तराईका जिल्लामा डिजे अर्थात् नृत्य प्रस्तोताको अहिले बोलवाला छ । कुनै पनि वैवाहिक कार्यक्रम अनि उत्सवहरूमा नृत्य प्रस्तोताहरूको सहभागिता अनिवार्य जस्तै भएको छ । यस्ता कार्यक्रममा यसअघिका दिनहरूमा बैन्डबाजा र गायक गायिकहरूको सहभागिता हुने गरेको थियो । समयको कुरा हो, अहिले बैन्ड बाजा अनि गायकगायिकाहरूको भन्दा साउन्ड सिस्टमको प्रयोगमा नृत्य प्रस्तोता राख्ने प्रचलन बढेको छ । तीन दशकअघि यस्ता वैवाहिक कार्यक्रम, उत्सव, समारोहमा भारतबाट नर्तकीहरू बोलाएर नचाउने प्रचलन पनि नभएको होइन। पर्सा, बारा र रौतहट जिल्लामा भारतीय नर्तकीहरू बोलाएर गरिने कार्यक्रमलाई स्थानीय भाषामा नाच भनिन्थ्यो र त्यो नाचको कार्यक्रम प्रायःजसो मध्यरातमा गरिन्थ्यो । महिला नर्तकी सहभागी हुने भएकोले परिवारका महिला सदस्यहरू सो कार्यक्रमबाट वञ्चित पारिन्थ्यो । त्यसैले यस प्रकारका कार्यक्रमहरूमा मारपिटको सम्भावना बढी हुने गर्दथ्यो । त्यसैले नाचको कार्यक्रममा जानेहरू मारपिटको सम्भावनालाई दृष्टिगत गरेर तयारीका साथ जाने गर्दथे । अहिले नाच कार्यक्रम गर्ने प्रचलन हराएको छ र शुरू भएको छ, नृत्य प्रस्तोता अर्थात् डिजे । साउन्ड सिस्टमको प्रयोग गरेर विभिन्न भाषामा गीत बजाउने र त्यसमा नृत्य गर्ने अनि त्यसको रमाइलो लिने प्रचलन अहिले गाउँ, शहर दुवै स्थानमा छ । यस प्रकारका कार्यक्रम अहिले वैवाहिक कार्यक्रममा जाने जन्तीमा विशेषतः प्रयोग हुने गरेको छ । मङ्सिर महीनामा विवाहको चटारो छ । कोरोनाका कारण गत वर्ष हुन नसकेका वैवाहिक कार्यक्रमहरू पनि अहिले भइरहेकाले वैवाहिक कार्यक्रमहरू बढेका छन् ।

हिन्दू समुदायमा वैवाहिक कार्यक्रमको लागि साइत जुर्नैपर्छ । वार्षिकरूपमा हिन्दूहरूको छ महीना लगन हुन्छ भने छ महीना हुँदैन । लगन नहुने छ महीनामा साउनदेखि कात्तिक, पुस र चैत महीना हुन् भने लगन हुने मङ्सिर, माघ, फागुन, वैशाख, जेठ र असार महीना हुन् । मुस्लिमहरूमा भने शोभरातको एक दिन र ईदको एक महीना वैवाहिक कार्यक्रम गरिन्न । मङ्सिर महीनामा हिन्दू र मुस्लिम दुवै समुदायको वैवाहिक कार्यक्रम भइरहेका छन् र दुवैमा डिजेको प्रस्तुति हुँदै आएको छ । दुई दशकदेखि नृत्य प्रस्तोतामा तेस्रो लिङ्गीको प्रयोग बढेको छ । उनीहरूको नृत्यमा रमाउने युवा पीढी त छँदैछ, अधबैंसे र वृद्धहरू पनि छन् । यदि यसो हुँदैन थियो भने नृत्य प्रस्तोताको कार्यक्रम विवाहमा सम्भव थिएन । किनभने वैवाहिक खर्च घरका अभिभावकहरूले गर्छन् र उनीहरूको चाहनाविपरीतको यस्ता कार्यक्रम आयोजना गर्नु घरका कनिष्ट भनाउँदाहरूको बसको कुरा पक्कै होइन । पछिल्लो समयमा पहिलेको नाँच सरह अहिलेको डिजेको आलोचना बढेको छ । केही पालिकाले डिजेको प्रयोगमा बन्देज लगाउने जस्ता निर्णय पनि गरेका छन् भने स्थानीय प्रशासनले पनि अश्लीलता प्रयोग हुने गीतको प्रयोगमा बन्देज लगाउँदै डिजेको प्रयोगको लागि समयसीमा निर्धारण गरेको पाइन्छ ।

पर्सा जिल्लाको कुरा गर्ने हो भने पोखरिया नगरपालिकाले डिजेमाथि तीन वर्षअघि बन्देज लगाउने निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालय, पर्साले भर्खरै राति दश बजेपछि यसको प्रयोगमा बन्देज लगाएको छ । तर समाजका धेरैजसोले यसलाई अङ्गिकार गरेका र निर्बाध प्रयोग हुँदै आएकाले पनि यसमाथिको बन्देज कार्यान्वयन हुन नसकेको हो । यस मानेमा बन्देज लगाउनुपूर्व समाजका अगुवाहरूको सहभागितामा यसविरुद्ध सचेतना कार्यक्रम गर्न आवश्यक देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here