• श्रीमन्नारायण

देशको सबैभन्दा ठूलो एवं पुरानो लोकतन्त्रवादी पार्टी नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशन आजदेखि शुरू हुँदैछ । देशको समसामयिक राजनीतिक अवस्था, अस्तव्यस्त परराष्ट्र सम्बन्ध, अस्थिर राजनीतिक अवस्था तथा न्यायपालिकामा देखिएको तनाव एवं द्वन्द्वपूर्ण अवस्थामा भइरहेको यस अधिवेशनबाट राष्ट्रले नेपाली काङ्ग्रेससित धेरै अपेक्षा राख्नु अस्वाभाविक होइन ।

चार वर्ष अघि भएको आम निर्वाचनमा नेपाली जनताले वाम गठबन्धनलाई झन्डै दुई तिहाई बहुमतसहित जनादेश दिएको थियो तर पदीय महŒवाकाङ्क्षा एवं अहङ्कारका कारण वाम गठबन्धनका नेताहरूले त्यस व्यापक जनादेशरूपी महाअस्त्रको सुरक्ष्Fा गर्न सकेनन् र पुनः त्यो जनताकै हातमा फर्केको छ । नेपाली काङ्ग्रेसको महाधिवेशन यस अर्थमा पनि सार्थक साबित हुन आवश्यक छ कि वामपन्थीहरूको तुलनामा नेपाली जनताले नेपाली काङ्ग्रेसमाथि किन विश्वास गर्नुपर्दछ ? पार्टीको राष्ट्रिय महाधिवेशनको बेला पार्टीका ब्यानरहरूमा स्व. विपी, गणेशमान, सुवर्ण शम्शेर र किसुनजीको फोटो झुन्ड्याउनुको अर्थ त्यति बेलासम्म सार्थक साबित हुनेछैन जबसम्म पार्टीले अख्तियार गर्ने आर्थिक, सामाजिक एवं राजनीतिक नीति उपरोक्त नेताहरूको सपनालाई साकार गर्ने खालको हुँदैन ।

समाजवादको नारा मात्रै जपेर हुँदैन, आफ्नो निजी जीवनशैलीलाई निकै आधुनिक, भव्य एवं आकर्षक बनाएका नेताहरूले सादगीको चर्चा गर्दा हाँसो पनि उठ्छ । नेपाली काङ्ग्रेसले यस महाधिवेशनमा पार्टीका प्रमुख पदहरूको उम्मेदवारी शुल्क यति बढी राख्नुको अर्थ नै अब यो पार्टी सामान्य जनको निम्ति नरहेको प्रस्ट हुन्छ । पार्टी नेतृत्वमा वर्तमान सभापति तथा देशका प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेताद्वय रामचन्द्र पौडेल एवं प्रकाशमान सिंह तथा शेखर कोइराला एवं विमलेन्द्र निधिको नाम पनि चर्चामा छ । युवाहरूको स्वाभाविक आकर्षण प्रकाशमान सिंहतिर देखिन्छ । के नेपाली काङ्ग्रेसले पनि राप्रपाले राजेन्द्र लिङ्देनमाथि विश्वास गरेझैं प्रकाशमान सिंहजस्ता स्वच्छ एवं इमानदार छविका युवा नेतामाथि विश्वास गर्ला भन्ने प्रश्न उठिरहेको छ ।

कुनै पनि राजनीतिक दलको राष्ट्रिय महाधिवेशन प्रत्येक ५ वर्षपछि आपसी भेटघाट, भलाकुसारी गर्ने, पिकनिक र भोजभतेर गर्ने, मनोरञ्जनात्मक अवसर होइन । राष्ट्रिय महाधिवेशन नै राजनीतिक दलहरूको महŒवपूर्ण एवं सबैभन्दा शक्तिशाली साङ्गठनिक ढाँचा हुने गर्दछ किनभने यसले नेतृत्वसमेत फेर्ने गर्दछ । पार्टीको राष्ट्रिय महाधिवेशन कुनै पनि राजनीतिक दलको निम्ति सिंहावलोकन गर्ने अवसर पनि हुन्छ । यस अवसरमा पार्टीका नेता एवं कार्यकर्ताहरूले पार्टीको आर्थिक, सामाजिक एवं राजनीतिक नीतिको गहन समीक्षा गर्दै यसमा आवश्यक परिमार्जन गर्ने अथवा नयाँपन दिने काम पनि गर्दछन् ।

