प्रस, वीरगंज, २१ मङ्सिर/
जिल्ला निर्वाचन कार्यालय, पर्साले मतदाता नामावली सङ्कलनको लागि स्थानीय तहमा पठाएका कर्मचारीहरू राजनीतिक प्रभाव र दबाबमा परेको बुझिएको छ ।
निर्वाचन कार्यालयले चौधवटा स्थानीय तहमध्ये पहिलो चरणमा पन्ध्र दिनको लागि नामावली सङ्कलन गर्न जगरनाथपुर, जीराभवानी, सखुवाप्रसौनी, पोखरिया, कालिकामाई, पकाहामैनपुर, बहुदरमाईमा टोली परिचालन गरेको छ । वीरगंज महानगरको हकमा जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली सङ्कलन भइरहेको निर्वाचन कार्यालय, पर्साका प्रमुख रञ्जीता झाले बताइन् ।
नियम अनुसार गापाको कार्यालयमा केन्द्र राखी मतदाता नामावली सङ्कलन गर्नुपर्छ तर भीड नियन्त्रणका लागि आपसी सहमतिमा प्रत्येक वडालाई दुई दिनको समय दिने सहमति भएको छ । तर सहमतिविपरीत जगरनाथपुर गापाका अध्यक्ष जालीम मियाँले आफ्नो वडामा पाँच दिनदेखि मतदाता नामावली सङ्कलन गराइरहेका छन् । उनले राजनीतिक पहुँच देखाएर अन्य वडाको पनि मतदाता नामावली सङ्कलन आफ्नै वडाबाट गराइरहेको बताइन्छ ।
सोको विरोधमा स्थानीय नेता श्रीकान्त यादवले जिल्ला प्रशासन कार्यालय, पर्साको ध्यानाकर्षण गराएका छन् । यादवले प्रजिअ उमेशकुमार ढकाललाई जानकारी गराउँदै तत्काल मतदाता नामावली सङ्कलनमा भइरहेको राजनीतिक हस्तक्षेप बन्द गर्न आग्रह गरेका छन् । उनले आफ्नो कार्यक्षेत्रमा परेको मितिमा मतदाता नामावली दर्ता गराउन जाँदा कर्मचारीहरूले नाम सङ्कलन नगरेको आरोपसमेत लगाए ।
कार्यालय प्रमुख झाका अनुसार दैनिक नौ सयदेखि एक हजारसम्म मतदाता नामावली प्रत्येक वडामा सङ्कलन भइरहेको छ ।