प्रस, वीरगंज, २० मङ्सिर/
जिल्ला प्रशासन कार्यालय, पर्साले राति १० बजेपछि डिजे प्रयोगमा प्रतिबन्ध लगाएको तथा अश्लीलता प्रदर्शन नगर्न निर्देशन दिए पनि वीरगंजमा अहिले सोको पालना भएको छैन । जिल्ला सुरक्षा समितिको बैठकले अश्लीलता प्रदर्शन हुने गरी नाचगान नगर्न, वैवाहिकलगायतका कार्यक्रममा राति १० बजेपछि डिजेको प्रयोग नगर्न निर्देशन दिए पनि अहिले त्यसको पालना भएको छैन ।
राति १० बजेपछि पनि डिजेको प्रयोग भइरहेको र अश्लीलता झल्किने गरी नाचगान भइरहेको छ। जिप्रका पर्साका सूचना अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले सुरक्षा समितिको बैठकले निर्णय गरेको र त्यसलाई कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएको बताए । उनले वैवाहिक कार्यक्रमको सिजन भएकोले यस्ता विकृतिविरुद्ध कारबाई गर्न अनुगमन गर्ने आश्वासन दिए ।
जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले धार्मिक तथा सामाजिक कार्यक्रम भइरहेकाले एकैपटक एक्शनमा जान नसकिएको बताए । उनले यसबारे सचेतना गर्दै आगामी दिनमा यस प्रकारका विकृति मौलाउन नपाओस् भनेर प्रहरीले काम गर्दै आएको बताए ।
धेरैलाई यसबारेमा सचेत गराइएको र सचेत गराउने कार्य जारी रहेको भन्दै उनले आगामी दिनमा अटेर गर्नेविरुद्ध कानूनी कारबाई पनि हुने बताए ।