बलिराम शुक्ला, बिरुवागुठी, १७ मङ्सिर/
पर्सागढी नगरपालिकामा डिएपी मलको अभाव हुँदा कृषकहरू चिन्तित भएका छन् । गहुँ, दलहन र तेलहन बाली लगाउने समयमा डिएपी मलको आवश्यकता पर्छ तर किसानहरूले मल नपाउँदा चिन्ता बढेको पर्सागढी नपा–३ का किसान नन्दलाल चौधरीले बताए ।
ग्रामीण भेगमा रहेका कृषि सहकारी संस्थाका मल डिपोहरूले माग गरे अनुसार साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीले मल नदिएपछि किसानलाई आवश्यकता अनुसार मल दिन नसकिएको सुनाखरी कृषि सहकारी संस्थाका अध्यक्ष सरस्वती भट्टराईले बताइन् ।
हप्ताको एकपटक एउटा कृषि सहकारी संस्थाको मल डिपोलाई एक सय बोरा मल दिने भनिए तापनि साल्ट ट्रेडिङ र कृषि सामग्रीले मल नदिंदा किसानहरूलाई गहुँबाली लगाउन समस्या भएको छ ।
यता, किसानहरूले डिएपी मल नपाएको मौका छोपी केही मलपसलले फास्फोरसलाई डिएपी भनेर ठग्ने गरेको किसानहरूको गुनासो छ ।