मानिसहरूसँग चिनजान थियो । जिल्लाका मुखियाजीहरूसँग पनि उत्तिकै हेलमेल थियो । त्यस कारण जति मानिसहरू सिनेमा हलमा छिर्थे, त्यसमा आधा टिकटधारी र आधा सिफारिशधारी हुन्थे । यद्यपि सिनेमामा मानिसहरूको भीड देखेर मन प्रफुल्लित नहुने कुरै थिएन ।
भोजपुरी र धार्मिक फिल्म चल्थ्यो । कहिल्यै सिनेमा नदेखेका ग्रामीण मानिसहरूका लागि विभिन्न मनोरञ्जनका साधन द्वारमा आउनु नै पहिलो उपलब्धि थियो । शुरूको तीन वर्ष ‘सबनम’ थिएटर आयो । त्यसपछि ‘डेजी किरण’ थिएटर आउन थाल्यो । सबैभन्दा रोचक कुरा त के हो भने पुस १३ गतेसम्म घाम लाग्थ्यो र १४ गतेदेखि मसान्तसम्म घामको दर्शन दुर्लभ हुन्थ्यो । कुहिरोको प्रकोपले पनि मेलाको रौनकमा कुनै कमी हुन्थेन । विसं २०४६ को परिवर्तनपछि मेलाको रौनक बिस्तारै कम हुँदै गयो र केही वर्षपछि पोखरिया मेला सदाका लागि अस्त भयो ।
रामेश्वर रौनियार (नेता, नेपाली काङ्ग्रेस)
पर्सा जिल्लामा वीरगंजपछि पोखरियाको स्थान थियो र अहिले पनि छ । यद्यपि उहिले पोखरिया स्थानीयस्तरमा एउटा सानो बजारको रूपमा चिरपरिचित थियो । स्व मुक्तिनारायण चौहान तत्कालीन प्रधानपञ्च र मेरो बुबा स्व अयोध्याप्रसाद रौनियार तत्कालीन उपप्रधानपञ्च हुनुहुन्थ्यो । उहाँहरूको नेतृत्वमा मेलाको शुभारम्भ भएको मलाई याद छ । उहाँहरूले विभिन्न सरोकारवाला निकायसँग विमर्श गर्नुभयो ।
विभिन्न व्यक्तित्वहरूको साथ, समर्थन र सहयोगले उहाँहरूको कल्पना सार्थक भयो । तत्पश्चात् तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवको अवसरमा विसं २०४० पुस १४ गतेदेखि ‘कृषि रमाइलो मेला’को शुभारम्भ भयो । झन्डै १२/१३ वर्षसम्म मेला लाग्यो । मुख्यरूपमा किसान र कृषि उत्पादको उत्थानको साथै पोखरियाको पहिचान स्थापित गर्नु नै मेलाको मुख्य उद्देश्य थियो । कृषि प्रदर्शनी तथा पशु खरीद–बिक्रीका साथै विभिन्न मनोरञ्जनात्मक खेलतमाशा आदिले मेलाको रौनक उत्साहमय थियो । मलाई याद भएसम्म विसं २०५३ सालताका तत्कालीन पोखरिया गाविसको अध्यक्ष हुँदा आफ्नै नेतृत्वमा मेला लगाउने अवसर पाएको थिएँ ।
प्रद्युम्न चौहान (नेता, नेकपा एमाले)
विसं २०४० सालताका म विद्यार्थी थिएँ । मेला लाग्न थालेपछि अन्य मानिसहरू जस्तै म पनि असाध्यै खुशी हुन्थें । मनोेरञ्जनका विभिन्न संसाधन थलोमैं आउने भएपछि मन प्रसन्न नहुने कुरै थिएन । त्यति बेला बुबा (स्व मुक्तिनारायण चौहान) प्रधानपञ्च हुनुहुन्थ्यो । पोखरियाको उत्थानको लागि मानवीय चहलपहल बढाउने खालका उत्सवको आवश्यकता बुबाको मनमा पहिलेदेखि खेलिरहेको थियो ।
शुरूमा उनले आफ्नो मनको विचार सत्तासाझेदारलगायत विभिन्न व्यक्तित्वहरूमाझ राख्नुभयो । विमर्श गर्नुभयो । तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवको अवसरमा मेला लगाउने कुरामा सबैको राय एक थियो । पोखरियाका जनता तथा यहाँका विभिन्न व्यक्तित्वहरूको साथ र समर्थनले नै बुबाको कल्पना साकार भएको थियो ।
त्यसपछि पर्साको मुडली (हाल कालिकामाई गापामा पर्छ) निवासी समसलुहक काका (तत्कालीन मन्त्री), फजिल अहमद (सभापति, तत्कालीन जिल्ला विकास समिति, पर्सा) तथा तत्कालीन वीरगंज नगरपालिकाका प्रमुख विमल (श्रीवास्तव) काकाको अहम् भूमिका थियो । मेला लाग्न थालेको झन्डै १०–१२ वर्षपछि म तत्कालीन पोखरिया गाविसको अध्यक्ष हुँदा मेलाको नेतृत्व गर्ने अवसर पाएँ ।