• राजेश मिश्र

‘बिछावना बडी महकता हो’ अर्थात् ओछ्यान बडो गन्हाइरहेको छ भन्दै पतिले पत्नीसँग गुनासो पोखिरहेका थिए । पत्नीले प्रतिउत्तरमा भनिन्, “अब का करेम त, जाड के मारे लइका पैखाना/पेशाब कर देले बा’ अर्थात् अब के गर्नुहुन्छ त, चीसो लागेर बच्चाले दिसा/पिसाब गरिदियो । मस्त निद्रामा सुतिरहेका बेला बालकर्तुतको दुर्गन्ध, जब नाकले सहन सक्दैन, तब निद्रा नखुल्ने कुरै हुँदैन ।

स्मरण गरियो भने उपरोक्त संवादका पात्रहरूमध्ये बच्चा वा अभिभावकको रूपमा पात्र आफैंभित्र भेटिन्छ । जाडोयामको बाल्यकालीन कारनामा याद गर्ने प्रयास गरियो भने मुहारमा मुस्कान नआउने कुरै हुँदैन । उहिले प्रायःजसो फुस र खपडाको घर भएकाले हावा र हुस्सुको प्रवेश पूर्णतः निषेध गर्नु असम्भव थियो । जाडो लाग्थ्यो र बच्चाहरू ओछ्यानमैं मलमूत्र विसर्जन गर्न भ्याउँथे ।

पुस जाडोयामको मध्य महीना हो । खरमास महीना भएकोले वैवाहिक, धार्मिक र सांस्कृतिक उत्सवहरू अपवादबाहेक ठप्प रहन्छ । कृषि कार्यबाहेक आम जनजीवन प्रायःजसो फुर्सतिलो नै पाइन्छ । पुस महीनामा बाक्लो हुस्सुसँगै कठ्याङ्ग्रिदो चीसो हुने भएकोले जीउ जोगाउनु धेरै चुनौतीपूर्ण हुन्छ । जाडोयाममा शहरभन्दा गाउँको माहोल रातिको ८ नबज्दै सुनसान हुन्छ ।

उहिलेको कुरा गर्ने हो भने ग्रामीण क्षेत्रमा बिजुलीबत्तीको नामोनिशान थिएन । मटीतेलबाट बल्ने बत्ती नै उज्यालो प्रदान गर्ने प्रमुख स्रोत थियो । जनघनत्व, सवारीसाधनको चाप र व्यावसायिक कारोबार पनि आजको जस्तो थिएन । कृषि कर्म नै प्रमुख थियो । धानकोे ‘दवनी’ (दाइँ) केवल गोरुमा निर्भर थियो । मङ्सिरदेखि माघसम्म धानको दाइँ हुन्थ्यो । शीतलहरको प्रकोपबाट बच्ने र बचाउने संसाधन स्थानीय स्रोत र साधनबाट पूर्ति गर्नुको विकल्प थिएन ।

शरीरलाई न्यानो पार्नका लागि बूढापाखाहरू कुर्ताका कयौं परत शरीरमा चढाउँथे । बच्चाहरू गाती, वयस्कजन कम्बल र महिलाहरू चादरले शरीर ढाक्थे । पशुहरूका लागि तरई वा जुटको बोरा जाडो छल्ने संसाधन थियो । ‘पुवरा’ (पराल) पशुका लागि आहार र ‘नियारी’ (धानको डाँठ) घर छाउने संसाधनका साथै जाडो छल्ने जुगाड पनि हो । महिलाहरूको दिनचर्या भान्साबाहेक तरई बुन्ने र गुदरा सिउने कार्यमा व्यस्त हुन्थ्यो । ऊनको सहजता बढेपछि सुइटर बुन्ने कार्यप्रति पनि महिलाहरूको आकर्षण आबद्ध भयो । उहिलेको त्यो आवश्यक व्यस्तता अपवादबाहेक अहिले देखिंदैन ।

