प्रस, वीरगंज, ९ पुस/
वीरगंज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख मनीषकुमार साहले ८० प्रतिशत काम सम्पन्न भएको बताएका छन् । उनले चैत मसान्तसम्म समयावधि रहेको छ लेन सडकको काम अबको समयमा तोकिएकै बेला सम्पन्न हुने बताए ।
योजना प्रमुख साहले जीतपुर बजार क्षेत्रको काम अन्य १२ वटा साइटभन्दा ढिला भएको र अहिले ५५ प्रतिशत काम सम्पन्न भइसकेको बताए । उनले साइट क्लियरको लागि जीतपुर क्षेत्रको काममा पछिल्लो समयमा ढिलो भए पनि अहिले सबैभन्दा द्रुत गतिमा यही साइटको काम भइरहेको जानकारी गराए ।
वीरगंज–पथलैया व्यापारिक मार्गमा अहिले कालोपत्रको काम मात्र बाँकी रहेको योजना प्रमुख साहले बताए । पुल, नालालगायतका काम सम्पन्न भइसकेका छन् र कालोपत्रको काम द्रुत गतिमा भइरहेको उनले बताए ।
आयोजना कार्यालयले जनाए अनुसार आइसिपीदेखि पथलैयासम्म ३०.६८ किलोमिटर छ लेन सडक निर्माण भइरहेको छ । सो सडकको चौडाइ ५० मिटर रहेको छ । आइसिपीदेखि पथलैयासम्म १३ वटा ठेकेदार कम्पनीले ठेक्का सकार गरेका छन् ।
परवानीपुरदेखि गण्डकसम्म अमर/पप्पु जेभीले ५४ प्रतिशत, गण्डकदेखि हरपतगंजसम्म श्रेष्ठ/बिरुवा जेभीले ८० प्रतिशत, हरपतगंजदेखि ड्राइपोर्टसम्म पप्पु/लुम्बिनी जेभीले ५० प्रतिशत, पथलैया चोकदेखि सूर्य नेपालसम्म अमर/कन्ट्याक्ट जेभीले ५१ प्रतिशत, सूर्य नेपालदेखि सेनाको क्याम्पसम्म शर्मा/युनाइटेड बिल्डर/दिवा निर्माण जेभीले ४१ प्रतिशत, सेनाको क्याम्पदेखि परवानीपुरसम्म अमर/ कन्ट्याक्ट जेभीले ७७ प्रतिशत, परवानीपुरदेखि गण्डकसम्म दिवा/सपना जेभीले ८१ प्रतिशत, लालका पुलदेखि जीतपुरबजारसम्म इलाइट/सब्बा जेभीले ७९ प्रतिशत, श्रीसिया खोलादेखि परवानीपुरसम्म लुम्बिनी/मृत सञ्जीवनीले ७६ प्रतिशत, श्रीसिया खोलादेखि परवानीपुर सडकखण्डमा लुम्बिनी/मृत सञ्जीवनीले ७६ प्रतिशत, गण्डक चोकदेखि परवानीपुरसम्म कन्ट्याक्ट/लुम्बिनी जेभीले ५३ प्रतिशत, ड्राइपोर्टदेखि आइसिपीसम्म रमन/महावीर जेभीले ९० प्रतिशत, गण्डक नहरदेखि केडिया आँखा अस्पतालसम्म सपना/निर्माण जेभीले ५६ प्रतिशत काम गरिसकेका छन् ।
वीरगंजको मुख्य सडक मरम्मत हुने
वीरगंज–पथलैया व्यापारिक मार्ग योजना अन्तर्गत वीरगंज क्षेत्रको मुख्य सडकको मरम्मत कार्य हुने भएको छ । ५० मिटर सडक चौडा बनाउने अभियान अदालतमा विचाराधीन रहेकोले केही वर्षदेखि वीरगंजको मुख्य सडकको मरम्मत हुन सकेको थिएन ।
सडक विभागले यो आवमा मुख्य सडकको पनि मरम्मत गर्ने योजना प्रमुख साहले बताए । उनले सडक विभागले मुख्य सडकको मरम्मतको लागि अढाई करोड बजेट विनियोजन गरेको र सो प्रयोजनको लागि पुस ५ गते टेन्डर पनि आह्वान भइसकेको बताए । तीनवटा प्याकेजमध्ये एउटा जीतपुरको मन्दिर र दुईवटा वीरगंजको मुख्य सडक रहेको उनले बताएका छन् ।
वीरगंज–रक्सौल मितेरीपुलदेखि रजतजयन्ती चोकसम्म पहिलो प्याकेज र रजतजयन्ती चोकदेखि पावरहाउस चोकसम्म दोस्रो प्याकेजअन्तर्गत मरम्मत गरिने उनले बताए । मितेरी पुल मरम्मत नहुँदा ठूलो खाल्डाखुल्डी परेको र भन्सारदेखि रजतजयन्ती चोकसम्मको सडक पनि मरम्मत सम्भारको अभावमा खाल्डाखुल्डी परेको छ ।
यसैगरी, रजतजयन्तीदेखि पावरहाउसम्म मुख्य सडक तीन–चार वर्षदेखि मरम्मत नहुँदा ठाउँठाउँमा खाल्डाखुल्डी परेका छन् । वीरगंजको मुख्य सडक मरम्मतको लागि यसअघिका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले पहल शुरू गरेका थिए भने हाल बहालवाला प्रजिअ उमेशकुमार ढकालको पहलमा मरम्मतको लागि टेन्डर आह्वान भएको हो ।
प्रजिअ ढकालले यसअघि छ लेन सडक निर्माणको लागि तदारूकता देखाउनुका साथै वीरगंजको मुख्य सडक मरम्मतका लागि सडक विभागलाई पहल गर्न दबाब दिएका थिए । योजना प्रमुख साहले आगामी असारसम्म काम सम्पन्न हुने गरी काम शुरू हुने प्रतीकलाई बताए ।