- शीतल गिरी
प्रायः भन्ने गरिन्छ कि सिद्ध योगी ‘अनाहत नाद’ को श्रवण गर्दछन् । पौरस्त्य आध्यात्मिक साधनाका सबै पद्धतिले ‘ॐ’ (प्रवण)लाई परमात्माको अद्वितीय ध्वनि–प्रतीक मानेको छ । यसलाई ब्रह्मको प्रथम प्रवर्तक भनिन्छ । नाथ–योगीको अनुसार यो शक्ति–तŒवको स्वेच्छया ध्वनि रूपमा आत्म–अभिव्यक्ति हो । आस्थावादी साधक यस्तो विश्वास गर्ने गरेका छन् कि यो वेदको आत्मा हो र यसमा त्यसको वास्तविक अर्थ निहित छ ।
यसलाई विश्व–हृदय र मानव–हृदयको नित्य सङ्गीत मान्ने गरिएको छ । यो एउटा यस्तो ध्वनि हो, जो कुनै किसिमको आघात या घस्रणबाट उत्पन्न हुँदैन । प्रत्येक उच्चारित ध्वनि स्वर–यन्त्रको आघातबाट उत्पन्न ध्वनिहरूको मूलमा निहित सर्वव्यापक अखण्ड ध्वनि हो । यो उच्चारणको लागि होइन, बरु मनलाई स्थिर र वृत्तिहरूलाई एकाग्र गरेर अनुभूत गर्नको लागि हो। परमात्माको यस ध्वनि–प्रतीकको अनुसन्धानलाई नै ‘नाद अनुसन्धान’ भनिन्छ ।
साधनाको प्रारम्भिक स्थितिमा योगी आँखा र कानलाई होशियारीका साथ बन्द गरेर ‘ॐ’ को दीर्घ उच्चारण (ओ–ओ–उ–उ–म–म) गर्दछ र सम्पूर्ण ध्यान यसै उच्चारित ध्वनिमा केन्द्रित गर्दछ । यो क्रिया एकान्तमा गर्ने गरिन्छ । रातिको नीरवतामा या निर्जन वन–खण्डमा या पहाडको गुफा जहाँ गएर साधक ‘प्रवण’को उच्चारण गर्दछ । बाहिरका सबै किसिमका ध्वनिहरूबाट चित्त हटाएर योगीले यसै ध्वनिलाई आफ्नो हृदयभित्र सुन्ने अभ्यास गर्दछ । यो अभ्यास सजिलो भने छैन ।
यसमा योगका तीनवटा प्रक्रिया प्रत्याहार, धारणा र ध्यानले कार्य गर्दछ । साधकको चेतना जब ‘ॐ’ को अनाहत नीरव ध्वनि–प्रवाहबाट अभिन्न हुन्छ, तब अहम् र इदम् या आत्मा र परको भेद हटेपछि साधक योगी ‘शिव’ रूपमा पुग्दछ । यस साधनामा पनि अप्ठ्याराहरू आउँछन् तर त्यो बाहिरबाट नभएर भित्रबाट उत्पन्न हुन्छ । योगी साधक जब बाहिरको ध्वनिहरूबाट विरत भएर चित्तवृत्तिलाई हृदयस्थ ‘अनाहतनाद’मा केन्द्रित गर्दछ, तब विध्न–बाधाको रूपमा आफैंभित्र अनेक प्रकारका मधुर ध्वनिहरू सुन्न थाल्दछ । कहिले मादल बजेको, कहिले बादल गर्जेको, कहिले शङ्ख बजेको, कहिले घण्टीको मधुर ध्वनि, कहिले बाँसुरीको मधुर ध्वनि, कहिले माहुरी भुनभुन गरेको । यस्ता ध्वनिले साधकको ध्यान भङ्ग गर्न खोज्दछ । साधकले यी बाधाहरूमा विजय प्राप्त गरेर हृदयको अन्तरतम प्रदेशमा नित्य हुने अनाहतनादको अनुसन्धान गर्नुपर्दछ ।
चित्तलाई एकाग्र गर्नको लागि शरीरको मध्य भागमा मानिएको ‘अनाहतनाद’ नाथ योगीहरूद्वारा मान्यताप्राप्त छ चक्रमा चौथो हो । यसभन्दा माथि ‘विशुद्व’ र त्यसमाथि ‘आज्ञा’ चक्रको स्थिति मान्य छ । अन्तिम चक्र ‘सहस्रार’ हो । साधकको चित्त जसरी जसरी अनाहतनादमा लीन हुँदै जान्छ, त्यसरी त्यसरी उसको मन शुद्ध भएर उच्चारण चेतना–केन्द्रतर्फ बढ्न थाल्दछ । ऊ ‘अनाहतचक्र’भन्दा माथि उठेर विशुद्ध चक्र र अनि त्यसभन्दा माथि ‘आज्ञाचक्र’सम्म पुग्दछ र अन्ततः ऊ ‘शिव’को निवास भूमि ‘सहस्रारचक्र’ मा पुग्दछ । जहाँ गएर नाद अनुसन्धानको प्रक्रिया पूरा हुन्छ । नाद अनुसन्धानको दार्शनिक आधार त्यही हो, जो नाथ सम्प्रदायको अद्वैत दर्शन हो । नाथ सम्प्रदायको दर्शन ‘शक्ति’ र ‘शिव’को अद्वैत दर्शन हो । यही अद्वैत नाद अनुसन्धानको पनि लक्ष्य हो ।
मानव हृदय कहिले पनि पूर्ण शुद्ध नहुने हुँदा नित्य ध्वनित हुने अनाहतनाद पनि सामान्य जीवन–क्रममा सुन्न सकिन्न । योगी साधकले जब प्राणायामको साधनाले मनलाई नियन्त्रित गरेर अन्तर्मुखी बनाउँदछ, तब उसको चित्त नाद अनुसन्धानको योग्य हुन्छ । यस समयसम्म योगीको कुण्डलिनी–शक्ति जागृत भएर ‘मूलाधार’, ‘स्वाधिष्ठान’ र ‘मणिपुर’ चक्रलाई भेदन गरिसकेको हुन्छ । योग–साधना शक्तिलाई शिवसँग, बाह्यलाई अन्तः को साथ, अंशलाई अंशीको साथ, शरीरबद्ध आत्मचेतनालाई नित्य मुक्त आत्माको साथ र सीमाबद्ध चेतनाको सर्वव्याप्त विंनिरपेक्ष परम चेतनाको साथ मिलन र समरसत्व प्राप्त गर्ने साधन हो । यस साधनाको प्रतिपादन अनेक रूपमा गरिएको छ ।
‘शक्ति’ र ‘शिव’ को समरस हुने क्रियालाई धेरै माध्यमबाट बताइएको छ । शक्ति जब शिवमा मिलेर एक हुन्छ, तब साधनाको सम्पूर्ण क्रिया पूर्ण हुने हुँदा यस तŒवलाई थाहा पाउनु, बुझ्नु र योगाभ्यासद्वारा चरितार्थ गर्नु योगी साधकको कर्तव्य हो । ‘ॐ’ या ‘प्रवण’ शक्ति–तŒवको नै स्वेच्छा आत्माभिव्यक्ति हो । यो अभिव्यक्ति ध्वनि–रूपमा छ । अव्यक्त ‘शिव’ नै सबै किसिमका नाद (ध्वनि)हरूको आदि स्रोत हो । नाद अनुसन्धानको साधना यसै आदि स्रोतको अनुसन्धानको साधना हो ।