पार्टीले परराष्ट्र नीतिबारे पनि समीक्ष्Fा गर्ने र नीति अख्तियार गर्ने अवसर प्राप्त गरेको हुन्छ । विगतका सरकारको पालामा नेपालले अख्तियार गरेको परराष्ट्र नीतिबाट न त उत्तरी र दक्षिणी मित्रराष्ट्रहरू, न अमेरिकालगायत पश्चिमेली देशहरू नै सन्तुष्ट थिए । केवल उखान टुक्कामा सीमित र जनतामा भ्रम सिर्जना गर्ने खालको नीतिले देशको परराष्ट्र नीतिलाई सबल, सफल र सक्षम बनाउन सक्दैन ।

चौथौ महाधिवेशनको तयारीको क्रममा वडास्तरको निर्वाचनमा गोलीसमेत चल्ने अवस्था उत्पन्न हुनु र त्यसमा पार्टीकै समर्थक कार्यकर्ता एवं पर्यवेक्षक कुटिनु, अपमानित हुनु अथवा भय एवं त्रासको वातावरणबाट गुज्रिनुको अर्थ नेपाली काङ्ग्रेस अझै पनि गाउँका शोषक, सामन्त, ठेकेदार एवं भयत्रास खडा गरेर समाजमा वर्चस्व कायम गर्ने मानसिकता राख्दछ भन्ने सन्देश प्रवाहित भएको छ । वाम गठबन्धनको असफलता, मधेसी दलहरूको अकर्मण्यता र अलोकप्रियताबाट दुःखी नेपाली जनता नेपाली काङ्ग्रेसतिर आकर्षित भइरहेको थियो तर यस्ता घटनाले निम्न एवं मध्यम वर्गीय मतदाता अन्योलमा पर्न सक्दछ । नेपाली काङ्ग्रेसको पार्टीको आन्तरिक निर्वाचनमा हिंसाको प्रयोग हुनुहुँदैनथ्यो ।

भइसकेको घटनाको निन्दा हुनुपर्दथ्यो तर यस्तो भएन । यस पटकको साङ्गठनिक निर्वाचनमा कतिपय ठाउँमा बलजफ्ती घटना भएको पनि पाइयो । पार्टीको साङ्गठनिक निर्वाचनमा परस्पर अविश्वास एवं तनावपूर्ण अवस्था सिर्जना हुँदा यसको ठूलो प्रभाव पार्टीको सम्पूर्ण संरचनामाथि पर्न जान्छ । विपक्षी दलहरूको प्रभाव र रणनीतिभन्दा पनि आफ्नै पार्टीका नेताहरूको अन्तर्कलह र अन्तर्घातका कारण चुनावमा बढी पराजय भोग्न बाध्य हुँदै आएको नेपाली काङ्ग्रेसले कमसेकम साङ्गठनिक निर्वाचनलाई निष्पक्षरूपमा सम्पादन गर्न सक्दथ्यो । पार्टी सभापतिका विरोधी नेता, कार्यकर्ताहरू जसरी गाउँ–गाउँमा क्षुब्ध एवं दुःखी देखिन्छन् यदि राष्ट्रिय महाधिवेशनमा नेतृत्वको चयन पनि एकलौटीरूपमा भयो भने यो पार्टी पनि विभाजनको सँघारसम्म पुग्ने सम्भावना देखिन्छ ।

यस वर्षको मङ्सिर र पुस महीना नै नेपालका राजनीतिक दलहरूको निम्ति महाधिवेशन र राष्ट्रिय सम्मेलनको महीना साबित भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको राष्ट्रिय महाधिवेशन निकै आकर्षक ढङ्गले सम्पन्न भएको छ । अब नेकपा एमाले पनि विचार र सिद्धान्तमुखी पार्टी नभई मधेसवादी दलहरूजस्तो पार्टी सभापतिको देवत्वकरण गर्दै सम्पन्न भएको छ । आगामी दिनमा पार्टी अध्यक्षको भक्तिभाव र गुणगान गर्न कन्जुस्याइँ गरी आत्मसम्मान र स्वाभिमान जगाउन खोज्नेहरू दूधमा परेको झिंगाझैं फालिनुको विकल्प हुनेछैन । बरु राष्ट्रिय प्रजातन्त्र पार्टीले राजेन्द्र लिङ्देनको नेतृत्वमा विश्वास गरेर पार्टीभित्र एकाधिकार जमाउँदै आएका कमल थापाको अहङ्कार समाप्त गर्ने काम गरेको छ ।

