‘कहीं नभएको जात्रा हाँडी गाउँमा’ नेपाली उखान छ । काठमाडौंको हाँडी गाउँमा कहीं नभएको जात्रा निकालिन्छ । हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन खटको गजुर उल्टो पारेर सोमाथि देवता राखेर जात्रा निकालिन्छ । देवीदेवताको पूजा आराधना गर्दा सामान्यतया खटको गजुर सुल्टो पारेर गजुरमुनि देवता राख्नुपर्ने हो । गजुर उल्टो पारेर सोमाथि देवता राखिने चलन हाँडी गाउँबाहेक हिन्दू धर्ममा अन्यत्र कहीं नभएको धर्म, संस्कृतिका विज्ञहरूको भनाइ छ । हुनुपर्नेभन्दा विपरीत तथा अनौठो रहेकोले ‘कहीं नभएको जात्रा हाँडी गाउँमा’ उखान हुन गयो । जिल्ला प्रशासन, इलाका प्रशासन वा कुनै पनि जनसेवाका लागि स्थापित सरकारी सार्वजनिक सेवाका कार्यालयहरूले सेवाग्राहीलाई सहज र सहुलियत दिनु/पु¥याउनु पर्ने हो । तर जिल्ला प्रशासन कार्यालय, पर्सा अन्तर्गत जिल्लाकै सुपौलीमा सञ्चालित इलाका प्रशासन कार्यालयले भने सर्वसाधारण सेवाग्राहीलाई अप्ठ्यारो, सास्ती, हैरानी र तनाव मात्रै दिने गरेको छ । जिल्लाको अर्को कुनामा रहेको ठोरीलगायत जीराभवानी, पटेर्वासुगौली र जगरनाथपुर गरी चारवटा गाउँपालिकाका नागरिकलाई सहज होस् भन्ने उद्देश्यले सुपौलीमा इप्रका स्थापना गरिएको हो । तर उक्त कार्यालयले यसको ठीक उल्टो काम गरिरहेको छ ।

इप्रकामा सरल किसिमले नागरिकता बनाउने, सोही कार्यालयमा बनेको नागरिकताको छाया कपी प्रमाणित गर्ने र आरक्षित समुदायका लागि प्रमाणपत्र दिने काम हुन्छ । विस्तृत अध्ययन गर्नुपर्ने, प्रमाण बुझ्नुपर्ने वा सर्जमिन गर्नुपर्ने किसिमका कुनै पनि सेवा त्यहाँबाट उपलब्ध हुँदैनन् । जब जोखिम भएको वा अप्ठ्यारा किसिमका काम इप्रकाबाट गर्नु नै छैन भने सरल, सहज प्रकृतिको काम त छिटोछरितो हुनुपर्ने हो । सबै प्रमाण पुगेको वंशजको नागरिकता बनाउन बच्चा काखी च्यापेर एउटी आमा पाँच हप्तादेखि धाइरहेकी छन् । त्यसैगरी, नागरिकताकै लागि एकल महिलाले इप्रका धाएको दुई महीना पुगेछ । इप्रका, सुपौलीमा सेवाग्राहीलाई दुःख दिने सबैभन्दा सजिलो बहाना कूपन बनेको छ । मन नपरेको सेवाग्राहीलाई कूपन दिने र अर्को हप्ता पालो आउँछ भनेर घर पठाइदिने काम कर्मचारीले गरिरहेका छन् । त्यो अर्को हप्ता कहिल्यै आउँदैन । कूपन बोकेर हप्तौं धाउँदा पनि नागरिकता नपाएको उनीहरूको गुनासो एकातर्फ छ भने निवेदन पेस गरेको केही क्षणमा नै नागरिकता बनाएर फर्कने सेवाग्राहीको सङ्ख्या पनि कम छैन । एउटै कार्यालयमा दुईथरीका सेवा । एकै दिन पुगेका सेवाग्राही कसैलाई कूपन, कसैलाई नागरिकता । सेवामा विभेद तथा अनियमितता छ भन्ने कुरा यसबाट छर्लङ्ग हुन्छ ।

कार्यालय हप्तामा एक दिन मात्रै खुल्छ । जिल्ला प्रशासन कार्यालय, पर्साबाट प्रशासकीय अधिकृत पठाउने हो । खटाइएको प्रशासकीय अधिकृतलाई चित्त बुझेन वा खटाउनुपर्ने प्रजिअको चित्त बुझेन भने त्यो दिन इप्रकामा प्रशासकीय अधिकृत पुग्दैन । महिला, अपाङ्ग, वृद्ध, असहायलगायतका सेवाग्राहीहरू हाकिम आउँला र काम गरिदेलान् भनेर प्रतीक्षा गरिरहेका हुन्छन् । एक दिन प्रशासकीय अधिकृत वा अन्य कर्मचारी गइदिएनन् भने फेरि एक हप्ता पछि सर्छ । नागरिकको कर खाएर कुर्सीमा बस्नेहरूका लागि यो सामान्य हो । नागरिकता अति आवश्यक परेका सर्वसाधारण हप्तौं हप्ता धाइरहनु ठूलो हैरानी हो । त्यसैले उनीहरू आक्रोश पोख्छन् तर के गर्ने बुझिदिने कोही भए पो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here