- समीर पाख्रिन
इमान सिंह ः हो, थापाजी ।
थापाजी ः म एकचोटि पुगेको छु । रमाइलो पहाडी बस्ती रहेछ । इमान सिंहजीले एकदम उत्तम योजना बनाउनुभएको रहेछ । तर बाहुनको छोरो भएर बङ्गुर पाल्दा समाजले केही भन्ने हुन् कि ?
इमान सिंह ः उद्यम गरेर खानलाई जातपातले छेक्दैन थापाजी । जातले खान पनि त दिंदैन नि । गरेका छन् नि त धेरैले ।
थापाजी ः त्यो त हो । जेहोस्, राम्रो योजना बनाउनुभएको रहेछ खुशी लाग्यो । ल त है बेलुकी भेटौंला ।
दुवै छुट्टिएर आआफ्नो गन्तव्यतिर बढ्छन् ।
०००
समय ः मध्याह्न । स्थान ः घण्टाघरको पत्रिकापसल ।
प्रीतम बाइक रोकेर पत्रिका पढ्दैछ । केही क्षण पत्रिका पढ्दासमेत उषा आइनपुगेकीले नजीकैको पानपसलबाट चुरोट किनेर सल्काउँछ र तान्न थाल्छ । उषालाई घण्टाघरतिर आइरहेको देखेपछि प्रीतमले हतारहतार चुरोट फाल्छ ।
प्रीतम ः उषा, म यता छु ।
उषा ः कतिबेला आइपुग्नु’भो ?
प्रीतम ः भयो दश मिनेट जति । अनि जतिबेला कल गर्दा पनि ब्यालेन्स सिद्धियो मात्रै भन्छयौ त उषा ? इनकमिङ कलमा त पैसा लाग्दैन होइन र ?
उषा ः तीन दिनका लागि पचास रुपैयाँ दिनुहुन्छ बाबाले, अनि सकिंदैन त ? टन्न ब्यालेन्स भर्नका लागि त आफ्नो कमाइ हुनुप¥यो नि । अँ पहिला नास्ता गर्ने होइन त ?
उषा प्रीतमको बाइकमा बस्छे ।
प्रीतम ः त्यसो भए कता जाने त ?
उषा ः आज फूड सेन्टर जानुपर्छ । त्यहाँको चिकेन मोमो ज्यादै मीठो हुन्छ । बाइक मेनरोडतिर हुइँकिन्छ । माईस्थान चोकबाट दायाँतिर मोड्न खोज्दा ट्राफिकले बाइक रोक्छ । उषाले त्यति नै बेला आफू ट्राफिक हवल्दार इमान सिंहकी छोरी भनेर परिचय दिएपछि बाइकलाई छाडिदिन्छ ।
०००
समय ः उही । स्थान ः फूड सेन्टरको रूफ टप केबिन ।
प्रीतम र उषा आमनेसामने बसेर मोमो खाँदै एकअर्कालाई नियालिरहेका छन् । यति नै बेला वेटर आएर अरू केही ल्याउने हो कि भनेर सोध्छ ।
प्रीतम ः उषा, अरू दुई हाफ माग्ने हो कि ?
उषा ः भइहाल्छ नि । यो फूड सेन्टरको मोमो जति खाए पनि धीत मर्दैन । मानिसहरू टाढा–टाढाबाट मोमो खान फूड सेन्टर आउँछन् ।
प्रीतम ः अनि उषा अस्ति कतिबेला घर फर्कियौ ?
उषा ः त्यो दिन त बिजोग भयो नि ।
प्रीतम ः किन ?
उषा ः अङ्कित पनि अमलेखगंजबाटै घर फर्केछ । साथीहरू आआफ्नो ब्वायफ्रेन्ड लिएर हिंडिहाले । मचाहिं बसमा फर्किएको बस पथलैया पुगेर बिग्रियो । धन्न, बाबाले एकजना ट्राफिकलाई फोन गरिदिनुभयो र उसैले गाडी चढाइदियो र घर आएँ ।
प्रीतम ः उषाको ब्वायफ्रेन्डको अवस्था खासै राम्रो छैन जस्तो छ । अहिलेको जमानामा गर्लफ्रेन्डलाई बाइकमा राखेर डुलाउन घुमाउन नसक्नेले, रेस्टुरेन्टमा लगेर टन्न खुवाउन नसक्नेले, बर्थ डेमा गतिलो गिफ्ट दिन नसक्नेले के लभ गर्नु ।
प्रीतमले मौका पारेर उषाको हात पक्रन्छ । उषाले प्रीतमतिर पुलुक्क हेर्छे । प्रीतम मुसुक्क हाँस्छ । यत्ति नै बेला प्रीतमको घरबाट फोन आउँछ ।
उफ् ! फेरि यो रीताले फोन गरी । (उठेर) एक्सक्यूज मी ! उषा, पार्टीको कल एकै क्षण है । (केही पर गएपछि) अँ भन, म अहिले निजगढतिर छु । किन ? ल ल म बेलुकीसम्म आइपुगिहाल्छु । ल राख ।
फोन काट्छ ।
पुल मरम्मतको लागि टेन्डर हालेको थिएँ । आउनु भनेर कल गरेको रहेछ जिविसले । अब उठ्ने होइन ? मलाई पनि फर्कन लेट हुन्छ । (खल्तीबाट हजारको नोट झिकेर बील तिरेपछि फर्केको पैसा उषालाई दिंदै ) ल राख उषा, मोबाइल रिचार्ज गर । अँ अर्काे कुरा, मलाई प्रीतमजी होइन, प्रीतम मात्र भने पुग्छ है । ल लागौं ।
प्रीतम र उषा रेस्टुरेन्टबाट प्रस्थान गर्छन् ।
०००
समय ः उही । स्थान ः वीरगंजको घण्टाघर ।
हवल्दार इमान सिंह खिन्न र उदास देखिन्छ । उनलाई आज ड्युटी गर्न खासै रुचि छैन । यसैले उनले झिल्केलाई जिम्मा लगाएर घरतिर जाने विचार गर्छ ।
क्रमशः