प्रस, गरुडा, १ पुस/

सर्लाहीको गोडैता नगरपालिकामा बज्जिका भाषाका तीनवटा कृति एकसाथ सार्वजनिक गरिएका छन् । सर्लाहीमा बज्जिका भाषाको प्रचारप्रसारमा निरन्तर जुटेका रामचन्द्र महतो कुशवाहाका तीनवटा कृति एकसाथ विमोचन गरिएको हो ।

गोडैता नगरपालिका–३ सिमरा–भगवतीपुरस्थित जनता नमूना माध्यमिक विद्यालयमा वडा नं ३ का अध्यक्ष विजयप्रसाद यादवको सभापतित्वमा सरकारी विद्यालय नाटक, बज्जिका समाज दर्शन कविता सङ्ग्रह र बज्जिका समाज दर्पण प्रेरक प्रसङ्गको एकसाथ सामुहिक विमोचन गरिएको हो ।

नगरप्रमुख देवेन्द्रकुमार यादव, डा कमलेश्वरकुमार सिन्हा, बज्जिका शिरोमणि सञ्जय साह मित्र, बज्जिका सम्राट किशुनदयाल श्रीकृष्ण, निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशकुमार यादव, पूर्व गाविस अध्यक्ष कृष्णकान्त मिश्र तथा कृतिकार कुशवाहा स्वयम्ले कृतिको संयुक्त विमोचन गरेका थिए ।

कार्यक्रमको अवसरमा बज्जिकासेवी तथा पूर्व प्रमुख जिल्ला अधिकारी डा कमलेश्वरकुमार सिन्हालाई बज्जिका महारथी, बज्जिका भाषामा पहिलो गोष्ठीको आयोजन गर्ने शिवचन्द्र साहलाई बज्जिका स्तम्भ र बज्जिका साहित्यकारको लागि पुरस्कारको स्थापना गर्ने समाजसेवी धर्मनाथप्रसाद जयसवाललाई बज्जिका रत्नको उपाधि प्रदान गरिएको थियो ।

कार्यक्रममा साहित्यकार तथा भाषासेवीहरू विन्दा साहनी, रेवन्त झा, विपिनबिहारी सिंह, रेणु गुप्ता, रामआधार पासवान, दिनेश यादव सङ्गम, सञ्जय सुदामासहित दर्जनभन्दा बढी भाषासेवी तथा साहित्यकारलाई सम्मानपत्रसहित गम्छा ओढाएर फूलको माला लगाइ सम्मानित गरिएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख यादवले बज्जिका भाषा आफ्नो मातृभाषा भएकोले यस क्षेत्रमा केही गर्न पाएकोमा सन्तोष लागेको बताए । कार्यक्रममा डा सिन्हा, बज्जिका शिरोमणि मित्र, कृतिकार कुशवाहा, कमदेव यादव, शिवचन्द्र साह, सङ्गीता सहनी, किशुनदयाल श्रीकृष्ण, रेवन्त झा, विन्दा सहनीलगायतले मन्तव्य व्यक्त गर्दै बज्जिका भाषा र साहित्यका बारेमा प्रकाश पारेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here