धर्मेन्द्र चौरसिया, पोखरिया, २२ मङ्सिर/

जिल्ला खोप समन्वय समितिको पहलमा बुधवारदेखि पर्सा जिल्लाभर विशेष खोप अभियान सञ्चालन भएको छ । स्वास्थ्य कार्यालय, पर्साले वीरगंज महानगरपालिकासमेत चौधवटै पालिकामा तीन दिने विशेष खोप अभियान सञ्चालन गरेको हो ।

आजदेखि २४ गतेसम्म सञ्चालन हुने यो अभियानमा पहिलो दिन बुधवार र बिहीवार भेरोसिल खोप दिइने र २४ गते कोभिशिल्ड दिने कार्यक्रम छ । जिल्लाका १२९ वटा स्थानबाट विशेष खोप अभियान सञ्चालन भएको र यसमा ४७५ जना स्वास्थ्यकर्मी, व्यवस्थापक र ७६५ जना महिला स्वयंसेविकाहरू परिचालित भएका छन् ।

पर्सा जिल्लामा विशेष खोपको लागि ४३ हजार खोप सञ्चित रहेको र थप खोप आउने मङ्गलवार जिल्ला खोप समन्वय समितिको आयोजनामा भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । पर्सा जिल्लामा यस आवमा सातपटक खोप सञ्चालन भएको र अहिलेसम्म १ लाख ३२ हजार १२८ जनाले खोप लिइसकेका छन् । स्वास्थ्य कार्यालयले सो तथ्याङ्क उपलब्ध गराएको हो ।

आजदेखि सञ्चालित विशेष खोप लिन खोपकेन्द्रहरूमा मानिसहरूको ठूलो सङ्ख्यामा भीड देखियो । कोरोनाको पाँचौं स्वरूप अन्तर्गत देखा परेको ओमिक्रोनको कारण खोप लिनेहरूको सङ्ख्या बढेको हो । यसअघि, खोप केन्द्रहरूमा खोप लिन खासगरी ग्रामीण क्षेत्रका मानिसहरूले रुचि देखाएका थिएनन् । वीरगंज महानगरपालिकाबाहेक १३ वटा पालिकाका मानिसहरूले खोपप्रति खासै रुचि नदेखाए पनि बुधवारदेखि शुरू भएको विशेष खोप अभियानमा उनीहरूको पनि संलग्नता बढेको छ ।

ग्रामीण क्षेत्रमा भेरोसिल खोप लिनेको सङ्ख्या कम हुनुमा सो खोप चिनियाँ भएको र कम असरदार हुने भनी गलत हल्ला चलाइएका कारण मानिसहरूले खोप लिन रुचाएका थिएनन् ।

वीमनपाद्वारा सार्वजनिक ठाउँ खोप केन्द्र स्थापना

वीरगंज महानगरपालिकाले सार्वजनिक स्थानबाट पनि सर्वसाधारणलाई कोभिडविरुद्धको खोप लगाउन शुरू गरेको छ । विशेष खोप अभियान अन्तर्गत महानगरपालिकाले बुधवारदेखि सार्वजनिक स्थानमा खोप लगाउन शुरू गरेको हो ।

सो खोप अभियानको वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले उद्घाटन गरेका थिए । उनले वीरगंज महानगरपालिकाले ३४ वटा खोप केन्द्रबाट खोप उपलब्ध गराएकोमा थप तीनवटा खोप केन्द्र सार्वजनिक स्थानमा खडा गरी विशेष खोप अभियानलाई सघाएको बताए ।
उनले महानगरपालिकामा खोप भण्डारण कक्ष स्थापना गरिएकोमा त्यहाँ २५ हजार मात्रा खोप उपलब्ध रहेको जानकारी दिए ।

कार्यक्रममा उनले यो अभियान पूर्णरूपमा सफल पार्न सबै नगरवासीलाई सहभागी हुन आग्रह गरे । उनले पहिलो चरणमा भेरोसिल खोपको दुवै मात्रा लगाउने र त्यसपछि कोभिशिल्डको खोप लगाउने बताए । उनले नगरवासीले नागरिकताको प्रमाणपत्र हेराएर घण्टाघरस्थित प्रहरी बिटबाट कोरोना खोप लगाउन सकिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here