प्रस, महोत्तरी, ८ पुस/
महोत्तरीमा एकै दिन नौ हजार बालबालिकाले कोभिड–१९ विरुद्धको मोडर्ना खोप लगाएका छन् । बुधवार शुरू भएको खोप अभियानको पहिलो दिन नै नौ हजार १४२ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीले जनाएको छ ।
महोत्तरीका ४६ वटा खोप केन्दद्रबाट चार हजार ३०० बालक र चार हजार ८४२ बालिकाले बुधवार मोडर्ना खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका खोप अधिकृत लक्ष्मेश्वर झाले जानकारी दिए ।
जिल्लाको स्वास्थ्य टोली खोप लिएर महोत्तरीका विभिन्न विद्यालयमैं पुगेर खोप अभियान सञ्चालन गरिरहेको छ । नियमित खोप सञ्चालन गरिने केन्द्रहरूमा जान बालाबालिकालाई समस्या हुने भएकाले विद्यालयमैं गएर खोप लगाएको स्वास्थ्यकर्मीले बताएका छन् ।
जिल्लाको बर्दिवास नगरपालिकाभित्रका विभिन्न सामुदायिक र निजी विद्यालयमा मात्रै दुई हजार ७२८ बालबालिकाले खोप लगाएको स्वास्थ्यकर्मी रामबाबू यादवले बताए । हाल जिल्लाको उत्तरी क्षेत्रका बर्दिवास, गौशाला, भङ्गाहा, रामगोपालपुर, औरही नगरपालिका र सम्सी सोनामा गाउँपालिकामा खोप अभियान चलिरहेको छ ।
११ गतेसम्म यी पालिकामा खोप अभियान चल्ने र १४ गतेदेखि जिल्लाका अन्य पालिका जलेश्वर, लोहारपट्टी, मनरासिसवा, मटिहानी, बलवा, पिपरा, महोत्तरी र एकडारामा १८ गतेसम्म खोप अभियान सञ्चालन गरिने खोप अधिकृत झाले जानाकारी दिएका छन् ।
१२ देखि १७ वर्षसम्मका बालबालिकाले यो खोप लगाइरहेका छन् । जिल्लामा ८५ हजार दुई सय खोप उपलब्ध रहेको र अरू १२ हजार खोप अपुग हुने देखिएको खोप अधिकृत झाले बताए । बिहीवार पनि महोत्तरीका ४६ वटै खोप केन्द्रबाट खोप अभियान चलिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।