प्रस, पंचगावाँ, २३ मङ्सिर/
पटेर्वासुगौली गाउँपालिकामा भएको अनियमितताविरुद्ध एकजना युवकले मङ्सिर २० गतेदेखि आमरण अनशन शुरू गरेका छन् । सो गापामा हुने अनियमितता, बेथिति र कुसशासनविरुद्धमा पटेर्वासुगौली गापा–३ का रामजनम चौधरीले आमरण अनसन शुरू गरेका हुन् ।
कृषिमा स्नातक गरेका चौधरीले फरहदवास्थित गापा कार्यालयअगाडि आमरण अनशन शुरू गरेका हुन् । मङ्सिर १५ देखि १९ गतेसम्म माग पूरा गराउन धर्नामा बसेका चौधरीले मङ्सिर २० गतेदेखि आमरण अनशन शुरू गरेका हुन् । आफूले विभिन्न माग राख्दै जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराएको र चेतावनीस्वरूप गापा कार्यालयमा धर्ना दिएको तर बेवास्ता गरेपछि आमरण अनशनमा बसेको चौधरीले प्रतीकलाई बताए ।
गापा र वडा कार्यालयहरूमा कर्मचारीहरू समयमा उपस्थित भई काम गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्नुपर्ने, गापामा भएका विकास कार्यको उपलब्धिबारे स्थानीयवासीलाई जानकारी गराउनुपर्ने, गापा अन्तर्गतका खेलाडीहरूका लागि खेलमैदान, प्रतियोगिता, प्रशिक्षकको व्यवस्था, तलबभत्ता तथा खाने–बस्ने व्यवस्था गर्नुपर्ने, कृषिलाई आधुनिकीकरण गर्न मलखाद तथा उपकरणहरूको सुविधा उपलब्ध गराउनुपर्ने, वडामा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने, विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था मिलाउनुपर्ने, विभिन्न विषयगत शिक्षकको खाली दरबन्दीमा शिक्षक नियुक्ति गरिनुपर्ने, विद्यालयमा कक्षाकोठा तथा भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्नेलगायत १० सूत्रीय माग राखेर आफू आमरण अनशनमा बसेको उनले बताए । उनले माग पूरा नहुन्जेलसम्म आफूले आमरण अनशन नतोड्ने प्रतिबद्धता जाहेर गरे ।
यसबारे गापा उपाध्यक्ष ममता महतोले युवकको मागप्रति आफ्नो समर्थन रहेको बताइन् । उनले गापा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बाहिर गएकाले युवकको माग सम्बोधन गर्ने विषयमा ढिला भएको र आउनासाथ समस्याको समाधान गरेर आमरण अनशन स्थगित गराउन पहल गर्ने बताइन् । उनले गापा अध्यक्ष नआउन्जेलसम्म आमरण अनशन स्थगित गर्न पनि आग्रह गरिन् ।