सडक मात्र निर्माण हुने हो भने विकास आफैं फैलन्छ भन्ने कुरालाई पर्सा जिल्लामा बनेको हुलाकी सडक, जनता सडक र थरूअट सडकबाट पनि प्रमाणित भएको छ । सडक निर्माण नहुँदा जिल्लाको ठोरी गाउँपालिका विकट र दुर्गम जिल्लाको रूपमा चित्रित हुँदै आएको थियो । प्राकृतिक सौन्दर्यतालगायतले ठोरीको चर्चा हुँदै आएको थियो । भारतीय भिखना ठोरीका मानिसहरू रमाउँदै आएको यो स्थानमा सडक सञ्जाल नबन्दा वीरगंजका मानिसहरूलाई पनि ठोरी घुमेर आउनका लागि सकस थियो । घाममा धूलो र पानीमा हिलोको सामना गर्दै आवश्यक काम भएका मानिसहरू मात्र ठोरी आवतजावत गर्दै आएका थिए । तर अहिले यो समस्या छैन । हुलाकी सडक अन्तर्गत वीरगंजदेखि ठोरीसम्मको करीब ६६ किलोमिटर सडक अहिले निर्माण भइसकेको छ । वीरगंज–ठोरी हुलाकी सडकसँगै पर्सा जिल्लाका विभिन्न स्थानमा आवतजावतका लागि थरुअट सडक र जनता सडकको पनि स्तरोन्नति भएको छ । जसले गर्दा ठोरीसम्म जाने अन्य सडकहरूमा पनि चहलपहल बढेको छ ।
सडक नबनेको बेला ठोरी जान निकै सकस भोग्नुपरेको थियो भने अहिले घण्टा/डेढ घण्टाको समयमा ठोरी जान सकिन्छ । अहिलेको बेलामा ठोरी आउन जान समय लाग्दैन । त्यसैले वीरगंजबाट पछिल्लो चरणमा सार्वजनिक बसका साथै निजी सवारीसाधनहरू पनि त्यसतर्फ दुगुर्न थालेका छन् । ठोरी मात्र होइन पर्सा जिल्लाका विभिन्न स्थानमा सडक सञ्जाल विस्तार हुँदैछ । जसले गर्दा वीरगंज–पथलैया सडक खण्डमा खुल्दै आएका उद्योगहरू अब बिस्तारै वीरगंज–ठोरी सडकखण्डतर्फ पनि आकर्षित हुँदैछन् । नेपालका ठूला उद्योगमा गणना हुने जगदम्बा, हुलासले पनि यसतर्फ चासो देखाएर उद्योग स्थापना गर्दैछन् । यसअघि सडक विस्तार नहुँदा यो सडकखण्डमा धानखेतीलाई लक्षित गरेर सेलर मिलहरू मात्र स्थापना भएका थिए । उद्योगहरू स्थापनाबाट यो क्षेत्रमा रोजगारको अवसर बढेको छ । रोजगार बढेसँगै अन्य क्षेत्रमा पनि सुधारका सङ्केत महसूस गर्न सकिन्छ । सडक विस्तारको क्रममा पर्सेली किसानहरूलाई आफ्नो उत्पादनको बजारीकरण गर्न धेरै सहज भएको छ । अहिले अगहनी धान भिœयाउने बेलामा सडक विस्तारको प्रत्यक्ष महसूस किसानहरूले गर्न पाए । धान भिœयाएपछि धान बिक्रीका लागि बजारसम्म पुग्नुपर्ने बाध्यकारी अवस्था अहिले हटेको छ । घरमा आउने व्यापारीहरूले सडकको दुर्दशा देखाएर ढुवानी खर्च बढाइ किसानसँग सस्तो दरमा धान खरीद गर्दै आएका थिए । अहिले त्यो अवस्था छैन । व्यापारीहरू किसानको खेतमा नै पुगेर धान खरीद गर्दैछन् ।
गत वर्षको तुलनामा यस वर्ष खेतमा धान बिक्री गर्दा पनि किसानहरूले एक/दुई रुपैयाँ बढी पाएका छन् । धान बिक्रीका लागि बजार धाउनुपर्ने झन्झटबाट छुटकारा पाएका किसानहरूले यस वर्षदेखि धानसँगै पराल बिक्रीको समस्या पनि झेल्नुपरेन । चितवन, काठमाडौंसम्म पु¥याउनुपर्ने पराल खरीदका लागि पनि व्यापारीहरू अहिले पर्सेली किसानहरूको खेतमा नै पुगेर खरीद गर्ने अनि गन्तव्यसम्म पु¥याउने काम भएको छ । शहरबजार सरहको मोलमा पराल बिक्री नभएको गुनासो किसानहरूको छ तर यो गुनासो क्षणिक समयका लागि मात्र हो । बढी मूल्य दिने व्यापारीलाई बिक्री गर्ने वातावरण आगामी दिनमा आफैं सिर्जना हुन्छ । यस अर्थमा सडक विस्तारको परिणाम अहिले किसान र व्यापारी दुवैलाई सहज भएको ठान्नुपर्छ ।