प्रस, वीरगंज, १ पुस/

वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ताले हाल कायम रहेको शान्ति सुव्यवस्थालाई निरन्तरता दिन आग्रह गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत र चण्डीप्रसाद गणका गणपति मनोज कार्कीसँग सङ्घको सभाकक्षमा छलफल गर्दै अध्यक्ष गुप्ताले वीरगंज महानगरमा जडान गरिएको सिसिटिभीको मरम्मत सम्भार र उचित व्यवस्थापनको लागि आइटीसम्बन्धी दक्ष जनशक्ति बहाल गर्न प्रउ बस्नेतको ध्यानाकर्षण गराए ।

सो अवसरमा सङ्घका पूर्वअध्यक्षद्वय अशोककुमार बैद र गणेश लाठले आदर्शनगरको पुरानो बसपार्क क्षेत्रमा रहेका धर्मशाला, बैंक तथा वित्तीय संस्थाहरूका कारण भीडभाड बढेकाले सवारी व्यवस्थापनको लागि छुट्टै प्रहरी बिटको व्यवस्था गर्न पनि आग्रह गरे ।

प्रउ बस्नेतले शान्ति सुरक्षा, अमनचयन कायम गरी आपराधिक गतिविधिलाई निरुत्साहित गर्न आफूले प्रभावकारी भूमिका खेल्ने आश्वासन दिए । उनले शान्ति सुरक्ष्Fा कायम राख्ने कुरामा प्रहरीसमेत स्थानीय र निजी क्षेत्रको भूमिका प्रभावकारी हुने भएकोले आपराधिक गतिविधि न्यूनीकरणको लागि सूचना दिई सहयोग गर्न सुझाए । उनले सूचनाबाट धेरैखाले गतिविधि नियन्त्रण हुन सक्ने भएकाले प्रहरीलाई सबै पक्षबाट सूचना दिएर सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन र महासचिव मनोज दासले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here