- अनन्तकुमार लाल दास
जीवनको कुनै पनि यस्तो पक्ष, वर्ग वा क्षेत्र छैन, जुन कुनै न कुनै रूपमा पशुहरूको सेवाबाट लाभान्वित नभएको होस् । पशुबाट सबै लाभान्वित भएका छन् । पशु सबैका लागि उपयोगी हुन्छ । सानो किसान, सानो व्यापारी, दूध बेच्ने मानिस, टाँगा, बैलगाडी हाँक्ने मानिसको त कुरै नगरौं, नाकमा लामखुट्टेसम्म बस्न नदिने ठूल्ठूला सेठहरू पनि पशुका ऋणी छन् र पशुको सहचर्यले धन्य र कृतज्ञ छन् ।
यदि दुधालु पशुबाट दूध प्राप्त हुन्छ भने घोडा, खच्चर, गदहा, हात्ती आदिको उपयोगिता पनि कसैसँग लुकेको छैन । यदि भेंडा, याक र खरायोबाट हामीले नरम, राम्रो र आकर्षक ऊन पाउँछौं भने उँटको कडा र राम्रो नदेखिने कपालबाट पनि चिसो याममा शरीरलाई गर्मी प्रदान गर्ने ऊन प्राप्त हुन्छ । यसैगरी हात्ती, घोडा, बैल, उँट आदि सवारी र बोझा ढुवानी गर्ने साधन मात्र नभई प्राचीन कालमा युद्धमा समेत कुशलतापूर्वक लड्न सहायक साबित भएका छन् ।
यदि हात्तीबाट हात्तीको दाँत र बाघ, सिंह, मृग, चित्तल, गैंडा आदिबाट छाला प्राप्त हुन्छ भने बाघको हड्डीबाट बनेको गठियाको ओखति, घाँटीमा भएको कपालबाट टाउको दुखाइको ओखति र आँखाबाट मिर्गीको ओखति हासिल हुन्छ । यसैगरी गैंडाको नाकमाथिको सिङ औषधीय गुणले भरिपूर्ण हुन्छ भने कृष्णसार मृगबाट प्राप्त कस्तुरी धेरै हितकारी र लाभकारी हुन्छ । यदि कुकुरको अग्न्याशयी नलिकाबाट हामीलाई मधुमेहको अचुक ओखति इन्सुलिन प्राप्त हुन्छ भने गाईको जिउमाथि हात फेर्नाले उच्च रक्तचापमा लाभ हुन्छ ।
वर्तमानमा गाई, भैंसी, बाख्री, घोडा, बैल, खच्चर, गदहा, बाँदर, सुंगुर आदि घरपालुवा पशुभन्दा बढी घर–घरमा कुकुर पाल्नु मात्र स्टेट्स र स्टैन्डर्डको प्रतीक नभई, कुकुरको विशेषताले गर्दा प्रहरीको इन्टेलिजेन्स विभागमा पनि प्रवेश पाएको छ । आज कुकुर पुलिस इन्स्पेक्टर बनेर चोरहरूलाई समात्ने, हत्याको केस सल्टाउने र विस्फोटक तथा मादक पदार्थ खोज्ने काममा पनि सहायक साबित भइरहेको छ ।
मानव जीवनमा पशुको भागीदारीले प्राप्त सुखद परिणामले गर्दा नै विष्णु शर्मा र नारायण पण्डितले पशु आधारित शिक्षाप्रद कथा ‘पञ्चतन्त्र’ र ‘हितोपदेश’ को रचना गरेका छन् । यतिमात्र कहाँ हो र भारतीय कथाकार प्रेमचन्दले ‘कुत्ते की कहानी’, सीतारामको ‘शेरनी का प्रेम’, सर्वेश्वर दयाल सक्सेनाको ‘हाथी की पौं’लगायत थुप्रै कथाकारहरूले पशुपक्षीमाथि कैयन कथा लेखेका छन् । यसैगरी चित्रकार र मूर्तिकारहरूले पनि पाषाण युगदेखि हालसम्म पशुहरूको भागीदारीलाई चित्र र मूर्तिको रूपमा साकार गर्दै मानवीय उदारताको परिचय दिएका छन् ।
