प्रस, वीरगंज, ९ पुस/

पर्सा जिल्लामा ७५ जना तेस्रोलिङ्गीमा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । सन् २०२१ जनवरीदेखि हाल डिसेम्बरसम्म ३८० जनाको परीक्षण गर्दा ७५ जना सङ्क्रमित पुष्टि भएको सहयात्री समाज नेपाल, पर्साका संयोजक सुरज लिम्बुले बताए ।

आज शुक्रवार समन्वय बैठकमा उनले सहयात्री समाजबाट गरिएको परीक्षणमा ६२ जना र अस्पतालले गरेको परीक्षणमा १३ जना गरी ७५ जना तेस्रोलिङ्गी सङ्क्रमित देखिएको बताए। समन्वय बैठकमा उनले एचआइभीको क्षेत्रमा विभिन्न दातृ संस्थाको सहयोगबाट निर्देशित काम गर्दै आएको जानकारी गराए ।

बैठकमा संयोजक लिम्बुले पर्सा जिल्लामा विभिन्न स्थानबाट स्थानान्तरण भई आएकासमेत जोड्दा ३० हजारजना तेस्रोलिङ्गी/समलिङ्गी रहेको दाबी गरे । उनले यसको यकीन तथ्याङ्क नभए पनि ३० हजारको हाराहारीमा तेस्रोलिङ्गी/समलिङ्गी रहेको अनुमान गरिएको बताए । सहयात्री समाजले तेस्रोलिङ्गीहरूलाई रोजगारको लागि ब्युटिसियनलगायतका तालीम दिंदै आएको तर त्यसमा आशाप्रदरूपमा परिवर्तन नभएको बताए । पर्सा जिल्लामा रहेका तेस्रोलिङ्गी/समलिङ्गीहरूको मुख्य पेशा अहिले पनि नाचगान नै भएको उनले बताए ।

बैठकमा पछिल्लो चरणमा पर्सा जिल्लाका तेस्रोलिङ्गी/समलिङ्गीहरू खेतबारीमा काम गर्ने, घर बनाउने कार्यमा संलग्न रहने, नाचगान गर्नेबाहेक यौनजन्य कार्यमा पनि बढी आकर्षित भएको र उनीहरूको संलग्नता बढेसँगै विकृति पनि बढेको सहभागीहरूले ध्यानाकर्षण गराएका थिए । तेस्रोलिङ्गीहरूको कारण वीरगंज महानगरका विभिन्न क्षेत्रमा यौनजन्य कार्य बढेको र लूटपाटका घटनामा वृद्धि भएको भन्दै सोको व्यवस्थापन गर्न सहयात्री समाजको ध्यानाकर्षण गराइएको थियो ।

कार्यक्रम संयोजक लिम्बुले स्रोत, साधनले भ्याएसम्म सचेतना अभियान गरिएको तर उपलब्धि हासिल हुन नसकेको स्वीकारे । उनले विभिन्न कारणबाट यौनजन्य कार्यमा संलग्नता बढेको र यसलाई नियन्त्रण गर्न नसकिएको बताए । उनले भने– सबैको स्वभाव परिवर्तन गर्न सम्भव छैन र अधिकतम प्रयासका बावजूद पनि यौन व्यापारबाट अलग्याउन सकेका छैनौं । यसका लागि महानगरलगायत पालिकाहरूको सहकार्य हुनुपर्नेमा उनले जोड दिए ।

संयोजक लिम्बुले महानगरसमेत पर्सा जिल्लाको कुनै पनि पालिकाले तेस्रोलिङ्गी/समलिङ्गीको हकहितका लागि बजेट विनियोजन नगरेको र उनीहरूको व्यावसायिक परिवर्तनमा गैरजिम्मेवार भएको आरोप लगाए ।

जनगणनामा भेदभाव

हालै सम्पन्न राष्ट्रिय जनगणनामा तेस्रोलिङ्गी/समलिङ्गीहरूसँग भेदभाव गरिएको संयोजक लिम्बुले आरोप लगाए । उनले लिङ्गको हकमा अन्य लेखेको ठाउँमा गणकहरूले नेटुवा, छक्का आदि शब्द उच्चारण गरेर होच्याउने काम गरेको बताए ।

यसैगरी, कतिपयले परिवारका सदस्यहरूका कारण अन्यमा लेखाउन नसकेको बताए । परिवारका सदस्यहरूले नै सबैको विवरण उपलब्ध गराएका कारण सोही अनुरूप गणकहरूले सूची तयार गरेको उनको भनाइ छ । यही कारण राष्ट्रिय जनगणनामा तेस्रोलिङ्गी/समलिङ्गीहरूको वास्तविक विवरण आउन सक्ने कुरामा उनले शङ्का जाहेर गरे ।

समन्वय बैठकमा नेपाल रेडक्रस सोसाइटी, पर्साका दयाशङ्कर सिंह, उदयराज शर्मा, पत्रकार शत्रुघ्न नेपाल, सानो पाइलाकी स्वीटी चौधरी, विजामकी उषाकिरण चौधरी, नारायणी अस्पतालकी सरिता श्रेष्ठलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here