दापा, फिलिपिन्स, ३ पुस/एएफपी

फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । अधिकारीले शनिवार दिएको जानकारी अनुसार आँधीको चपेटामा परेका टापुमा डरलाग्दो विनाश भएको विवरण पनि प्राप्त भएका छन् ।

फिलिपिन्समा भीषणरूपमा आएको बतास र मुसलधारे वर्षाका साथै सुपर टाइफुन ‘राई’का कारण बिहीवार हजारौंं मानिस आफ्नो घर र समुद्र तटीय रिसोर्ट छोडेर भागेका थिए । अधिकारीले दिएको पछिल्लो विवरण अनुसार अहिलेसम्म तीन लाखभन्दा बढी मानिस आँधीका कारण विस्थापित भएका छन् ।

शनिवारसम्म साउथ चाइना सागरमाथि उभिएर भियतनामतर्फ लाग्नुअघि राईले भिसायास क्षेत्र, मिन्डानाओ र पलावान टापु पार गरेको थियो । प्रत्येक वर्ष फिलिपिन्समा औसत २० वटा आँधीबेहरी र टाइफुनबाट प्रभावित पारेको पाइन्छ । यसले सामान्यतया पहिले नै गरीब क्षेत्रमा रहेका पसल, घर र पूर्वाधार नष्ट गर्ने गरेको छ ।

दक्षिण फिलिपिन्स हुँदै मडारिएको शक्तिशाली समुद्री आँधीले लोकप्रिय पर्यटकीय क्षेत्र तहसनहस बनाएको अधिकारीले बताएका छन् । मानिस बिदा मनाउन पुग्ने सिरगाओ टापुमा १९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित बिहीवार आएको राई समुद्री आँधीले भारी वर्षा गराएको थियो।

तीव्र गतिको आँधीले बाटोमा परेका घर ढलाउँदा करोडौं मूल्यको क्षति भएको छ । सिरगाओमा रूख जरैसँग उखेलिएका छन् भने बिजुलीका तार र खम्बा ढलेका छन् । संयुक्त राष्ट्रसङ्घले एक करोड ३० लाख मानिस प्रभावित भएको जनाएको छ । जताततै बाढी आएपछि हजारौं मानिस घर छाडेर सुरक्षितस्थलमा आश्रय लिइरहेको बताइएको छ ।

अधिकारीले विमानस्थलको प्रमुख टर्मिनलमा क्षति पुगे पनि धावनमार्ग उद्धार उडानका लागि चालू रहेको बताएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here