प्रस, वीरगंज, ९ पुस/
जिल्ला प्रशासन कार्यालय, पर्साले बिहीवारदेखि विद्युतीय राहदानी (इलेक्ट्रोनिक पासपोर्ट)को लागि आवेदन लिन शुरू गरेको छ । मेशिन रिडेबल पासपोर्ट (एमआरपी)भन्दा विश्वसनीय रहेको ई–पासपोर्टबाट यात्रा विनाझन्झट सम्पन्न हुने बताइएको छ ।
सो पासपोर्टधारी लाइनमा बस्नुपर्ने झमेलाबाट समेत मुक्त हुने बताइएको छ । एमआरपी जस्तै देखिने ई–पासपोर्टमा विद्युतीय चिप जडान गरिएको हुन्छ । पासपोर्टमा खाली पाना मात्रा हुन्छन् । म्याद समाप्त भएमा चिपलाई मात्र फेरे पुग्ने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।
उनले नेपाल सरकारले पहिलो चरणमा उपत्यकाबाहिर मकवानपुर, कास्की र पर्सामा ३४ पानासहितको ई–पासपोर्ट जारी गरेको बताए । यसभन्दा अघि पासपोर्ट बनाउन फाराम भर्नुपर्ने, ४५ दिनसम्म कुर्नुपर्ने तथा फाराम अस्वीकृत हुँदा झनै समस्या हुने गरेकामा अहिले घरमैं बसेर अनलाइन फाराम भर्न सकिने, राजस्व तिरेर ई–पासपोर्टको प्रक्रिया पूरा गर्न सकिने उनले बताए ।
ई–पासपोर्ट लिएका व्यक्ति अध्यागमन तथा बोर्डिड्ढो लागि पास लिन लाइनमा बस्नु नपर्ने, चेकजाँचमा झमेला नहुने भएकोले यात्रा सुखमय हुने पासपोर्ट शाखाका प्राविधिक मन्दीप यादवले बताए ।
फाराम भर्न नसक्ने सेवाग्राहीलाई कार्यालयले फाराम भर्ने व्यवस्था मिलाएको उनले बताए ।
फाराम भरेपछि उनीहरूको मोबाइलमा कन्फर्मेशन नोटिस आउने प्राविधिक यादवले बताए । सेवाग्राहीले विद्युतीय राहदानीको आवेदनका लागि frtds.nepalpassport.gov.np मार्फत अनलाइन फाराम भरी जिप्रकामा उपस्थित भई आवश्यक प्रक्रिया पूरा गरेपश्चात् केही सातापछि जिप्रकामार्फत विद्युतीय राहदानी पाउन सकिने प्राविधिक यादवले बताए ।