पशुहरूप्रति मानिसको यो आकर्षण आज पनि कम छैन । नेपालमा पनि पशुहरूको चित्र रुपियाँ, सिक्का र टिकटमा अङ्कित छ । यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने मनोवैज्ञानिकहरूले पनि शिशुहरूको समुचित विकासमा पशुहरूको भागीदारीलाई आवश्यक ठानेको छ । त्यहीं फिल्म निर्माताहरूले पनि ‘मोगलीको कथा’ जो कब स्काउट तालीमको आधार हो, लगायत मिक्की माउस, वाइल्ड एनिमल्स, हिन्दी फिल्म सफेद हाथी, तेरी मेहरबानियाँ, हाथी मेरे साथी जस्ता पशु आधारित र प्रेरणादायी चलचित्र निर्माण गरेर मानव जीवनमा पशुहरूको भागीदारीलाई रेखाङ्कित गर्ने प्रयास गरेका छन् । सँगसँगै केही विज्ञापनदाताहरूले पनि पशुहरूलाई ठाउँ दिन थालेका छन् ।
ज्योतिष विज्ञानको १२ राशिमध्ये ४ राशिहरू मेष, वृष, सिंह, मकर, विष्णुको अवतारमध्ये तीन अवतार कुर्म, बराह, नृसिंह र १८ पुराणमध्ये २ वटा पुराण कुर्म (कछुवा) र वराह (सुंगुर) पशुमा आधारित छन् । यसैगरी हिन्दू देवी–देउताहरूको वाहनको रूपमा मुसा, ऐरावत हात्ती, नन्दी, सिंह, भैंसा, उल्लु आदि, पैगम्बर मुहम्मदको साथमा उँटनी, ईसामसिहसँग भेडको बच्चा हुनुले पनि के सङ्केत गर्दछ भने चाहे यस लोकमा वा परलोकमा जनावरहरूको भागीदारीबाट कोही वञ्चित छैन । हुन पनि कसरी सक्छ ? किनभने तिहारमा कुकुर, काग, गोरु र गाईको पूजा गर्ने चलन हाम्रै समाजमा रहेको छ ।
आज पनि तराईका ग्रामीण क्षेत्रमा पशु मेलाको आयोजन गरिन्छ जुन पशु प्रेम र तिनको आवश्यकताको द्योतक हो । यस कारणले नै होला लोककथा, लोकगीत र लोकोत्सव र लोकचित्रमा पशुहरूको सहभागिता ध्वनित र चित्रित भएको वर्णन पाइन्छ । सँगसँगै लोकोक्ति, उखान–टुक्का र अलङ्कार आदिमा पनि प्रस्ट सुन्न पाइन्छ । यसबाहेक चिकित्सा र अनुसन्धानको क्षेत्रमा पनि पशुहरूलाई प्रयोग र परीक्षणको माध्यम बनाइन्छ ।
नेपालमा पशुलाई पशुधन पनि भनिएको छ । जोसँग जति धेरै पशुधन हुन्छ ऊ त्यतिकै समृद्धशाली मानिन्छ । यस अर्थमा प्राचीन कालमा पशु सुदृढ आर्थिक व्यवस्थाको आधार र मापदण्ड थियो । राजासँग गाईबाहेक हात्ती, घोडा पनि हुन्थे जो शक्ति र समृद्धिको सूचक थियो । तर आजको आर्थिक युगमा प्रतिबन्धित पशुहरूको मासुको अवैध बिक्रीले धनको लोभलाई बढाएको छ ।
पर्यावरणीय प्रदूषण रोक्न पशुहरूको भागीदारीबारे शायद हामीलाई थाहा नै छैन । सडेगलेको तरकारी, फल, खाद्यान्न आदि जसलाई हामी यत्रतत्र सर्वत्र फाल्ने गर्छौं, त्यो यदि जनावरहरूले नखाइदिने भए कति फोहर र त्यसबाट निस्कने दुर्गन्धले वायु कति दूषित हुन्थ्यो, कल्पनै गर्न सकिंदैन । अन्धविश्वासका कारण नदीमा प्रवाहित गरिने लाशलाई यदि मगरमच्छ, कछुवा वा अन्य जीवजन्तुले नखाने हो भने त्यो जल प्रयोग लायक पनि हुँदैन ।