राप्रपाका महाधिवेशन प्रतिनिधिहरूले युवा नेतृत्वमाथि विश्वास गरेर अपेक्षाकृत साहसी निर्णय गरेका छन् । के नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू पनि प्रकाशमान सिंहजस्ता स्वच्छ, इमानदार एवं लामो राजनीतिक पृष्ठभूमि भएका नेताहरूमाथि विश्वास गरी अवसर प्रदान गर्नेछन् भन्ने प्रश्न उठिरहेको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीभित्र निकै बलियो अवस्थामा देखिन्छन् । आफू अन्तिमपटक उम्मेदवार बनेको भन्दै भावनात्मक अपीलमार्फत सबै पक्षबाट सहयोगको अपील गरेका छन् । तर विगतमा उनका खास सहयोगी रहेका विमलेन्द्र निधिमाथि पनि यस अपीलको असर पर्ने सम्भावना कमै देखिन्छ । यता देउवाइतर समूहमा पनि सहमति कायम हुन सकेको छैन र कोइराला परिवारबाट शेखर कोइराला, रामचन्द्र पौडेल र प्रकाशमान सिंहको दाबेदारी पनि पार्टी सभापतिको पदमा निश्चित हुने देखिएको छ ।

प्रकाशमान सिंहले आफ्नो उम्मेदवारीको औचित्यबारे प्रस्ट भनेका छन् कि गणेशमान सिंहको परिवारले मात्रै नेपाली काङ्ग्रेस, देश र प्रजातन्त्रको निम्ति त्याग गरिरहने ? देश र प्रजातन्त्रको निम्ति त्याग गर्नुलाई उनले गर्व र स्वाभिमानको विषय बताएका छन् । गणेशमान सिंहले स्व. मातृकाप्रसाद कोइराला, विपी कोइराला, गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईलाईसमेत प्रधानमन्त्री बनाउन सहयोग गरे । पार्टी सभापति बनाउन सहयोग गरे । त्यसैगरी प्रकाशमान सिंहले पनि शेरबहादुर देउवालाई पार्टी सभापति र पटक–पटक प्रधानमन्त्री बनाउन सहयोग गरे ।

सुशील कोइरालालाई पनि सहयोग गरे । विद्यार्थीकालदेखि नेविसङ्घमार्फत राजनीतिको थालनी गर्दै अब उनले नेतृत्व गर्न सक्ने जिम्मेवारी भनेको त पार्टी अध्यक्ष पद मात्रै हो । पार्टी नेतृत्वमा उनको दाबेदारी स्वाभाविक हो । राप्रपाले त राजेन्द्र लिङ्देनमाथि विश्वास ग¥यो अब पालो नेपाली काङ्ग्रेसको हो कि उसले पनि नयाँ नेतृत्वमाथि विश्वास गरोस् । राजेन्द्र लिङ्देन युवा हुन् उनको पार्टी राप्रपा अवश्य हो तर उनी पञ्च थिएनन् । नेपाली काङ्ग्रेसभित्र पनि संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको कुरा गर्ने एक पक्ष देखिन्छ यस्तो अवस्थामा राजेन्द्र लिङ्देनमाथि मात्रै आरोप लगाउन सकिंदैन । वामपन्थी विचारको विरोध तथा लोकतन्त्र, सामाजिक न्याय एवं समानताको पक्षमा खुलेर वकालत गर्ने प्रकाशमान सिंहलाई नेतृत्वमा ल्याउनु नेपाली काङ्ग्रेसको हितमा हुनेछ । नेपाली काङ्ग्रेसको यस महाधिवेशनको यस दिशामा पनि ध्यान दिनुपर्ने अवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here