नियारीले निर्मित संसाधनलाई ‘तरई’ तथा ‘गोन’ले निर्मित संसाधनलाई ‘गोनर’ भनिन्छ । यी दुवै संसाधन बिछ्याउन वा ओढ्ने काममा प्रयोग गरिन्थ्यो । उहिले धनी र गरीब सबैका लागि उपयोगी परालको ओछ्यान र तरई नै जाडो छल्ने सर्वोत्तम उपक्रम थियो । पुर्खाहरूले परालको ओछ्यानमा तरई ओढेर जाडोयाम कटाउँथे । धेरैपछि शहरमा सिरकको विस्तार देहातमा पनि हुन थाल्यो । त्यसपछि छोराछोरीको बिहेमा चौकी, गुदरा र तरईको सट्टा क्रमशः पलङ्ग, सिरक, कुर्सी आदि माग्ने/दिने प्रचलन बढ्दै गयो । उहिले कात्तिक र मङ्सिरमा ‘गौना’ हुन्थ्यो। गौनाको बेला डोलीमा रुँदै गइरहेकी दुलही र सनेससँगै पलङ्ग, कुर्सी, सिरक आदि बयलगाडामा लादिएको दृश्य आम थियोे ।

जाडोयाममा नवदम्पतीको वैवाहिक जीवन नयाँ ओछ्यानसँगै शुरू भए तापनि परिवारका अन्य सदस्यका लागि परालको ओछ्यान नै विकल्प थियो । दुलहीसँगै आधुनिक ओछ्यानको रूपमा सिरक भित्रिने क्रमसँगै परालको ओछ्यान र चटाई बूढापाकाहरूमा सीमित हुन थाल्यो । कैयौं पुस्तापछि अहिले परालको ओछ्यान अपवादबाहेक बिदा भइसकेको अवस्था छ । वर्तमान परिप्रेक्ष्यमा जाडोयाममा प्रयोग गर्ने विविध आधुनिक संसाधन उपलब्ध छन् । यद्यपि शासन व्यवस्था जतिपटक परिवर्तन भए तापनि देहातमा अहिले पनि बहुतायत विपन्न परिवार छन्, जो पराल र चटाईको न्यानोमा आश्रित छन् । आज जाडो छल्ने संसाधन कसैसँग फालाफाल छ त कोही जाडो सहन नसकेर मृत्युवरण गर्न बाध्य छन् ।

उहिले कठ्याङ्ग्रिदो जाडोमा कुर्ता, घुँडासम्म धोती र खाली खुट्टामैं खेत र खलियानको चक्कर काट्नु देहातीजनको दैनिकी थियो । कृषिमा समर्पित देहातीजनसँग शरीर ढाक्ने संसाधन बढीमा एउटा ओढ्ने चादर वा कम्बल हुन्थ्यो । उतिबेला ‘भेडीयही कम्बल’ अर्थात् भेंडाको रौंबाट निर्मित कम्बल असाध्यै प्रचलित थियो । उक्त कम्बल खरीद गर्नु सबैको आर्थिक क्षमताभित्र थिएन । अपवादबाहेक सुत्ने संसाधनमा काठको खाट मात्र उपलब्ध थियो ।

पलङ्ग त साहु महाजनबाहेक सामान्य परिवारको लागि दुर्लभ वस्तु नै थियो । यद्यपि सुत्ने र ओढ्ने चाँजोपाँजो मिलाउने सवालमा पुर्खाहरू अत्यन्तै विवेकशील थिए । जुटको बोराले आवश्यकता अनुसारको आकारमा खोल तयार पारिन्थ्यो । त्यसैभित्र मनग्ये पराल ठुसेर झन्डै एक फिट वा सोभन्दा मोटो परालको ओछ्यान बनाइन्थ्यो । उक्त परालको गद्दा खाटमा त राखिन्थ्यो नै बढी मानिस अट्ने भएकाले खासगरी ओछ्यान भुइँमा राखिन्थ्यो । सोमाथि ‘नियारी’ले निर्मित ‘चटाई’ र ‘गुदरा’ (पुरानो सारी र धोतीको कैयौं तह सिलाएको) हुन्थ्यो । उपलब्धताको आधारमा गुदरामाथि पनि सारी वा मरदानीकै तन्ना ओछयानको अन्तिम सुन्दरता थियो ।

