- राजेश मिश्र
‘देख तार लोगन, केतरे मोटरसाइकिल चलाव तार सन लइकन, अपने भी मरिह सन, आ दोसरो के मुवइह सन’ अर्थात् हेरौं न कसरी मोटरसाइकल चलाइरहेका छन्, केटाहरू । आफू त मर्छन् नै अरूलाई पनि मार्छन् । वीरगंजको माईस्थान चोकमा मानिसहरू कुरा गर्दैथिए । मोटरसाइकलमा तीनजना सवार ठिटाहरू तीव्र गतिमा घण्टाघरदेखि आदर्शनगरतर्फ गइरहेका थिए । टाउकोमा लगाउने हेलमेट ‘लेग–गार्ड’मा झुन्डिरहेको थियो । मोटरसाइकलको आवाज यतिविघ्न चर्को थियो कि सर्वसाधारण मानिसहरू त्रसित नहुने कुरै थिएन । त्यसैले एकत्रित भीड युवाहरूकोे उदण्ड प्रवृत्तिप्रति आक्रोशित थियो ।
सडकमा ठूलो आवाजसहित तीव्र गतिमा मोटरसाइकल कुदिरहेको दृश्य प्रायः सबैले देखेकोे हुनुपर्छ । दुर्घटनाको सम्भावनाका साथै मोटरसाइकलको आवाज कति ठूलो हुन्छ भन्ने कुरा वर्णन गरेर साध्य छैन । मानिसहरू हातले कान थुन्न बाध्य हुन्छन् । वृद्धवृद्धा, महिला तथा बालबालिका त्रसित हुन्छन् नै मुटु रोगी, उच्च रक्तचाप तथा छारे रोगका बिरामीहरूका लागि असामान्य परिस्थिति उत्पन्न नहुने कुरै हुँदैन । यस्तो लाग्छ कि रमाइलोका लागि मोटरसाइकल कुदाउने ती ठिटाहरूलाई भीडभाड र मानवीय संवेदनासँग कुनै सरोकार नै हुँदैन । वीरगंजका शीतल गौतम भन्छन्, “उनीहरू यति हतारमा हुन्छन् कि जस्तो गाडीमा सीमित इन्धन छ । गन्तव्यमा चाँडै पुगिएन भने इन्धन बाटोमैं सकिन्छ ।”
के बाटोमा हिंडिरहेका मानिसहरूलाई यसरी त्रसित गर्न पाइन्छ ? मोटरसाइकल लड्छ । दुर्घटना हुन सक्छ । धनजनको क्षति हुन सक्छ । मानवीय क्षति भएमा अभिभावक तथा परिवारमाथि वज्रपात पर्न सक्छ आदि कुराको उनीहरूलाई चेतना नै छैन भन्ने होइन । अरूलाई त्रसित पार्ने बानी जब सडक दुर्घटनामा परिणत हुन्छ, तब भीडको अगाडि उनीहरूको भावुक अनुहार हेर्न लायक हुन्छ । भीडले दया गरोस् । उद्धार गरिदेओस् ।
अस्पताल पु¥याइदेओस् लगायतका भीडलाई भावुक बनाउने बुद्धि कसरी पलाउँछ ? कतिपय दुर्घटनामा भोजपुरी उखान जस्तै ‘करे के चोरी आ उपर से सिनाजोरी’ अर्थात् घटना पनि घटाउने र उल्टै तन्किने प्रवृत्ति पनि देखिन्छ। यहाँसम्म कि यदि कुनै राजनीतिक दल वा शीर्ष व्यक्तित्वसँग आबद्धता घनिष्ट छ भने प्रहरीलाई नै थर्काउन बेर लगाउँदैनन् ।
