नितेश कर्ण, वीरगंज, २० मङ्सिर/
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन छिमेकी भारतमा देखिएपछि वीरगंज नाकामा पनि स्वास्थ्य परीक्षण शुरू भएको छ ।
भारतका विभिन्न स्थानबाट रेल र बसबाट यात्रा गर्ने यात्रीहरूलाई नेपाल प्रवेश गर्दा शङ्कराचार्यद्वारमा स्वास्थ्य चेकजाँच गरिंदैछ । कोरोनाको नयाँ भेरियन्ट नेपाल प्रवेश हुन नपाओस् भनेर परीक्षण शुरू भएको हो ।
यसअघि, कोरोना कमजोर भएसँगै शङ्कराचार्यद्वारमा स्वास्थ्य परीक्षण लामो समयदेखि बन्द गरिएको थियो । ओमिक्रोन विदेशमा फैलिएको र भारतमा समेत देखिएकाले अहिले शङ्कराचार्यद्वारमा भारतबाट आउने मानिसहरूको पिसिआर परीक्षण पनि गरिंदैछ ।
दैनिक आवतजावत गर्नेहरूबाहेक भारतका विभिन्न स्थानबाट आउनेहरूको अहिले परीक्षण गर्न थालिएको हो । तीन/चार दिनदेखि शङ्कराचार्यद्वारमा स्वास्थ्य टोली परिचालन गरिएको छ र भारतबाट आउने व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गर्न दिइएको छ । तीन/चार दिनको अवधिमा एकजना मात्र सङ्क्रमित पुष्टि भएको बताइए पनि यसको आधिकारिक पुष्टि सम्बन्धित सरोकारवालाले गरेको छैन ।