उहिले जाडोयाममा सबैभन्दा कठिन परिस्थिति त्यति बेला उत्पन्न हुन्थ्यो, जब घरमा पाहुनाहरूको आगमन हुन्थ्यो । खाने र सुत्नेभन्दा पनि ओढ्ने संसाधनको व्यवस्था गर्नु सबैभन्दा तनावपूर्ण काम थियो । किनभने ओढ्ने संसाधन सबैको आआफ्नो परिवारमैं जसोतसो पुग्ने अवस्था थियो । पाहुना आएका बेला ओढ्ने संसाधन छिमेकीहरूबाट सहयोग नलिई साध्य थिएन । छिमेकीको घरमा पनि पाहुना आएका रहेछन् वा बढी छैन भने आफैसँग उपलब्ध साधनस्रोत नै अन्तिम विकल्प हुन्थ्यो । सीमित संसाधनले अधिकतम लाभ लिने प्रक्रियामा पुर्खाहरू अब्बल थिए ।

सर्वप्रथम पाहुनाहरूका लागि छुट्याइन्थ्यो । त्यसपछि घरका सबै पुरुष एक कोठामा तथा महिलाहरू अर्को कोठामा सुत्ने प्रबन्ध मिलाइन्थ्यो । सिरक छोटो भएमा कहिलेकाहीं मनोरञ्जनयुक्त वातावरण पनि बन्दो रहेछ । जाग्राम अवस्थामा रहँदासम्म सिरक सबैजनालाई पुग्छ । गहिरो निद्रा लागेपछि अचेत मुद्रामा सिरक आफूतिर तान्ने होड शुरू हुन्थ्यो ।

ओछ्यानको किनारामा सुत्ने व्यक्तिलाई जब चीसो लाग्थ्यो, तब ऊ अचेत अवस्थामा सिरक आफूतिर तान्थ्यो । अर्कोतर्फको किनारामा सुत्ने व्यक्ति उघारै हुन्थ्यो र चीसो लाग्न थालेपछि सिरक पुनः आफूतिर तान्थ्यो । यसरी सिरक तानातानको सिलसिला धेरैबेरसम्म चल्थ्यो र अन्ततोगत्वा निद्रा भङ्ग हुन्थ्यो । त्यसपछि उज्यालो नहुन्जेलसम्म हाँसो र ठट्टा चलिरहन्थ्यो ।

हाम्रा पुर्खाहरूले चीसोबाट बच्नका लागि फुस र खपडा जस्तो घरमा न्यानो प्रदान गर्ने त्यो परालको ओछ्यानको बखान गरेर साध्य छैन । घरको कुनामा ओछ्यान राख्ने हुनाले दुईतिर टाटी भई नै हाल्छ । त्यसपछि खाटलाई हावा, हुस्सु र चीसो पस्ने सम्भावित दिशामा ठाडो पारेर अड्याइन्थ्यो । यसरी ओछ्यानको तीनतिरबाट छेकबार हुन्थ्यो । एक यस्तो ठाउँको बन्दोबस्त गरिन्थ्यो, जहाँ जाडो छल्न सकियोस् । शीतलहरबाट जोगिंदै सुरक्षित, सहज र तनावमुक्त विश्रामका साथै पर्याप्त निद्रा प्राप्त गर्न सकियोस् ।

वास्तवमा सन्तुष्टिपरक उक्त ओछ्यानमा प्राकृतिक अपनत्व अनुभूति हुन्थ्यो । दिनभरि शारीरिक परिश्रम गर्ने उहिलेका मानिसहरू जति संसाधन उपलब्ध थियो, त्यसैमा आत्मसन्तुष्टिका साथ गहिरो र पर्याप्त निद्रा प्राप्त गर्दथे । भारतको रेलवे स्टेशनहरूमा नियारीले निर्मित चटाई भाडामा पाइन्थ्यो । सीमापारि रक्सौलको नै कुरा गर्ने हो भने दुईवटा चटाई भाडामा लिनुपथ्र्यो । एउटा बिछ्याएर सुत्ने र अर्को ओढ्ने गरिन्थ्यो ।

कहिल्यै बिर्सन नसकिने त्यो क्षण उहिलेका पुस्ताको स्मरणमा अहिले पनि ताजै होला । आज विविध संसाधनका बावजूद अपवादबाहेक गहिरो निद्रा कि त छैन, यदि छ भने औषधिमा आधारित छ । उहिले परालको ओछ्यान र चटाईमा निर्भर त्यो जाडोयाम आज हिटरलगायतका विविध संसाधन उपभोग गरिरहेका पुस्तालाई आश्चर्यजनक लाग्न सक्छ । आफ्नै पूर्वजको विगत एकादेशको कथाझैं लाग्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here