उनीहरू भीडभाडमा मोटरसाइकललाई तेर्सो र ठाडो पार्दै कुदाइरहँदा मख्ख देखिन्छन् । कमिला छिर्ने सम्भावना नरहेको ठाउँमा तीव्र गतिमा मोटसाइकल कुदाएर आफूलाई महान् ठान्नु मूर्खताको पराकाष्ठा हो । उनीहरू आफू जोखिममा हुन्छन् नै उनीहरूका कारण अरूको पनि ज्यान जोखिममा हुन्छ । तीव्र वेगमा ‘स्टन्ट’ देखाउने केटाहरूको कृत्य वीरगंंजका सडकहरूमा दिनहुँजसो देख्न पाइन्छ । कसैले सुझाव दिन खोज्यो भने उल्टै जाइ लाग्छन् । उनीहरूलाई न प्रहरीले समात्ने डर छ, न कारबाहीको भय । यस्तो मनोविज्ञानले न आफैसँग न्याय हुन्छ, न परिवार, न समाजसँग ।
दण्डहीनताको पराकाष्ठा
१. वीरगंजको राधेमाईमा गत वर्षदेखि पक्की सडक सञ्चालनमा आएको छ । उक्त सडक भएर मानिसहरूको आवागमन उच्च छ । एक महीनाअघि तीव्र वेगमा उत्तरदेखि दक्षिणतर्फ आइरहेको भारतीय नम्बरको मोटरसाइकलले सात वर्षको बच्चालाई ठोकिदियो । बच्चा घाइते भयो । भीड जम्मा भयो । मोटरसाइकल चालकका तर्फबाट स्थानीय गाउँका केही केटा आइपुगे । बच्चाको अभिभावकलाई थर्काउँदै भने, “सामान्य चोटपटक लागेको छ । हामी उपचार गराइदिन्छौं । प्रहरीलाई खबर नगर्नु नत्र ठीक हुँदैन । हामी नजीकैको गाउँको पुर्खौली बासिन्दा हौं । प्रहरीलाई खबर गर्नुभयो भने पछि तपाईंलाई नै गा¥हो हुन्छ ।” पीडित पक्ष डरायो । नजीकैको औषधिपसलमा प्राथमिक उपचार भयो ।
२. राधेमाईकै अर्को एक घटना अत्यन्तै मर्मभेदी छ । राति करीब ९ बजेको समयमा दुईवटा मोटरसाइकलमा पाँचजना सवार केटाहरू दक्षिणबाट उत्तर बौद्धिमाईतर्फ तीव्र वेगमा गइरहेका थिए । सडक किनारमा गफ गरिरहेका चार/पाँच जना वयस्क मानिसहरूमध्ये एकजनाले भने, “काहे ऐतना तेज गाडी चलाव तारन लोगन बबुवा, मोटरसाइकल लड जाइ त का भाव परी ?” यो कुरा उनीहरूको कानमा पुग्योे ।
झन्डै पाँच सय मिटर परबाट उनीहरू फर्केर आए । हातमा हेलमेट लिएर एकजनाले उफ्रिंदै भन्यो, “हइ देखतार हेलमेट, मार के मुडी फोरदेम ।” लगत्तै अर्को केटाले तन्किंदै भन्यो, “तोहरा के ना नु ठोकनी हँ सन । ठोकेम सन त मरेम सन हमनी के नु । तोहार का बिगडता ? ठोकाए के एतना डर बा त जाके घर में सुत । लोकल हइँ सन बुझल ।” मादक पदार्थ सेवन गरेका ती केटाहरूलाई सम्झाउन ती मानिसहरूले उपयुक्त ठानेनन्। बरु आआफ्नो घरतिर लागे।
३. वीरगंजको बिर्ता अवस्थित एडभान्स हस्पिटलअगाडि मुख्य सडकमा पनि यस्तै घटना भयो। बिहानको १० बजिरहेको थियो । यो भीडभाडको समय पनि हो । बिरामी बोकेको एम्बुलेन्स अस्पतालनजीकै साइड लागिरहेकोले सामान्य जाम लागेको थियो । त्यसैबीच मकालु होटलतर्फबाट दुईजना युवा सवार मोटरसाइकल तीव्र गतिमा आयो । साइकलसमेत छिर्न नसक्ने स्थानमा उनीहरूले मोटरसाइकल छिराएर बहादुरी देखाउन खोजे । अन्ततः अगाडिको एक मोटरसाइकलमा ठोके ।
