प्रस, निजगढ, १ पुस/
निजगढ नपा–११ रतनपुरका ६५ वर्षीय गम्भीरा राउतको उपचारको क्रममा मृत्यु भएको निजगढ प्रहरीले जनाएको छ । घाइते राउतलाई सोही ठाउँका २२ वर्षीय अनिल थिङले दुई साताअघि घरेलु हतियार हँसियाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
नजीकैको बुद्ध तपोवन सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा घाँस काट्न गएका बेला थिङ्ले आफ्नै साथमा बोकेको हँसियाले वृद्ध राउतलाई प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय, निजगढले जनाएको छ ।
हँसिया प्रहार गरी फरार रहेका थिङ्लाई निजगढ नपा–१० लालस्थित फास्ट ट्र्याक आसपासको वन क्षेत्रबाट प्रहरीले सोही राति पक्राउ गरेको थियो । गम्भीर घाइते राउतको गत मङ्सिर २६ गते राति ९ः३० बजे सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको इप्रका, निजगढका निमित्त प्रमुख एवं प्रहरी नायब निरीक्षक सञ्जय यादवले जानकारी दिए ।