प्रस, निजगढ, १६ मङ्सिर/
लायन्स क्लब अफ निजगढ र लायन्स क्लब निजगढ पिसको आयोजनामा भएको छ दिने निश्शुल्क आँखा शिविर बिहीवार सम्पन्न भएको छ । सो शिविरमा १,५६० जना आँखाका बिरामीको परीक्षण गरिएको थियो । जसमा पहिलो दिन ५१ जना, दोस्रो दिन ५४ जना, तेस्रो दिन ६७ जना र अन्तिम दिन ४४ जना गरी २१६ जनाको शल्यक्रियासमेत गरिएको सो शिविर आयोजक लायन्स क्लब अफ निजगढका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र लायन्स क्लब निजगढ पिसका अध्यक्ष रञ्जन लामिछाने जानकारी दिए ।
विभिन्न विकास कार्यसँगै नगरवासीहरूको स्वास्थ्य सुरक्षा परीक्षणलाई पनि निजगढ नगरपालिकाले महŒवका साथ हेरिरहेको निजगढ नगरप्रमुख सुरेशकुमार खनाल र उपप्रमुख लीलादेवी लामिछानेले बताए । आगामी दिनमा पनि यस्ता खाले निश्शुल्क स्वास्थ्य परीक्षणका शिविरहरू सञ्चालनमा ल्याउने नगरप्रमख खनाल र उपप्रमुख लामिछानेले जानकारी दिए । अन्य छिमेकी पालिकाहरूभन्दा बढी नै विकास भएको नगरपालिकाको परिचय दिलाउन सफल यस नगरका सबै नागरिक स्वस्थकर विकास हुन शरीर पनि स्वस्थ हुनुपर्दछ ।
जसबाट सकारात्मक सोच सिर्जना हुने भएकोले निजगढ नपा नगरवासीहरूको स्वास्थ्यमा पनि चनाखो रहेको प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले बताए । आँखाको शल्यक्रिया गर्नुपर्ने बिरामीहरूका लागि निश्शुल्क खाना र बस्ने सुविधासमेत शिविर आयोजक संस्थाले गरेको लायन्स क्लब निजगढ पिसका पूर्वअध्यक्ष पवन श्रेष्ठले जानकारी दिए ।
सो शिविरबाट निजगढ नगरवासीलगायत छिमेकी जिल्ला मकवानपुरको सरस्वती, टिकुली, गर्वस्थान, रौतहटको सिम्री, बाराको कोल्हवी, टाँगियाबस्तीलगायत आसपासका जनताले समेत सेवा लिएका थिए । नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौं र निजगढ नगरपालिकाको सौजन्यमा आँखा शिविर भएको थियो भने लायन्स क्लब अफ काठमाडौं समृद्धि र लायन्य क्लब अफ भक्तपुर स्वीट होम, मेची–महाकाली संयुक्त आवाज निजगढको उल्लेखनीय सहयोग रहेको थियो । उक्त शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंका वरिष्ठ आखा सर्जन डा कमल खड्का, डा सीमान्त खड्का र डा विनीता केसीले आँखा परीक्षण गरेका थिए ।
निजगढ नपा–९ शहीदचोकस्थित लक्ष्मीनारायण धर्मशालामा शिविर सञ्चालन गरिएको थियो । विगतका वर्षहरूमा पनि विभिन्न समाजसेवी कार्य गर्दै आइरहेको यस संस्थाले रक्तदान, स्वास्थ्य परीक्षण शिविरलगायतका मानवसेवाका कार्यहरू गर्दै आइरहेको छ ।