१५/२० मिनेटअघिदेखि रोकिरहेका मानिसहरूलाई उनीहरूको चर्तिकला राम्रो लागेन । भीडले युवकहरूलाई सम्झाउन खोज्दा ती केटाहरू उग्र हुन थाले । जसको मोटरसाइकलमा उनीहरूले ठोकेका थिए, उसले भीडमा किन यस्तो गाडी चलाएको भन्ने बित्तिकै मोटरसाइकल चालक युवाले बीच सडकमा मोटरसाइकल खडा ग¥यो र हेलमेटले हिर्कायो । उनीहरूको व्यवहारले उपस्थित भीड आक्रोशित भयो । दुवैजनालाई समातेर वडा प्रहरी कार्यालय, बिर्तामा बुझाउने कुरा हुँदै गर्दा हेलमेटले हिर्काउने युवक कुलेलम ठोक्यो । अर्को केटालाई मानिसहरूको भीडले समातेर बिर्ता प्रहरीमा बुझायो ।
भौतिक क्षति
१. झन्डै एक दशकअघिको वीरगंजको गुलाइचीमाई, श्रीपुर निवासी एक परिवारको कथा अत्यन्तै मार्मिक छ । नयाँ वर्षको अवसरमा एकमात्र सन्तानको हेटौंडा जाने कुरामा आमाबुबाको सहमति थिएन । तर छोराले पहिलेदेखि नै साथीहरूसँग हेटौंडा जाने योजना बनाइसकेको रहेछ । छोराले सकेजति आमाबुबालाई रिझाउने प्रयास ग¥यो । टाढा जानुको सट्टा बरु वीरगंजकै कुनै ठाउँमा गएर नयाँ वर्ष मनाउन आमाबुबाले सुझाए । आमाबुबाको सल्लाहमा छोराले मौन समर्थन जनायो । पैसा पायो । उता छोरा पिकनिक मनाउन गयो । यता आमाबुबा आआफ्नो काममा लागे ।
साझपख करीब छ बजे बुबाको मोबाइलमा फोन आयो। बुबा झसङ्ग भए । उताबाट मकवानपुर प्रहरीको फोन आएको थियो । मोटरसाइकल दुर्घटनामा छोराको मृत्यु भएको खबर सुनेर आमाबुबा बेहोश भए । घरमा रुवाबासी भयो । शोकमग्न आफन्त तथा छिमेकी जम्मा हुन थाले। युवकलाई बिहान देखेका टोलका मानिसहरूलाई पत्याउन गा¥हो भइरहेको थियो । प्रहरीका अनुसार मोटरसाइकल चलाउने अपरिपक्वता, तीव्र गति र मादक पदार्थ सेवन नै घटनाको मुख्य कारण थियो ।
२. वीरगंज, माईस्थानका एकजना युवकले बिहेको झन्डै पाँच वर्षपछि सालोको बिहेको अवसरमा नयाँ मोटरसाइकल पायो । स्थानीयहरूका भनाइ अनुसार आर्थिक असर्मथताका कारण बिहेको बेला ससुराली पक्षले मोटरसाइकल दिन सकेको थिएन । सालोको बिहे थियो । युवकले मोटरसाइकल नपाएसम्म सालोको बिहेमा सहभागी नहुने कुरा बताइसकेको थियो । युवकलाई मोटरसाइकल चलाउन आउँदैन थियो ।
