वाशिङ्टन, ८ पुस/एएनआई
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विदेश मामिलाका लागि युरोपेली सङ्घका उच्च प्रतिनिधि जोसेप बोरेलसँग टेलिफोन वार्ता गर्दै लिथुनियाविरुद्ध चीनको बढ्दो राजनीतिक र आर्थिक दबाबबारे साझा चिन्ता व्यक्त गरेका छन् ।
विज्ञप्ति जारी गर्दै अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले ब्लिन्केन र बोरेलले चीनको जबरजस्ती व्यवहारको सामना गर्दै लिथुआनियासँग इयू र अमेरिकाको निरन्तर ऐक्यबद्धतालाई जोड दिएको जनाएका छन् । सो अवसरमा ब्लिन्केन र बोरेलले संयुक्त राज्य अमेरिका–इयू साझेदारीलाई सुदृढ गर्न र साझा चुनौतीहरूको सामना गर्न सँगै काम गर्ने आफ्नो निरन्तर प्रतिबद्धता पुष्टि गरेका छन् ।
उनीहरूले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई समर्थन गर्न समन्वयात्मक कार्यको आवश्यकतामा जोड दिंदै युक्रेनविरुद्ध कुनै पनि रूसी सैन्य आक्रमण भएमा रूसी सङ्घले ठूलो मूल्य चुकाउनुपर्ने कुरामा जोड दिइएको छ ।
लिथुआनियाविरुद्ध जनवादी गणतन्त्र चीनको कदमले अमेरिका र युरोपेली कम्पनीहरूलाई असर गरिरहेको छ । उनीहरूले चीनको जबरजस्ती व्यवहारको सामना गर्दै लिथुआनियासँग निरन्तर ऐक्यबद्धतालाई जोड दिंदै आर्थिक पक्षलाई बलियो बनाउन सँगै काम गर्न पनि प्रतिबद्धता व्यक्त गरेका छन्, प्रवक्ताले भने ।
लिथुआनिया र चीनबीच विवाद यस वर्षको शुरूमा लिथुआनिया पूर्वी युरोपको ‘१७ं१’ ब्लकबाट बाहिरिएपछि भएको हो । त्यसपछि लिथुआनियाले ताइवानसँग कूटनीतिक सम्बन्ध बढाएको थियो र ताइवानको प्रतिनिधि कार्यालयलाई अनुमति दिने एकमात्र युरोपेली देश बन्यो ।
फलस्वरूप गत अगस्तमा चीनले भिल्नियसबाट आफ्नो राजदूत फिर्ता बोलायो । त्यस लगत्तै प्रतिक्रियास्वरूप लिथुआनियाले पनि सेप्टेम्बरमा सोही कदम चाल्यो । रासस