प्रस, वीरगंज, २१ मङ्सिर/
कृषिजन्य उत्पादनमा लगानी बढ्दै गएपछि पर्साका किसानहरू बर्सेनि ऋणमा डुब्दै गइरहेका छन् । किसानहरूलाई चाहिने मल, बीउ, कीटनाशक औषधि, सिंचाइको अभाव हुँदै गएपछि कृषिजन्य उत्पादनमा विगतभन्दा अहिले तीन गुना बढी लगानी बढेको छ । उत्पादित खाद्यान्नको उचित बजार व्यवस्थापन नहुँदा किसानहरू ऋणमा डुब्दै गइरहेको धोबिनी गाउँपालिका–४ लङ्गडीका किसान चन्देश्वर साहले बताए ।
खेतबारीमा उत्पादित वस्तु घरसम्म पुग्दा चार भागको एक भाग मात्र किसानहरूले पाउने गरेको साहको भनाइ छ । डिजलको भाउ बढ्दा जोताइ महँगो भएको, समयमा मजदूर नपाउने, पाएपनि दोब्बर ज्याला दिनुपर्ने, मल, बीउ, कीटनाशक औषधि सहजै नपाउने, पाए पनि महँगो मूल्यमा भारतबाट खरीद गर्नुपर्ने, सिंचाइ खर्च पनि महँगो हुँदै गइरहेको उनले बताए ।
उत्पादित खाद्यान्न बेचेर ऋण तिरेपछि किसानहरूलाई तीन महीना मात्र पुग्ने खाद्यान्न बाँकी हुने उनले बताए । ऋणमा डुब्दै गइरहेका किसानहरूको अवस्था केही वर्षपछि कङ्गाल हुने उनको भनाइ छ ।
स्थानीय, प्रदेश र सङ्घीय सरकारले किसानहरूलाई कुनै सुविधा दिन सकेको छैन । जनप्रतिनिधिको बलमा खेतसम्म पुगेका नहर, टर्सरी मिचेर सार्वजनिक जग्गा कब्जा गर्ने क्रम अहिले गाउँमा बढेको छ । बोल्ने कोही छैन, बोल्दा गाउँका ठूलाबडाले मारपिट गर्ने, ज्यान मार्ने धम्की दिने गरेको कारण किसानहरू ऋण काँढेर खेती गर्ने गरेका छन् ।
मल, बीउबिजन सहज उपलब्ध नहुँदा सीमावर्ती भारतीय बजारमा पर्साका किसानहरू आश्रित हुनुपरेको छ । सीमा क्षेत्रमा खटेका सुरक्षाकर्मीले पनि दुःख दिने गरेको कारण धेरै किसानले कृषिजन्य उत्पादन गर्न चाहेका छैनन् ।
आधुनिक खेतीको माध्यमबाट उत्पादकत्व बढाउन स्थानीय सरकारले केही गर्न नसकेको किसानहरूको दुःखेसो छ । कमिशनको चक्करमा कमसल बीउ वितरण हुने गरेको छ भने सिंचाइको लागि किसानलाई दिएको पम्पसेट पनि दुई/तीन महीनामैं बिग्रिने गरेको किसानहरूको भनाइ छ ।