त्यसैले ससुराली पक्षले मोटरसाइकलको सट्टा बरु त्यस बराबरको रकम बैंकमा ‘फिक्स डिपोजिट’ गर्ने कुरा सुझायो । मोटरसाइकल नै चाहिन्छ भन्ने युवकको अडान थियो । अन्ततः सालोको बिहेको दोस्रो दिन मोटरसाइकल पाउने वाचापश्चात् युवक सालोको बिहेमा सहभागी भयो । ससुराली पक्षले वाचा पूरा ग¥यो । युवकले एकजना चालक साथीलाई लिएर नयाँ मोटरसाइकलको पूजा गर्नको लागि बारा जिल्ला पुछारमा अवस्थित चुरियामाईमा गयो । पूजा भयो ।
युवकको मन अत्यन्तै हर्षित थियो । त्यसैले घुम्ने र खाना खाने भन्दै हेटौंडा बजारसम्म यात्रा भयो । दुवैजनाले मादक पदार्थ सेवन गरे । खाना खाए । घुमफिर गरे । त्यसपछि हेटौंडाबाट वीरगंजको लागि प्रस्थान गरे । बाटोमा दुर्घटना भयो । क्षतिग्रस्त मोटरसाइकल, घाइते साथी र युवकको मृत शरीर वीरगंज आयो ।
३. पर्साको पश्चिमी भेगबाट पोखरिया–वीरगंज सडकसँगै जोडिएको गर्दौल भन्ने गाउँमा जन्ती आएको थियो । पहिलेदेखि नै मदिरा पान गरेर जन्ती आएका ती युवाहरू खूब नाचे र रमाइलो गरे । जन्तेहरू खाना खान गइरहेका बेला पुनः उनीहरू मदिरापान गर्नको लागि मध्यरात्रिमा पोखरिया हानिए । सकेजति मदिरापान गरे । सेमरबारी चोक आसपास मोटरसाइकलमा तीनजना सवार ती युवाहरू लडे । दुर्घटना भयो । प्रहरी तथा स्थानीय मानिसहरूले उद्धार गरे । एकजना मृतसहित दुईजना घाइतेको उपचारको लागि वीरगंज पठाइयो ।
विगतबाट पाठ सिक्नुपर्छ
पछिल्लो समय ड्राइपोर्टनजीकै एकजना शिक्षकको एकमात्र पुत्रको दुर्घटनामा परेर ज्यान गएको कुराले धेरैलाई भावविह्वल बनायो । इतिहासबाट पाठ सिक्नुपर्छ । विगतका घटना वर्तमान पुस्तालाई अवगत गराउनु आवश्यक छ । सामाजिकस्तरमा विकृतिको विरुद्धमा जनचेतना फैलाउनु नितान्त आवश्यक छ । अभिभावकहरूले आफ्ना सन्तानलाई यस्ता कुराहरूको बोध गराउनुपर्छ । सवारी चलाउन आउँछ वा आउँदैन ? चालक अनुमतिपत्र छ वा छैन ? सन्तानकोे मानसिकता कस्तो छ ? उसका साथीभाइहरू कस्ता छन् ? आदि कुराहरूको जानकारी राख्नु अभिभाकहरूको परम कर्तव्य हो ।
त्यस्तै, युवाहरू पनि सचेत हुनुपर्दछ । उद्दण्ड प्रवृत्तिका आफ्नै साथीभाइलाई सही बाटो देखाउनु पो नायकगिरी हो । हप्तामा एकपटक भए तापनि विद्यालयस्तरमा जोखिम र दुर्घटनासँग सम्बन्धित अवाञ्छित क्रियाकलापको विषयमा विशेष कक्षा सञ्चालन गर्नुपर्दछ । जोखिमयुक्त गतिविधि गर्नेहरूमाथि निगरानी र कारबाहीको लागि प्रत्येक चोकमा सिसिटिभी नितान्त आवश्यक छ । त्यसैले दुर्घटनाको कारक नबनौं, आफू पनि बचौं र अरूलाई पनि बचाऔं ।