प्रस, वीरगंज, २१ मङ्सिर/

स्वास्थ्य कार्यालय, पर्साले पत्रकार सम्मेलन गरी मङ्सिर २२ देखि २४ गतेसम्म पर्सा जिल्लामा विशेष खोप अभियान सञ्चालन हुने जानकारी गराएको छ ।

जिल्ला प्रशासन कार्यालय, पर्सामा आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले ‘हाम्रो खोप हाम्रो सुरक्षा, खोप लगाऔं सुरक्षित बनौं’ नाराका साथै मङ्सिर २२ देखि २४ गतेसम्म तीन दिन पर्सा जिल्लाका सबै स्वास्थ्य संस्था गरी १२९ स्थानबाट विशेष खोप अभियान सम्पन्न गर्ने जानकारी गराए । उनले यसका लागि ४७५ जना स्वास्थ्यकर्मी, व्यवस्थापक तथा ७६५ जना सामुदायिक महिला स्वयंसेविकासहितको टीम परिचालन गरिने बताए ।

१८ वर्षभन्दा माथिका सबैजना यो अभियानमा सहभागी हुन पाउने उनले जानकारी गराए । खोप नलगाएकालाई पहिलो मात्रा र पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा भेरोसिलको खोप दिइने लक्ष्य रहेको प्रजिअ ढकालले बताए । स्वास्थ्य संस्थाबाहेक अतिरिक्त स्थानहरूबाट पनि खोप उपलब्ध गराउने लक्ष्य रहेको उनले बताए । गर्भवती महिलाको हकमा पहिलो त्रैमासिक पुगेका सबैलाई खोप दिइने स्वास्थ्य कार्यालयका खोप अधिकृत जयमोद ठाकुरले बताए । उनले ४३ हजार खोप सञ्चित रहेको र थप खोप आउने क्रममा रहेकोले विशेष खोप अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न सबैलाई आग्रह गरे ।

ठाकुरले रक्सौल–वीरगंज नाकामा हाल नियमितरूपमा आवतजावत गर्नेबाहेक भारतका विभिन्न स्थानबाट रेल तथा सडकमार्गबाट आउने यात्रीहरूलाई पिसिआर परीक्ष्Fण, स्वास्थ्य जाँच र उनीहरूको तथ्याङ्क सङ्कलन भइरहेको बताए । भारतबाट आउने सबै व्यक्तिको स्वास्थ्य परीक्ष्Fण गर्न सम्भव नभएकोले शङ्कास्पद व्यक्ति र यात्रा गरेकाहरूलाई अहिले लक्षित गरिएको उनले बताए ।

ठाकुरले २०७८ साउनयता सातपटक खोप अभियान सञ्चालन भइसकेको बताए । यसैगरी, पर्सा जिल्लामा हालसम्म १ लाख ३२ हजार १ सय २८ जनाले दोस्रो मात्रा खोप लगाइसकेका जानकारी गराए । जसमध्ये ९ हजार ७ सय ६४ जनाले कोभिशिल्डको दुवै मात्रा, ६६ हजार ३ सय ७५ जनाले भेरोसिलको दुवै मात्रा, ३४ हजार ५ सय ७ जनाले जोनसनको सिङ्गल डोज र २१ हजार ९ सय ८२ जनाले अस्ट्राजेनिकाको दुवै मात्रा खोप लगाएका उनको भनाइ थियो ।

जिल्लामा १८ वर्षभन्दा माथिका लक्षित समुदायको सङ्ख्या ४ लाख ४५ हजार ३ सय ६८ जना रहेको र हालसम्म २९.६७ प्रतिशतले मात्रै खोप लगाएको पत्रकार सम्मेलनमा ठाकुरले बताए ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष अनुप तिवारीले विशेष खोप अभियानमा सबैलाई सहभागी हुन आग्रह गरे । उनले नयाँ भेरियन्ट ओमिक्रोनको कारण अहिले सबैजना सजग हुनुपर्ने भन्दै खोप अनिवार्यरूपमा लगाउन सुझाए ।

कार्यक्रममा प्रहरी उपरीक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्कालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here