प्रस, ठोरी, १ पुस/

नेवार समुदायको पर्व योमरी पुन्हीको पूर्वसन्ध्यामा ठोरी गाउँपालिका–५, सुवर्णपुरमा बिहीवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सुवर्ण नेवा खलःको आयोजनामा ठोरी गापा–५ वडा कार्यालयमा सम्पन्न रक्तदान कार्यक्रममा छजना महिलासहित ४७ जनाले रक्तदान गरेका थिए।

रक्तदानको उद्घाटन गर्दै गापा उपाध्यक्ष शान्तिमाया थिङले रक्तदान जीवनदान भएकोले रक्तदान गरेर पुण्य आर्जन गर्न सबैसँग आग्रह गरिन् । उनले कतिपय मानिसमा रक्तदान गर्दा शरीर कमजोर हुन्छ भन्ने भ्रम रहेको भन्दै त्यस्ता भ्रम नराख्न र जीवनदान गर्ने महान् अभियानमा सहभागी हुन अनुरोध गरिन् । कार्यक्रममा जसपा केन्द्रीय सदस्य टेकबहादुर शाक्य, उपाध्यक्ष जरी लामा, नेकपा एमाले जिल्ला कमिटी सदस्य लालबहादुर श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सानुमाया तामाङ, सन्तोषी खड्का, विनोद कार्की, राजीव श्रेष्ठ, विशाल क्षत्री, मोहन श्रेष्ठ, रोहन तिवारी, सुशान्त पौडेल, उदयबहादुर गौतम, लक्ष्मी चौधरीलगायतले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए ।

कार्यक्रममा २२औं पटक रक्तदान गरेका सुवर्णपुरका हरिबहादुर बुढाथोकीलाई सुवर्ण नेवा खलःका तर्फबाट अध्यक्ष अमृत श्रेष्ठले दोसल्ला ओढाएर सम्मान गरेका थिए । सुवर्ण नेवा खलःका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत चन्द्र नेवारले गरेका थिए भने सुवर्ण नेवा खलःका उपाध्यक्ष विमल प्रधान, सामुदायिक रेडियो विजयबस्तीका अध्यक्ष सन्तोष श्रेष्ठ, सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिन, सुवर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुन लामा, एमालेका मेकबहादुर स्याङ्बो, काङ्््््ग्रेसका विमल खड्का, माओवादीका वीरबहादुर लोप्चनलगायतको सहभागिता थियो ।

खाद्य पदार्थको रसिलो चाडको रूपमा लिइने योमरी पुन्हीको अवसर पारेर सुवर्ण नेवा खलःले पुस ३ गते सांस्कृतिक कार्यक्रम र ४ गते योमरी पुन्ही आयोजना गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए। योमरी पुन्हीको दिन नेवार समुदायमा तिल, चाकु र खोवा राखेर बनाइएको चामलको पीठोबाट बनाइएको विशेष प्रकारको परिकार योमरी खाने चलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here