कुनै पनि समाज परिवर्तनको लागि युवाको भूमिका महŒवपूर्ण हुन्छ । त्यसैले युवाशक्तिलाई समाज परिवर्तनको संवाहक पनि भनिन्छ । समाज परिवर्तनका पक्षहरू धेरै छन् । राजनीतिक परिवर्तनले मात्रै समाज परिवर्तन हुँदैन । सामाजिक, आर्थिक, सांस्कृतिक परिवर्तन अपरिहार्य छ । यसका निम्ति सबैभन्दा पहिले त्यहाँका युवाको चेतनास्तरमा परिवर्तन गर्दै उनीहरूलाई अवसर दिनु जरुरी छ । मुलुकको राजनीतिमा युवाशक्ति ‘चाहिंदाको भाँडो नचाहिंदाको ठाँडा’ भने जस्तो भएको छ । हाम्रो मुलुकमा जति पनि राजनीतिक परिवर्तनहरू भएका छन्, त्यसमा युवाको भूमिका मुख्य छ । युवावस्थाका विद्यार्थी पनि युवा नै हुन् । समाजका हरेक वर्ग, तह, तप्काले युवा पुस्तालाई भरोसा गरेका हुन्छन् । यसर्थ परिवर्तनसँगै त्यसको कार्यान्वयन तथा निगरानीमा पनि युवालाई महŒवपूर्ण भूमिका दिइनुपर्छ ।
मुलुकको राजनीतिक परिवर्तनमा युवाको भूमिका जति नै महŒवपूर्ण रहेको भए तापनि व्यवस्था परिवर्तनपछि भने दबाबकारी भूमिकाबाट पछाडि पार्ने गरिएकोे छ । राजनीतिक दलमा सक्रिय युवाहरूसमेत जति नै लोकप्रिय भएपनि उनीहरूले उचित स्थान पाउँदैनन् । युवा उमेरमा जुन जोश, जाँगर, विचार र योजनाहरू हुन्छन्, प्रौढ अवस्थाले छोप्दै गएपछि क्रमशः क्षीण हुँदै जाने हो । हामीसँग करीब सात दशकको अवधिमा पाँचवटा राजनीतिक व्यवस्थाको अनुभव छ। २००७ सालमा राणाशासन अन्त्य गर्दै पञ्चायती व्यवस्था, राजासहितको बहुदलीय व्यवस्था, सक्रिय राजाशाही व्यवस्था हुँदै हाल सङ्घीय लोकतान्त्रिक व्यवस्था । यी सबै परिवर्तनका लागि अग्रपङ्क्तिमा युवा विद्यार्थी थिए । तर त्यसपछि व्यवस्था कार्यान्वयन एवं सञ्चालन र अनुगमनमा भने यो पुस्तालाई पछाडि पारियो । अहिलेका पौढहरू विगतमा युवा थिए, आजका युवा भोलिका प्रौढ हुन् । उमेर अनुसार सोच र शैलीसमेत फरक हुन जाने हुँदा सोही अनुरूपको भूमिका मात्रै फलदायी हुन्छ । प्रौढको होश र युवाको जोशबीच समन्वयात्मक एकता नै समाजको आवश्यकता हो । हामीकहाँ हिजोको योगदानलाई भजाएर आज ब्याज खाने प्रवृत्ति छ। मुख्य भूमिकामा जान प्रौढ नै हुनुपर्ने सोच छ । मुलुकका मुख्य राजनीतिक दल नेपाली काङ्ग्रेसमा गगन थापा, विश्वप्रकाश जस्ता युवाहरू, एमालेका योगेश भट्टराई, गोकर्ण पाठकजस्ता युवाहरूले पार्टी र सरकार हाँक्न पाउँदैनन् । पार्टी महाधिवेशनबाट उनीहरूले अहिले जुन जिम्मेवारीका साथ मत पाएका छन्, यसबाट पनि मुलुकको नागरिक के चाहन्छ भन्नेबारे नेतृत्व पङ्क्तिले बुझ्नु जरुरी छ ।
विश्वका महाशक्ति राष्ट्र अमेरिकामा युवावस्थाका बिल क्लिन्टनलाई राष्ट्रपतिको जिम्मेवारी दिइयो । उनले उल्लेखनीय सफलताका साथ दुई कार्यकाल चलाए । हालै चिलीमा वामपन्थी नेता ३५ वर्षीय गेब्रियल बोरिक राष्ट्रपतिमा विजयी भएका छन् । छिमेकी मुलुक भारतमा युवावस्थामा पार्टी नेतृत्व पाएका स्व राजीव गाँधीले काङ्ग्रेस आईलाई कुशल नेतृत्व दिंदै सधैं एक नम्बर पार्टीको रूपमा राखेका थिए । हाम्रो मुलुकको राजनीतिमा ब्याज खाने प्रवृत्ति र सङ्कीर्णताका कारण नवीन सोचको विकास हुन सकेको छैन । गुट बनाएर आफ्नो राजनीतिक भूमिका जीवित राख्ने र प्रतिभावान् युवाहरूलाई पिछलग्गु बनाइरहने जुन प्रवृत्ति छ, यसको अन्त्य हुनुपर्छ । यस्तै अवस्था रहने हो भने जुनसुकै व्यवस्था आए पनि राज्य सञ्चालनमा नयाँ सोच र शैलीको प्रवेश कठिन छ ।