राधेश्याम पटेल, वीरगंज, १९ मङ्सिर/

प्रदेश २ को अस्थायी राजधानी जनकपुरका होटलहरूमा कोठा पाउन मुश्किल भएको छ । मङ्सिर २२ गते परेको विवाहपञ्चमीको कारण सो क्षेत्रका अधिकांश होटलको बुकिङ सकिएको होटल व्यवसायीहरूले बताएका छन् ।

जनकपुर र आसपासमा सानाठूला गरी ५० वटाभन्दा बढी होटल छन् । सुविधासम्पन्न होटलहरूको सङ्ख्या करीब १५ वटा छ । बाँकी मध्यमखाले होटल, लज, गेस्टहाउस छन् । अहिले सबै होटलको ९० प्रतिशत बूकिङ भएको जनकपुरका एकजना होटल व्यवसायीले बताए । जनकपुरको सीताशरण होटलका प्रबन्धक कमल सिंहले जनकपुर–बर्दिबास क्षेत्रमा करीब पाँच सय कोठाको बूकिङ भइसकेको बताए ।

पछिल्लो दुर्ई दिनदेखि चहलपहल अत्यधिक बढेको उनले बताए । काङ्ग्रेस प्रदेश २ को अधिवेशन अन्तिम समयमा स्थगन भएकोले अहिले केही होलो भएको छ, सो अधिवेशनको कारण पनि यहाँका होटलहरू बूकिङ भएका थिए । ढिलो बूकिङ गर्दा बढी मूल्य पर्ने भएकाले नेकाका नेता, कार्यकर्ताहरूले पहिले बूकिङ गरेका थिए तर शनिवार हुने भनिएको प्रदेश अधिवेशन स्थगित भएपछि अहिले विवाहपञ्चमी लक्षित होटल व्यवसायलाई केही हलुको भएको छ । जनकपुरको वेलकम, सिटी प्यालेस, रामा, मानकी, राजदरबारलगायत होटलमा भीडभाड छ । जनकपुरमा दिनको तीन हजारदेखि आठ हजार रुपैयाँसम्मको कोठा अग्रीम बूकिङ भएका छन् ।

यसैगरी, बर्दिबासको नव्या, गौतम, विनायक, पावन मिथिलालगायत एक दर्जन होटलमा भीडभाड बढेको छ । नव्या होटलका प्रबन्धक सन्तोष लुइँटेलका अनुसार ३६ वटा कोठा रहेकामा तीन दिनसम्म बूकिङ भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here