एकातिर जहाँ गोबरले घर लिप्ने र गोइँठा जलाउनाले कीराहरू नष्ट हुन्छन् त्यहीं गोबर ग्याँस जलाउनाले इन्धनको समस्या हल हुनुका साथै वायु पनि शुद्ध रहन्छ । खाद्य शृङ्खला जीवजन्तु र पर्यावरणबीच सन्तुलन राख्न सहायक हुन्छ । सिंह र बाघले आफ्नो शिकारको मात्र ७० प्रतिशत खान्छन् र शेष स्याल, ब्वाँसा आदिले खाएर पर्यावरणलाई दूषित हुनबाट जोगाउँछन् । सुप्रसिद्ध शिकारी जिम कार्बेटले आफ्नो पुस्तकमा बाघलाई पर्यावरणको सबैभन्दा ठूलो संरक्षक भनेका छन् । यस कारण हामी सबैले पशुहरूको सुरक्षा गर्नुपर्छ ।
यस आलेखद्वारा भन्न के खोजिएको हो भने यदि पशुपक्षी हुँदैनन् भने दुनियाँ नीरस हुन्छ र तीबेगर मानव अस्तित्वको कल्पना पनि गर्न सकिंदैन । जनावरबेगर डेयरी उद्योग, छाला उद्योग, सिङबाट बन्ने वाद्ययन्त्र, शोपीस आदिको कल्पना गर्न सकिंदैन । यस कारण WWF ले सन् १९८६ मा सिसिलीमा आफ्नो रजत जयन्ती समारोहमा विश्वसँग आफ्नो जीवन सहयोगीलाई बचाउने अपील गरेको थियो ।
यसको लागि उसले करीब १५० देशमा ४००० भन्दा बढी परियोजना थालेको छ जसमा ‘प्रोजेक्ट टाइगर’ले अपूर्व सफलता हासिल गरेको छ । विश्वसँगै नेपाल सरकार पनि वन्य जीव संरक्षणप्रति जागरूक र प्रयत्नशील रहेको छ । विश्वमा प्रतिवर्ष ‘वन्यप्राणी संरक्षण सप्ताह’ पनि मनाइन्छ तर परिणाम सन्तोषजनक रहेको छैन ।
मनोचिकित्सक जेम्स लिंच र एरन कैचरका अनुसार घरपालुवा जनावरसँग बस्दा मानसिक तनाव र रक्तचापबाट छुटकारा पाइन्छ । हृदयघात भएका रोगीहरूलाई पनि घरपालुवा जनावरबाट लाभ प्राप्त हुने गरेको छ । अहङ्कार र रिसको आवेगमा के हामीले मानिसलाई ‘किन पशुजस्तो व्यवहार गरेको, तिमी त गदहा हौ’ जस्ता कुरा गरेर पशुहरूको अपमान गरिराखेका हुन्छौं । भारतीय कवि मैथिलीशरण गुप्तले सही लेखेका छन्–“मैं मनुष्यता को सुरत्व की सीढी भी कह सकता हूँ/किन्तु पतित को पशु कहना भी नहीं सह सकता हूँ ।”
न्यायको कुरो त के हो भने हामी जसलाई जे मन लाग्छ भनौं तर त्यस भनाइमा निरीह पशुलाई सामेल गर्नु कदापि उचित होइन । यदि हामी यसो गर्न सक्दैनौं भने स्वयंसँग के प्रश्न गरौं भने के हामीले पशुबारे ‘जिन्दा हाथी लाख का, मरा सवा लाख का’ भन्ने लोकोक्तिको मर्म गम्भीरतापूर्वक बुझ्ने प्रयास गरेका छौं ? होइन भने धन्य छन् कवि दयाराम जसले, मरेर पनि मानव जीवनमा भागीदार हुने, पशुहरूबारे लेखेका छन्–“भैंसन की खाल के जूता बने भाँति–भाँति/छेरी की खाल कछु जल भर लाई है/गेंडे की खाल को ओढत सिपाही लोग/मृगन की खाल तपस्विन मन भायी है/ और मानव…..” तर आफूलाई सर्वश्रेष्ठ ठान्ने मानिसको छाला कुनै काम लाग्दैन । कविले भनेका छन्–“कहे कवि ‘दयाराम’ राम के भजन बिन/मानुस की खाल काहू काम में न आई है ।”